INSEC Online

📅 २०८३ जेष्ठ २१

युद्धका घाउ अझै पुरिएनन् कोटवाडावासीका

कालीबहादुर मल्ल

सुरक्षाकर्मीले पक्राउ गरी लैजाँदै गरेको छोरालाई समात्दै ५० वर्षीया पुतली विष्टले उनीहरुसँग अनुरोध गरिन् । पक्राउ परेको आफ्नो २० वर्षीय छोरा यसै नछुट्ने आमाको मनले जान्यो । सुरक्षाकर्मीका अगाडि रोइकराई गर्दै उसलाई छोडिदिन पुतलीले भनिन् । तर सुरक्षाकर्मीले उनलाई उनकै घरमा जबरजस्ती थुनिदियो । बाहिर निस्केपछि पुतली विष्टले नजिकैको खोलाको किनारमा आफ्नो छोराको मृत शरीर मात्र देखिन् ।

कालीकोट जिल्लाको सदरमुकाम मान्मबाट ५ घण्टामा पुग्न सकिने कोटवाडा गाविसका बासिन्दाले सशस्त्र द्वन्द्वका समयमा भोग्नु परेको पीडा सहिनसक्नु छ । कतिपय महिलाले आफ्नो लालाबाला गुमाउनु परेको छ भने कतिपयका सिउँदोको सिन्दुर पुछिएका छन् । नेपालको द्वन्द्वको इतिहासमै कोठवाडावासी बराबर क्षति र पीडा कुनै गाविसले खेप्नु नपरेको कुरा त्यहाँ पुग्दा महसुस हुन्छ ।

विशेषगरी राज्यको ज्यादतिको रापले पिरोलिएको बस्ती हो यो । यही गाविसमा घर भएका ३६ जनालाई विभिन्न ठाँउमा राज्यले निर्मम हत्या गर्‍यो । यस्तै यही गाविसका महिलाहरु मकैबारीमा घाँस काट्न जाँदा जंगलमा,विद्यालय जाने छात्राहरुले बीच बाटोमा र गोठाला जानेहरुले स्थानीय भैसी खर्कमा बलात्कार, हत्या र अन्य यातनाको शिकार हुनु पर्‍यो । यसै गाविस-३ घर भएका ६ महिने बालक दिनेश विष्टले राज्यको सेनाको तातो गोलीको शिकार हुनु परेको पीडा उनको परिवारको मानसपटलमा ताजै छ ।

राज्यबाट २०५४ सालदेखि दुःख पाएको यहाँका बासिन्दाको भनाइ छ । यहाँ राज्यले किलोसेरा वान, किलोसेरा टू,किलोसेरा थ्री, रोमियो, जंगल र्सच, केराबारी अप्रेशन आदि चलाई माओवादी सिध्याउने नाममा सर्वसाधारणमाथि नै सास्ती गरेको थियो । परिणाम, यहाँका युवा, महिला तथा विद्यार्थीहरु माओवादीको बन्दुक बोक्न बाध्य भए । यहाँका माओवादी र जनताका गरी २२ वटा घर तीनतीन पटकसम्म खरानी बनाइए ।

यहाँका बासिन्दाले सबैभन्दा बढी पीडा २०५४ सालदेखि ६० सालसम्म भोगेका थिए । स्थानीय महिला मृगा विष्ट आफ्नो छोरासहित सो गाविस घर भएका आठ जनालाई सेनाले सुनथराली विमानस्थलभन्दा अलि तल आफ्नो घर नजिक लाइन लगाएर हत्या गरेको सम्झना गर्छिन् । राज्यले नै निर्माणाधीन सुनथराली विमानस्थलमा धादिङ जिल्लाका एक ठेकेदारसहित ३८ जना कामदारहरुको हत्या गरेको थियो ।

सुरक्षाकर्मीको बलात्कारको कारणले कतिपय महिला गर्भवतीसमेत भई पीडा खेपेको अवस्था पनि यहाँ देख्न पाइन्छ सोही गाविसक एक २२ वर्षीया र अर्की ३५ वर्षीया महिला यस्तै बच्चा जन्माएर सुरक्षाकर्मीबाट त्यसबेला भएको बलात्कारको पीडा अहिले पनि भोगिरहेका छन् ।

घर ध्वस्त हुँदा ओढारमा दिन बिताएकी यसै गाविसकी ५० वर्षीया दुर्गादेवी विष्टको पीडा झनै बढी छ, श्रीमान् माओवादी हुँदा । तेरो लोग्ने देखा भन्दै सुरक्षाकर्मीबाट पिटाई खाएको, पटक पटक घर ध्वस्त गरेर लाखौंको सम्पत्ति भएपछि जंगलको ओढारमा बास बस्नु परेको दुःखेसो यहाँका महिलाहरुको छ ।

राज्यका सुरक्षाकर्मीको यातना र समग्र ज्यादति सहन नसकी यस गाविसका महिलाहरु प्रतिकारमा उत्रेर प्रहरीबाट हतियार खोसेर इतिहास निर्माण गरेको माओवादी कार्यकर्ता पदमबहादुर विष्ट -अजित) बताउँछन् । उसो त माओवादीबाट पनि यस गाविसका जनताले कम कुर्टाई र यातना पाएका छैनन् । यस स्थानमा माओवादीबाट दुई जनाको हत्या गरिएको छ ।

गाविसका लहविरे कठायत, धर्मराज विष्ट, धर्म विक लगायत कोठबाडा घटनामा धनजन गुमाउनेहरु दर्जनौंले क्षतिपूर्ति पाएका छैनन् । यस गाविसमा घर भई राज्यबाट हत्या गरिएका सर्वसाधारणहरु वडा नं. ८ का ४० वर्षीय डिल्ली विक, सोही वडाकै ३२ वर्षीय धर्म विक, ६ का १४ वर्षीय दिपबहादुर विष्ट, ५ का २० वर्षीय धर्मराज विष्ट, ६ का २० वर्षीय लक्ष्मण भण्डारी, ३ का १८ वर्षीय टेकबहादुर विष्ट, ३८ वर्षीय गोर्ख कठायत, १८ वर्षीय भीमबहादुर कठायत, ४५ वर्षीय लालबहादुर कठायत, २२ वर्षीय गंगबहादुर विष्ट, ६ महिने दिनेश विष्ट, ४ वडाका १५ वर्षीय जनकबहादुर विष्ट, २० वर्षीय अमरबहादुर विष्ट, २० वर्षीय गंगबहादुर विष्ट, १८ वर्षीय टेक विष्ट, २८ वर्षीय पंखबहादुर विष्ट, २ का ३० वर्षीय कम्मरबहादुर विष्ट र माओवादीहरु १६ वर्षीय अंगत विष्ट, १६ वर्षीय अतिरुपा विष्ट, ३५ वर्षीय दानबहादुर विष्ट, २६ वर्षीय धिरबहादुर विष्ट, १८ वर्षीय कुलबहादुर विष्ट, १९ वर्षीय धनबहादुर विष्ट, ३५ वर्षीय धनबहादुर विष्ट, ३५ वर्षीय चन्द्रबहादुर विष्ट, २३ वर्षीय लहबिरे विक, १७ वर्षीय रतने विक, ३८ वर्षीय कालीबहादुर विक, २२ वर्षीय बिरबहादुर विष्ट, १७ वर्षीय रणबहादुर विष्ट, २२ वर्षीय जसा विष्ट, २० वर्षीय गेर विष्ट, २१ वर्षीय र्सक विष्ट, २० वर्षीय अनिपाल विष्ट, १९ वर्षीय राजपुरा विष्ट, १६ वर्षीय ठंकबहादुर विष्टलगायत रहेका छन् ।

स्थानीय मानवअधिकारवादी संस्था मानवअधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक)का सदस्य धनराज विष्ट विगतमा राज्य र माओवादीले लगाएको घाउ पुर्न अब दुवै पक्ष तदारुकताका साथ लाग्नुपर्ने बताउँछन् । कोटवाडामा पटक-पटक राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार उच्चायुक्त, बीबीसी लगायतका टोली आए पनि, बाहिर जिल्लाका पीडितले क्षतिपूर्ति पाए पनि आफ्नै भूमिमा नरसंहारको पीडा खेपेका कोटवाडावासीले न क्षतिपूर्ति पाएका छन् न पीडकहरुलाई कारवाही भएको सुन्न पाएका छन् ।

अन्य

भिडियो