INSEC Online

📅 २०८३ जेष्ठ २१

भोको पेटमा शिक्षार्जन

विद्यार्थीहरू भोकै विद्यालय जान्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर तनहुँको घाँसीकुवा गाविसमा रहेको मत्स्यकन्या निमाविमा अध्ययन गर्ने करिब १५ बालबालिका दैनिक भोकभोकै विद्यालय जान बाध्य भइरहेका छन् ।

सरकारले एक विद्यार्थी एक ल्यापटपको महत्वाकाँक्षी योजना अगाडि बढाईरहेको बेला घाँसीकुवा गाविस-५को लामीडाँडा, हुलाकीडाँडा र भुजेलगाँउका ती स-साना बालबालिका भोकभोकै विद्यालय गइरहेका हुन्छन् ।

बालबालिकाका अभिभावक दिनभर दाउरा खोज्न जङ्गल जाने र बिहान सबेरै दाउरा बिक्रीका लागि सदरमुकाम गई घर फर्कन ढिलो हुने भएपछि विद्यार्थी भोकै विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए । उनी भन्छन्,’दाउरा बेचेर आएको आम्दानीले दैनिक चामल किनेर ल्याउने अभिभावक घर फर्कन ढिलो भएपछि घरमा पकाउने चामल हुँदैन र बालबालिका भोकै पर्छन् ।’

भोकै विद्यालय आएका विद्यार्थी दिँउसो एक बजेसम्म जसोतसो पढ्छन त्यसपछि पेट अँठ्याएर बस्न थाल्छन् । पाण्डे भन्छन्-‘कतिपय बालबालिका भोक लागेर रूने समेत गर्छन् ।’ साना बालबालिकाले भोकै आएको कुरा शिक्षकलाई जानकारी दिएपनि ५ कक्षा माथिका विद्यार्थीले लाज र डरले भन्न समेत नसक्ने उनले बताए ।’पटक पटक विद्यार्थीको अवस्थाको बारेमा विभिन्न निकायमा जानकारी गरायौँ तर सुनुवाइ भएन’ पाण्डेले भने ।

बालबालिकाले समेत आफूहरू प्रायः भोकै विद्यालय आउने गरेको बताउँछन् । उनीहरूले अभिभावक र खाद्यान्न नहुँदा भोकै विद्यालय आएको बताए । कक्षा एकमा पढ्ने ६ वर्षीय सुजन भुजेलले बुबाआमा दाउरा लिएर दमौली गएको र आँउदा ढिला हुने हुँदा भोकै आएको बताए । उनले दिनमा प्रायःजसो एकपटक भन्दा बढी खान नपाउने समेत बताए ।

गरीबीले खान पुग्ने अवस्था नहुँदा भुजेल गाँउका ५० भन्दा बढी बालबालिका अझै विद्यालय जान नसकेको स्थानीय समाजसेवी मुक्तबहादुर भुजेलले बताए । उनले अविभावकको कमाईले दैनिक गुजारा टार्न समेत धौ धौ भएकोले विद्यालयमा पठाउन नसक्ने बताए । त्यस गाँउका धेरैजसो मानिसहरू जङ्गलमा गएर दाउरा खोजी बजारमा लगेर बेचेर जीवन गुजारन गर्छन् । ‘भएको जग्गाको आम्दानीले दुई महिना पनि खान पुग्दैन, त्यसैले दाउरा काट्नु पर्ने बाध्यता छ’ भुजेलले भने ।

बालबालिकाका सम्बन्धमा काम गर्नको लागि धेरै सङ्घसंस्था भए पनि कसैको ध्यान त्यस ठाँउमा नपरेको स्थानीय बेसारेपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुवास भुजेलले बताए । उनले भने ‘सबैजना समस्या बुझ्न मात्र आँउछन् तर समाधानको कहिल्यै भएको होइन’ । केन्द्रीय बाल कल्याण समितिका सदस्य हरिसिंह गुरूङ्गले उक्त क्षेत्रमा विशेष खालको कार्यक्रम ल्याउनु पर्ने बताए । तर कुन खालको विशेष कार्यक्रम ल्याउनु पर्ने हो उनले बताएनन् ।

जिल्ला शिक्षा अधिकारी बद्रिनाथ जैसीले सदरमुकाम नजिकको उक्त विद्यालयमा देखिएको समस्या ज्यादै दुःखलाग्दो भएको बताए । ‘भोकै विद्यालय आएका बालबालिकालाई विद्यालयमा नै खाजाको ब्यवस्था गर्नेसके उनीहरूलाई पढाईमा आकषित गर्न सकिन्थ्यो ।” विद्यालय र गाँउको समस्याको बारेमा आफूले चाँडै नै अधिकृत स्तरको कर्मचारी खटाएर अनुसन्धान गर्न लगाउने प्रतिवद्धता जैसीले व्यक्त गरे ।

प्रकाशचन्द्र भट्टराई

तनहुँ । साउन २९ गते

 

अन्य

भिडियो