INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछापका माओवादीहरू कतै तालाबन्दीगर्दै, कतै खोल्दै

नवराज पथिक

५ पुस ०६२

उही पार्टी कुनै कार्यकर्ता युद्धविराम भन्दै विगतमा गरिएका गल्ती सच्याउन लागिरहँदा अर्काथरी कार्यकर्ताले भने पार्टी निर्देशन भन्दै जनतामाथि ज्यादती गरिरहेको अनौठो स्थिति रामेछापमा देखा परेको छ । नेकपा (माओवादी) द्वारा घोषित युद्धविराम अवधिमा भइरहेका दुईथरी व्यवहारले माओवादीको आधिकारिक नीति कुन चाहिँ हो भन्ने बारेमा सर्वसाधारण आश्वस्त हुन सकेका छैनन् ।

युद्धविरामपछि पनि जिल्लाका कतिपय स्थानमा माओवादीका स्थानीयस्तरका कार्यकर्ताले पार्टी निर्णयभन्दै आफ्नो मनोमानीले जनतालाई दुःख दिने, चन्दा उठाउने, सर्वसाधारणको घरमा ताला मार्ने तथा लुट्ने जस्ता कार्य गरिरहेका छन् । युद्धविरामपछि बिजुलीकोट, तिल्पुङ, कठजोर, खिम्ति, सालु, ओख्रेली, हिमगंगा लगायतका गाविसहरूमा माओवादीको जिल्ला तहका नेता तथा कार्यकर्ताकै अगुवाइमा एकथरी कार्यकर्ता जबर्जस्ती चन्दा उठाउने, घरमा तालाबन्दी गर्ने, लुटपाट गरी आतंक मच्चाउने कार्यमा संलग्न भइरहेको देखिएको छ । माओवादीले एकपक्षीय युद्धविराम गरेको तथा आन्दोलनरत सात दल र नेकपा (माओवादी) बीच १२ बुँदे सहमति समेत भएको हुनाले अब शान्ति कायम हुने आशा लिएका जनतालाई यस्ता घटनाले आक्रोशित तथा त्रस्त समेत बनाएको छ ।

आफ्नो ज्यादतीको विरोध गर्नेलाई धम्क्याउन पनि माओवादीले छाडेका छैनन् । यस्तै घटनाको प्रत्यक्ष उदाहरण खिम्ति गाविसमा देखिएको छ । उक्त गाविसका वार्ड नं. २ र ३ का दुईओटा घरमा माओवादीद्वारा लगाइएको ताला गाउँलेहरूले पुस १ गते काटिदिएपछि माओवादीले स्थानीयबासीलाई आतंकित बनाएका छन् । सिङ्गो गाउँनै आगो लगाएर जलाइदिने धम्की माओवादीका स्थानीय कार्यकर्ता कैलाशले दिएको स्थानीयबासीले बताएका छन् । आतंकित गाउँलेहरूले आफ्नो जीवन रक्षाको लागि पहल गरिदिन जिल्लास्थित मानवअधिकारवादी संस्थाहरूलाई समेत अनुरोध गरेका छन् ।

तर जिल्लामा माओवादीको यो मात्र एउटा रूप छैन । अन्य कतिपय ठाउँमा तिनै माओवादी युद्धविराम अगाडि सर्वसाधारणको घरमा लगाइएको ताला काट्ने काममा लागेको पनि देखिएको छ । स्थानीय गाउँलेहरूले दिएको जानकारी अनुसार, सात राजनीतिक दलहरूसँग भएको १२ बुँदे सहमतिपछि माओवादीले दुरागाउँ गाविसका चार घरका ताला खोलिदिएका छन् । उनीहरूले दुरागाउँ गाविस-८ का जीवरमण पौडेल, सोमहरि पौडेल र सेते दमाइ तथा दुरागाउँ गाविस-५ का फत्तबहादुर सुनुवारका घरका ताला खोलेका छन् । ताला खोलिएका घरहरू सेना र प्रहरीका परिवारका हुन् । यस्ता माओवादी कार्यकर्ताले गाउँ छाडेर हिंडेका सबै विस्थापितहरूलाई घर फर्किन अनुरोध समेत गरेको पाइएको छ । विगतमा गरिएका तालाबन्दी तोड्न पार्टी नै निर्णयगरेको पनि उनीहरू बताउँछन् ।

विस्थापितहरू तथा अन्य सर्वसाधारण भने बिलखबन्दमा छन् – माओवादीको कुन रूपलाई पत्याउने ?

अन्य

भिडियो