चापागाउँ–८ डाँडागाउँका राधेश्याम बस्नेतको घर पनि वैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण छिनभरमै ध्वस्त भयो । उनका छिमेकी रितबहादुर थापाको घरले थिचेर मृत्यु भयो । आमा दमको रोगी हुनुहुन्छ । घरपरिवारलाई चौरमा त्यसै छाडेर उनी रितबहादुरलाई पुरिएको ठाउँबाट निकाल्न दगुरिहाले । भुइँचालो आइरहेको थियो । जमिनमा आएको भन्दा ठूलो भुइँचालो मनमा आएको थियो । आप्mनो लगायत वरपरका धेरै घर ध्वस्त थिए । छिमेकमा मान्छे परिसके । आतेस चलेको थियो उनको मनमा पनि अरुहरूको जस्तै । इन्सेक प्रतिनिधि वैशाख २३ गते उनको भग्नावशेष भैसकेको घरमा पुग्दा उनले नजिकै कर्कटपाताको टहरा ठड्याइसकेका थिए ।

वैशाख १३ गतेसम्म कोही बाहिर निस्कने सक्ने परिस्थिति नै थिएन । वैशाख १४ गते गाविसका सचिव रितबहादुरको परिवारलाई स्थानीय विपत् कोषबाट १० हजार रुपैयाँ दिन डाँडागाउँ पुगे । गाउँलेहरूले सरकार नै गाउँ आइपुग्यो भन्दै घेरे । ५५ घरधुरीमध्ये ३५ ओटा घर धुरिविहीन हुन पुगे । २० ओटा पाल, २० कार्टुन चाउचाउ राहत स्वरुप १५ गते आयो । त्यो कसलाई बाँड्ने कसलाई नबाँड्ने बाँड्नेलाई पनि आपत पर्यो । मिलाएर बस्नु भनेर बाँडियो । राधेश्यामले भने १२ गते नै चापागाउँकै एउटा क्याटरिङबाट टेण्ट ल्याएर टाँगिसकेका थिए । उनले टाँगेको टेण्टमा ९० जना जति मानिस बसेका थिए । उनले आफुसँग टेण्ट भएको भन्दै त्रिपाल अस्वीकार गरिदिए । त्यसपछि पनि विभिन्न सङ्घसंस्था अलिअलि चाउचाउ बोकेर गाउँ आउन थाले । चाउचाउको वरिपरि राजनीतिक दलका नेता कार्यकर्ता झुम्मन थालेपछि उनलाई राहत भन्ने शब्द नै घृणाको शब्द बन्न पुग्यो । र, उनले निर्णय गरे सरकारलाई गाली गर्ने र राहतका लागि दिनरात भौँतारिने मान्छेको बुद्धि पलाए देश चाँडै बन्थ्यो, त्यसका लागि आफै शुरुवात गर्छु ।

उनले भत्किएको घरबाट कर्कटपाता झिके र घर नजिकैको बारीमा ट्रष्ट ठड्याउने निधो गरे । स्थानीय एक विद्यालयका शिक्षकसमेत रहेका बस्नेतले छ बण्डल कर्कटपाता थप किने र केही फलामे पाइपहरू पनि । यसपटकको बर्खा पनि उनका लागि कुनै महाभारत नहुने भइ सक्यो । केही ज्यामी र आफै लागेर तीन दिनमा ट्रष्ट ठड्याइसकेका छन् राधेश्यामले । फलामे पाइप र कर्कटपाताको उनको घर कूल ५० हजार लागतमा बनेको हो । उनले बनाएको टहरा चारकोठे छ । उनले स्थानीय स्रोत साधनहरू बाँस, छ्वालीलगायतका सामग्रीको संयोजनबाट घर बनाए बढीमा १५ हजार लाग्ने भन्दै घरको छानाबाट कर्कटपाता नहटाउनेले राज्यले त्रिपाल दिएन भनेर काकेकोहोलो गर्नु व्यर्थ हुने बताए । छिमकीहरू मिल्ने र पालैपालो घरटहरा ठड्याउने काम गरे एक दुई महिनामा नै बर्खालाई काम लाग्ने गरी ओत बनाउन सकिन्छ । आफूले गर्न नसके पो अरुलाई गुहार्नु ! सक्ने काम पनि राज्यले गरिदिए हुन्थ्यो भन्ने नागरिकको बानीलाई अल्छिपना र ठगीको उपमा दिँदै उनले भने–“राज्यले बनाएको मापदण्ड पूरा नगर्ने ? अनि अहिले सरकारले नै आएर घर लडाएजस्तो गर्ने । राज्यले चापागाउँको डाँडागाउँमात्रै हर्ने कि देशैभर हेर्ने ?”

राज्यलाई गाली गर्ने होइन आपतका बेला सहयोग गर्ने नै सच्चा नागरिक भएको उनको बुझाइ छ । त्यसैले राज्यलाई गाली होइन सकेको सहयोग गर्न राधेश्याम बस्नेतले सबैलाई आह्वान गरेका छन् । उनको आह्वानसँगै ५१ वर्षीय लक्ष्मण बस्नेत पनि आफ्नो घर आफै बनाउन तम्सिएर लागेका छन् । वैशाख २३ गते इन्सेक प्रतिनिधिसँग उनले राधेश्यामले घर बनाएको देखिपछि प्रेरणा मिलेर आफूले पनि बनाएको बताए । राज्यको मुख ताकेर साध्य लाग्ला जस्तो लक्ष्मणलाई पनि लागेन त्यसैले उनले तीनकोठे घर बनाउँदै छन् । “सके पछि पककी बनाउँला नत्र यसैले चल्छ ।”–लक्ष्मणले भने ।

रमेश तिमिल्सिना