राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले संयुक्त रूपमा असार ३१ गते पोखरा महानगरपालिका वडा नम्बर ५,६,७ र ८ मा रहेका कोभिड–१९ विरूद्धको खोप लगाउन तोकिएका खोप केन्द्रको अनुगमन गरेको छ ।
नेपाल सरकारले कोभिड–१९ विरूद्ध उपलब्ध गराएको भेरोसेल खोप कास्कीका विभिन्न स्थानीय तहमा असार ३० र ३१ गते लगाइदै छ ।
अनुगमनका क्रममा खोप केन्द्र अव्यवस्थित भएका कारण भिडभाड भइ सङ्क्रमणको थप जोखिम बढेको राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईले बताउनुभयो ।
अनुमानित खोप सङ्ख्या भन्दा खोप लगाउन आउने मानिसहरूको सङ्ख्या धेरै रहेको हुँदा खोप नपुगेर भण्डारण गरिएको ठाउँबाट ल्याउन समय लागेकोले, मानिसहरू लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहेको बडा नम्बर ६ की वडा सदस्य राम माया विकले बताउनुभयो ।
पोखरा महानगर स्वास्थ्य महाशाखाका सुब्बा यदुनाथ बरालले बडा नम्बर ५ मा ४ सय खोप बिहान पठाएको र सो खोप अपुग भएका कारण पुनः ४ सय खोप मगाएर लगाउन सुरू गरिएको जानकारी दिनुभयो ।
त्यस्तै गरी वडा नम्बर ७ खोप केन्द्रकी इञ्चार्ज अनिता शर्माले अघिल्लो दिनको तुलनामा खोप लगाउनेहरूको भिड कम भएपनि खोप केन्द्र साघुरो भएका कारण आवश्यकता अनुसार खोप केन्द्र व्यवस्थित गर्न नसकिएको बताउनुभयो ।
अनुगमनका क्रममा वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पहिले खोप लगाउने बेला भन्दा यो पटक खोप लगाउनेहरूको उत्साहजनक सहभागिता रहेको जानकारी गराउदै, अर्को पटकबाट खोप केन्द्रलाई पूर्व तयारीका साथ व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुगमनमा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार को भौतिक दुरी कायम नगरी खोप लगाउन मानिसहरू लाईनमा बसेको बताउदै आगामी दिनमा खोप केन्द्रलाई व्यवस्थित बनाउन महिला र पुरूषहरूको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था, आवश्यक खोपहरू समयमै व्यवस्थापन, वडा कार्यालयले भिड नियन्त्रणको लागि स्वयंसेवकको व्यवस्था र टोलटोलमा अघिल्लो दिन नै कुपनहरूको वितरण गर्नुपर्ने जस्ता सुझावहरू दिनुकासाथै उहाँले नागरिकहरूले पनि आफ्नो स्वस्थ्य सजगता र संवेदनशिलता अपनाउनुपर्ने बताउनुभयो ।






