ज्ञानेन्द्र खड्का
२३ मंसिर ०६२
सुरक्षाकर्मीको भेषमा रहेका व्यक्तिहरूका सामुन्नेमा बोलिरहँदा जनकल्याण प्रावि दोभानेकी शिक्षिका बुद्धिमाया तामाङले उनीहरू भेष फेरेर आएका माओवादी होलान् भनेर रत्तिभर आशंका गरेकी थिइनन् । त्यस्तो लागेको भए माओवादी ज्यादती बारेमा बोल्ने पनि थिइनन् । सुरक्षाकर्मी भन्ठानेर उनीहरूसँग सबै कुरा खुलस्त गर्दा उनले ०६१ कार्तिकको तेस्रो सातादेखि सदरमुकाममा विस्थापित भई कष्टकर जीवन बिताउनुपरेको छ । “झुक्याएर बोल्न लगाए । अन्त्यमा माओवादीविरुद्ध बोल्ने भनेर कुटपिट गरे, अनि गाउँबाट लखेटे ।” बुद्धिमाया भन्छिन्, “उनीहरूको युद्धविराममा गाउँ जान खोजेकी थिएँ, तर गाउँ आए कार्बाही गर्ने खबर सुनेपछि अहिले यहीँ बसेकी छु ।”
अनेरास्ववियु भोजपुरका अध्यक्ष, प्याउली गाविस-६ घर भएका प्रेम किराँतले युद्धविराममा पनि घर फिर्ने आँट गरेका छैनन् । स्थानीय एक युवाको हत्याको योजना बनाएको भनी माओवादीद्वारा आरोपित किराँत ०६१ जेठको चौथो हप्तादेखि सदरमुकाममा बस्दै आएका छन् । किराँतको घरमा तालाबन्दी गरेर माओवादीले उनकी आमा र दिदीलाई पनि जबर्जस्ती गलहत्याएर घरबाट निकालिदिएका थिए । राजनीतिक दल तथा अधिकारकर्मीको पटकपटकको दबाबपछि किराँतका आमा र दिदी पुनर्स्थापित भए पनि किराँत भने अहिले पनि सदरमुकाममै थन्किन विवश छन् । “गाउँमा भएको लाखौंको सम्पत्ति माया मारेर बस्नुपरेको छ । अझै पनि कार्बाही गर्ने भनिरहेका छन् । ज्यान जोगाउनको लागि पनि गाउँ फिर्ने आँट गरेको छैन ।” उनी आफ्नो त्रास प्रष्ट्याउँछन् ।
दोभाने गाविसका पूर्व उपाध्यक्ष, दोभाने-१, वासेरलाका वीरबहादुर राईलाई माओवादीले ०६१ कार्तिक १९ गते ज्यान लिने प्रयास गरे । माओवादीले घरैमा आक्रमण गरी ज्यान लिने प्रयास गर्दा सोको प्रतिरोध गरी बाँच्न सफल भएका राई हाल सपरिवार सदरमुकाममा बसिरहेका छन् । चारजना श्रीमती र एक दर्जनभन्दा बढी सन्तान रहेका राई सदरमुकाममा बसेर परिवार धान्न कठिन भएको भए तापनि माओवादीले गरेको एकतर्फी युद्धविराममा पनि घर फिर्ने आँट नआएको बताउँछन् – “युद्धविरामभरिमा त ज्यान केही नहोला, तर युद्धविराम भङ्ग भएको भोलिपल्ट माओवादी घाँटी रेट्न आइपुग्छन् । हतियार बोक्नेको क्षणिक विश्वासमा परेर ज्यान फाल्नुभन्दा म दुःखको जीवन नै खेप्न तयार छु । “
वीरबहादुर तथा बुद्धिमाया विस्थापित भएपछि अहिले उनीहरूका घरलाई माओवादीले आफ्ना सामान राख्ने भण्डार बनाएका छन् । गत असोजको तेस्रो साता भोजपुरबाट गएको सुरक्षाफौजको टोलीले उनीहरूका घर फोडेर माओवादीले राखेको रु. ४० हजार बराबरको कम्ब्याट ड्रेसलगायतका सामानसमेत जलाएको थियो । उनीहरूका जस्तै अन्य दर्जनौं विस्थापितका घर अहिले माओवाद रि सुरक्षाफौजका सेल्टर तथा परेड खेल्ने स्थल बनिरहेका छन् । साथै, विस्थापितका घरहरू संरक्षणको अभावमा भत्कन थालेका छन् ।
माओवादीले एकतर्फी युद्धविराम गरेको पहिलो तीन महिनाको अवधिमा धेरैले राहत र शान्तिको महसुस गरे पनि माओवादीका कारण विस्थापित परिवारहरूलाई भने युद्धविराम कागलाई बेल पाक्यो, हर्षन विस्मात सरह भएको छ । जिल्लाका ग्रामीण क्षेत्रबाट भोजपुर सदरमुकाममा विस्थापित दर्जनौं परिवारलाई युद्धविरामको सकारात्मक प्रभाव परेको छैन । पार्टीविरुद्ध सुराकी गरेको, जनताको शोषण गरेको, अनुमतिबिना गतिविधि गरेको लगायतका आरोप लगाउँदै गाउँबाट लखेटिएका विस्थापितहरूका आङमा अझै पनि घाम लाग्न सकेको छैन । मानवअधिकारका लागि नागरिक समाज भोजपुरका संयोजक पर्वतकुमार राई युद्धविराममा पनि विस्थापितहरू सहजै घर फिर्न सक्ने परिस्थिति नभएको बताउँछन् ।
माओवादीको मागअनुसार रु. ३ लाख चन्दा दिन नसक्दा ०६२ आषाढ ९ गते भोजपुर सदरमुकाममा विस्थापित साङपाङ गाविस-७ का प्रेमकुमार तामाङ सदरमुकाममा चर्को ब्याजदरमा ऋण गरेर बस्नु परेको बताउँछन् । “अब त ऋण पनि पत्याउन छोडे । युद्धविराममा गाउँ फिर्न नसकेपछि अब कहिले फिर्न पाइएला र ! अब बनिबुतो गरेर जीविका चलाउने सोचमा छु ।” प्रेमकुमार भन्छन् ।
त्यसैगरी परिवारसहित सदरमुकाममा विस्थापित साङपाङ-७ कै जंगबहादुर तामाङ ज्यान बचाउनकै लागि ऋण गरेर खाडी राष्ट्र पस्ने तयारीमा छन् । “माओवादीले युद्धविराम गरेपछि रातारात घर पुगें । तर गाउँलेले माओवादीले खोजिरहेको बताएपछि राति नै सदरमुकाम आएँ । तीन लाख चन्दा दिन अवस्था थिएन । चन्दा नदिँदा यो हविगत बेहोर्नु पर्यो ।” जंगबहादुर आफ्नो अवस्था सुनाउँछन् ।
कुदाककाउले गाविस घर भएका ब्रिटिस सेनाका पूर्व कप्तान उद्धिमबहादुर राईको परिवार गाउँका तीन घर तथा लाखौंको सम्पत्ति छोडेर काठमाडौं पुग्नुपरेको छ । माओवादीले आफूले मागेको ३० मुरी धान नदिएको भन्दै राई परिवारको उठिबास लगाएका हुन्। उनको बारीमा माओवादीले सहकारी तरकारी खेती थालेका छन् भने उनका तीन घर भने संरक्षणको अभावमा भत्किन थालेका छन् । अन्य विस्थापितलाई झैं उद्धिमबहादुरको परिवारलाई पनि युद्धविराममा समेत घर फर्कने आँट आएन ।
भोजपुरमा विस्थापित हुनेहरूमा माओवादीलाई चन्दा नदिएको कारण माओवादीद्वारा उठिबास लगाइएकाहरू नै अधिकांश छन् । पञ्चायतकालमा जमिन्दारको रूपमा चिनिएका भोजपुरकै कुलुङ गाविसका बस्नेत परिवारका दर्जनौं घर तथा सम्पत्तिसमेत माओवादीले कब्जा गरेका छन् । पहिले मन्त्री र सांसदका समेत हुन सफल बस्नेतहरूको सारा सम्पत्ति यतिखेर अलपत्र अवस्थामा छ । कुलुङका बद्रीबहादुर बस्नेत, मुकुन्दबहादुर बस्नेत,डम्बरबहादुर बस्नेतलगायतका परिवारका सम्पत्ति माओवादीकै कारण अलपत्र अवस्थामा पुगेको हो । कुलुङमा गठित सामुदायिक विकास सेवा केन्द्रका सचिव खगेन्द्र कुमार राई भन्छन्( “यस क्षेत्रबाट विस्थापित दर्जनौं परिवार युद्धविराममा पर्ने घर र्फकेका छैनन् । युद्धविरामले विस्थापितहरूलाई थोरै पनि छोएको हामीले पाएका छैनौं।”
भोजपुरमा युद्धका कारण विस्थापितको संख्या यकीन गरिएको छैन । सदरमुकाममा विस्थापित केही टाठाबाठाले जिल्ला प्रशासन तथा अन्य संघसंस्थाबाट फाइदा लिए पनि अधिकांशको भने अवस्था एकदमै बिजोग छ । तर पनि जिल्लाबाट भोजपुर सदरमुकाम तथा अन्य सहरजस्तै धरान, काठमाडौं, इटहरीलगायतका क्षेत्रमा विस्थापित युद्धपीडितहरूको पुनःस्थापनामा कसैले संगठित रूपमा पहल गरेको छैन । नेकपा (एमाले) का सचिव शेरधन राई भन्छन्- “गाउँमा माओवादीको ज्यादती उस्तै छ । विस्थापितहरू घर फिर्नुको सट्टा युद्धविराममा पनि सर्वसाधारणले गाउँ छोड्नुपर्ने अवस्थाको अन्त्य भएको छैन ।” केही विस्थापितले फर्कने प्रयास गरे पनि युद्धविराम सधैं नरहने डरले विस्थापितहरूले आँट गर्न सकेका छैनन् । माओवादीका स्थानीय स्तरका कार्यकर्ताले व्यक्तिगत रिसइबीका कारण पुनः सताइने डरका कारण विस्थापितहरूले घर फर्कने आँट गर्न नसकेको बताइन्छ ।