INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता परिवारको आँखामा अझै ओभाएनन् आँसु

दशवर्षे हिंसात्मक द्वन्द्वको समयमा द्वन्द्वरत पक्षहरुबाट बलपूर्वक बेपत्ता बनाइएका व्यक्तिहरु घर फर्केर आउछन् भन्ने आशामा बसेका आफन्तहरुले दुई दशक भन्दाबढी समय पर्खिदा पनि उनीहरुको आँखामा आँसु ओभाउन सकेन ।

साविक जेठल गाविस— ६ हाल लिसंखुपाखर गाउँपालिका— ५ की ७३ वर्षीया कालिमाया श्रेष्ठ बेपत्ता छोरीको पिरलो बोकेर अब बाँच्नै कठिन भएको बताउनु हुन्छ । बेपत्ता भएकी छोरीको पीरले सधै रोएरै दिन बितेको उनको गुनासो छ । छोरी १८ वर्षीया नक्कली श्रेष्ठलाई ०६० माघ २१ गते चौतारा जेलबाट राज्यको तर्फबाट बेपत्ता बनाइएको छ । ‘०५९ फागुन १४ गते सेनाले पिस्करबाट गिरफ्तार गरी नौ महिना नजरबन्दमा राखेपछि रिहा हुने दिन सेनाले लिएर गएको भन्ने आफूले सुनेको’ मलिन अनुहार, मधुरो स्वरमा आँसु खसाल्दै कालिमायाले बताउनु भयो । नक्कली श्रेष्ठ सँगै अन्य चार जना पुरुषलाई पनि सेनाले जेलबाटै लिएर गएका थिए । सेनाले लगेका सबै हालसम्म बेपत्ताकै अवस्थामा छन् ।

त्यसैगरी साविक बतासे गाविस—४ हाल चौतारा साँगाचोकगढी नपा— २ की अनिता बस्नेतको पनि त्यस्तै पीडा छ । अनिता बस्नेतको पति गेदबहादुर बस्नेतलाई ०५९ फागुन २३ गते काठमाडाैँबाट घरतर्फ आउनलाग्दा तत्कालिन विद्रोही पक्षले फुल्पीङकोटबाट लिएर गएकोमा हालसम्म फर्केका छैनन् । ‘अब म एक घण्टामा घर आइपुग्छु, खाना पकाएर राख्नु, अहिले बलेफी बजार आइपुगेँ भन्नुभएको थियो, यो नै पतिको अन्तिम बोली थियोे’ अनिताले आँखाबाट आँसु बगाउदै बताउनु भयो । बस्नेत नेपाली सेनामा कार्यरत थिए ।

साविक सिन्धुकोट गाविस— ५ हाल मेलम्ची नपा— ५ की रेणुका भट्टराई बेपत्ता पतिको वियोगमा रोएरै बसेकी छन् । उनका पति २९ वर्षीय केशव भट्टराईलाई ०६० मङ्सिर २४ गते घरबाट काठमाडाैँ जानलाग्दा तत्कालिन शाही नेपाली सेनाले काठमाडाैँको साँखुस्थित बज्रयोगिनीबाट माओवादीको आरोपमा गिरफ्तार गरी लगेकोमा उनी हालसम्म फर्केर घर आएका छैनन् । काठमाडौँ शहरमा गएर घरपरिवारको लागि आवश्यक खर्च कमाई गरेर छिट्टै घर फर्कुला भनेर जानुभएको पति अहिलेसम्म घर फर्कनु भएन— रेणुका भट्टराईले बताउनु भयो । बेपत्ता भएका केशव भट्टराई तत्कालिन समयमा माओवादीका समर्थक थिए ।

साविक कुविण्डे गाविस—७ हाल चौतारा साँगाचोकगढी नपा—४ की ७५ वर्षीया तुलसाकुमारी नेपाल पनि बेपत्ता छोराको खोजिका लागि विभिन्न निकायमा भौँतारिइन तर पनि न्याय नपाएको तुलसा कुमारी नेपालको गुनासो छ । ‘दुई दशक भन्दा बढी समय बित्यो, न लाश छ न सास छ, खबरसम्म पाइन ।’ तुलसाकुमारीको भनाइ छ । तुलसा कुमारीको कान्छो छोरा २१ वर्षीय माधव नेपाल (अखिल) क्याम्पस पढ्न काठमाडाैँ गएका बेला २०६० मङ्सिर १२ गते काठमाडाँै महानगरपालिका— ३५ कोटेश्वरबाट तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोपमा गिरफ्तार गरी लगेकोमा हालसम्म घर फर्केका छैनन् । बेपत्ता अखिल नेपाल तत्कालिन समयमा अखिल क्रान्तिकारी विद्यार्र्थी संगठनमा आवद्ध थिए ।

फुल्पीङकोट गाविस—३ हाल बलेफी गाउँपालिका—३ कल्लेरीकी ६६ वर्षीया सुन्तली नेपाल पनि बेपत्ता पति फर्केर घर आउनुहुन्छ भन्ने अझै आशामा हुनुहुन्छ । ‘पति बेपत्ता भएको धेरै समय बित्यो, तर आँखाको आँसु कहिल्यै सुकेन’ । पति सीताराम नेपाल रुपन्देही जिल्लाको प्रहरी कार्यालयमा कार्यत हुनुहुन्थ्यो । प्रहरी सेवामा कार्यरत रहेकै अवस्थामा ०५९ वैशाखमा उहाँलाई रुपन्देही बजारबाट तत्कालिन नेपाली सेनाले लिएर गएकोमा हालसम्म बेपत्ता भएको परिवारको भनाइ छ ।

हिंसात्मक सशस्त्र द्वन्द्वको अवधिमा राज्य र नेकपा (माओवादी) पक्षबाट तीन जना महिला सहित २३ जना सिन्धुपाल्चोक जिल्लाका नागरिकहरुलाई बलपूर्वक बेपत्ता बनाएको अभिलेख इन्सेकसँग छ । बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरुको अवस्था हालसम्म अज्ञात नै छ । बेपत्ता भएका आफन्त घर फर्केर आउछ भन्ने आशा अझै आफन्त परिवारहरुमा छ । त्यही आशा बोकेर आफन्त फर्कने बाटो हेर्दै बसेका छन्– बेपत्ताका परिवार ।

आफन्त बेपत्ता भएको पीडाले सधै रोएर बसेका उनीहरूका परिवार अझै न्याय पाउने आशामा छन् । पति बेपत्ता हँुदा पत्नीलाई र छोरा बेपत्ता हुँदा आमालाई ठूलो बज्रपात हुने रहेछ— पीडाको अनुभव सुनाउदै कुबिण्डेकी तुलसा कुमारी नेपालले बताउनु भयो ।

दशबर्षे हिंसात्मक द्वन्द्वको अवधिमा राज्य र तत्कालिन विद्रोही नेकपा (माओवादी) बाट बेपत्ता परिएका सिन्धुपाल्चोक जिल्लाका २३ व्यक्तिका परिवारका सदस्यहरुको दैनिकी र पिरलो यसरी रोएरै बितेको छ । आफ्ना छोरा, पति, दाजु, भाई, बुबा जो बेपत्ता भएका छन् उनीहरुलाई किन बेपत्ता पारियो ? कहाँ लगियो ? कस्तो अवस्थामा राखिएको छ ? कसरी र कस्ले सार्वजनिक गरिदिने हो ? यही कुराको पिरलो बेपत्ता परिवारमा छ । बेपत्ता परिवारको पीडा सुन्दा आङ सिरिङ्ग हुन्छ तर बेपत्ता परिवारको पीडा सुनिदिने यो देशमा कोही भएन ।

द्वन्द्वमा मारिएका मानिसको त सदगत्, काजकिरिया भइसक्यो । तर हाम्रा बेपत्ता भएका व्यक्तिहरुलाई कहाँ के अवस्थामा राखिएको छ ? कुनै पत्तो छैन । इन्द्रावती गाउँपालिका– ४ का मानबहादुर श्रेष्ठ भन्नुुहुन्छ— ‘हाम्रो पहिलो माग कि लाश कि सास देउ भन्ने हो’ । श्रेष्ठका बुबा ७५ वर्षीय धनबहादुर श्रेष्ठलाई ०५८ चैत २६ गते घरमै बसेको अवस्थामा तत्कालिन शाही नेपाली सेनाले लिएर गएकोमा हालसम्म घर नफर्केको परिवारको भनाइ छ ।

०६२ साल यताका बडा दशैँको रातो टीका आँसुले मुछिएको बताउछिन् पिपलडाँडा— २ की बेपत्ताकी पत्नी सीता बस्नेत । उनका पति कृष्णबहादुर बस्नेतलाई ०६१ फागुन १३ गते नेकपा (माओवादी) ले अपहरण गरी लगेकोमा हालसम्म बेपत्ता छन् । उनी प्रहरी सेवामा कार्यरत थिए । उनीहरुको जस्तै पीडा सहेर बसेकी छिन् बलेफी गाउँपालिका— ३ की लक्ष्मी न्यौपाने । लक्ष्मी न्यौपाने भन्नुहुन्छ— ‘०६० साल यता हाम्रो घरमा कहिल्यै खुशी छाएन । हाम्रो खुशी सशस्त्र द्वन्द्वले भताभुङ्ग पारेर लग्यो’ । लक्ष्मी न्यौपानेका पति बिष्णुप्रसाद न्यौपानेलाई तत्कालिन शाही नेपाली सेनाले बेपत्ता बनाएका हुन् । राति कसैले घरको ढोकामा ढक्ढकायो भनेपनि आफ्नै पति आएको पो हो कि भनेजस्तो लाग्ने लक्ष्मी बताउनु हुन्छ ।

नेपालमा बेपत्ता पार्नेक्रम पञ्चायतकालदेखि भएको भएपनि २०५२ सालयता माओवादी सशस्त्र द्वन्द्वको समयमा धेरै घटनाहरु भए । तत्कालिन नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको सातबँुदे सहमतिदेखि नेपालको अन्तरिम संविधानसम्म भएका हरेक समझदारी तथा सम्झौतामा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरुको सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख छ । नेपाल सरकार र नेकपा माओवादी बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकहरुको जानकारी ६० दिन भित्र सार्वजनिक गर्ने उल्लेख छ । तर शान्ति सम्झौता भएको १९ वर्ष पूरा हुनलाग्दा पनि बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक हुन सकेको छैन ।

बेपत्ता भएका आफन्तको अवस्था सार्वजनिक गर्न माग गर्दै बेपत्ता परिवारले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति, मानव अधिकार आयोग, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, बेपत्ता आयोग, विभिन्न मानव अधिकार संघसस्थाहरु, पत्रकार लगायतमा लिखित अनुरोध गरे पनि हालसम्म बेपत्ता व्यक्तिहरुको स्थिति सार्वजनिक नहुँदा बेपत्ता परिवारको पीडा सुनिदिने कोही नहुनु बिडम्वना भएको बताउनु हुन्छ इन्द्रावती गाउँपालिका— ४ का मानबहादुर श्रेष्ठ । बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्न राज्यपक्ष र माओवादी दुवैपक्ष गम्भीर भएको देखिएन । बरु सरकारमा पुग्दा आममाफी दिने प्रावधान नेकपा (माओवादी) पक्षबाट प्रस्ताव आउनु बेपत्ता परिवारहरुको अपमान भएको बेपत्ता परिवारको गुनासो छ ।

अन्य

भिडियो