INSEC Online

📅 २०८३ जेष्ठ २७

फोहोर जङ्गलमा फाल्दा दुर्गन्ध फैलियो, वातावरणीय अधिकारमाथि प्रश्न

तानसेन नगरपालिकाको बजार क्षेत्रबाट संकलन हुने फोहोर खुला रूपमा देउराली सामुदायिक वनअन्तर्गत वनदेवी जङ्गल क्षेत्रमा विसर्जन गरिदा स्थानीय बासिन्दा दुर्गन्ध, प्रदूषण तथा सम्भावित स्वास्थ्य जोखिमको मारमा परेका छन्। दीर्घकालीन फोहोर व्यवस्थापनको अभावमा नगरको फोहोर जङ्गलमा थुपारिदा वातावरणीय सन्तुलनमा समेत असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार वनदेवी क्षेत्रमा दैनिक रूपमा फोहोर फालिने गरिएको छ। वर्षायाममा फोहोरबाट निस्कने लेदो तथा प्रदूषित पानी बगेर तलतिरका क्षेत्रसम्म पुग्ने भएकाले खानेपानीका स्रोतसमेत प्रभावित हुने जोखिम बढेको छ। फोहोर विसर्जन गरिने स्थानको तलतिर स्थानीयले प्रयोग गर्ने खानेपानीको मुहान रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ। पछिल्ला केही दिनयता फोहोरमा आगो लगाइँदा निस्किएको धुवाँ र दुर्गन्ध बजार क्षेत्रसम्म फैलिएको स्थानीयले बताएका छन्।

स्थानीयवासी राजेन्द्र अधिकारीले नगरपालिकाले जङ्गल क्षेत्रमा खुला रूपमा फोहोर फाल्दा वातावरण र जनस्वास्थ्य दुवैमा नकारात्मक असर परेको बताउनुभयो।

उहाँले भन्नुभयो, “दिनहुँ फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ। वर्षा हुँदा फोहोरबाट निस्कने प्रदूषित पानी तलका मुहानसम्म पुग्ने चिन्ता छ। हामीले प्रयोग गर्ने खानेपानीको स्रोत नै जोखिममा परेको महसुस गरेका छौँ। नगरपालिकाले तत्काल दीर्घकालीन समाधान खोज्नुपर्छ।”

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरिएको छ। साथै वातावरणीय प्रदूषण वा क्षयीकरणबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने अधिकारसमेत सुनिश्चित गरिएको छ।

तर वनदेवी क्षेत्रमा भइरहेको फोहोर व्यवस्थापनको अभ्यासले संविधानले प्रत्याभूत गरेको वातावरणीय अधिकारको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको छ। स्थानीयले दुर्गन्ध, प्रदूषण र खानेपानीका स्रोतमा पर्ने असरका कारण आफूहरू स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुन थालेको गुनासो गरेका छन्।

पत्रकार तथा मानव अधिकारकर्मी भगवान भण्डारीले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा मात्र नभई मानव अधिकार र वातावरणीय न्यायसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “संविधानले नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार दिएको छ। यदि राज्य वा स्थानीय सरकारले प्रभावकारी फोहोर व्यवस्थापन गर्न नसकेर नागरिकलाई प्रदूषण, दुर्गन्ध र स्वास्थ्य जोखिममा बस्न बाध्य पार्छ भने त्यो वातावरणीय अधिकारको उल्लंघनको विषय बन्न सक्छ।”

वनदेवी क्षेत्रमा फोहोर विसर्जनको विषयमा स्थानीय समुदाय तथा वन उपभोक्ता समितिले विभिन्न समयमा विरोध जनाउँदै आएका छन्। फोहोर व्यवस्थापनका कारण खानेपानीका स्रोत, वन क्षेत्र र आसपासको वातावरण प्रभावित भएको भन्दै दीर्घकालीन समाधानको माग बढ्दै गएको छ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तत्कालका लागि वनदेवी क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको भए पनि यसको दीर्घकालीन समाधानका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो।

त्यस्तै, नगरपालिकाका सरसफाइ शाखा प्रमुख शंकर भण्डारीले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि योजना तयार भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि निर्माण गरिएको ल्याण्डफिल्ड साइटलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, फोहोरको वर्गीकरण गरी पुनःप्रयोग तथा उद्यमशीलतासँग जोड्ने तयारी भइरहेको छ।

यता, तानसेन नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि निर्माण गरेको सेनेटरी ल्याण्डफिल्ड साइट भने १४ वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तानसेनमा दैनिक १० टनभन्दा बढी फोहोर उत्पादन हुने भए पनि २०६९ सालमा निर्माण सम्पन्न भएको ल्याण्डफिल्ड साइट प्रयोगमा नआउँदा फोहोर व्यवस्थापन अस्तव्यस्त बनेको छ।

करिब १ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सेनेटरी ल्याण्डफिल्ड साइट २०६९ असोज २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। तर स्थानीयवासीसँग भएको २५ बुँदे सहमतिविपरीत साइटलाई प्रयोग गरिएको भन्दै स्थानीयले २०७० असोज ३ गतेदेखि सञ्चालन रोकिदिएका थिए।

हाल साइटका अधिकांश संरचना जीर्ण अवस्थामा पुगेका छन्। संरक्षणका लागि गरिएको तारबार तथा प्रवेशद्वार भत्किएका छन् भने कर्मचारीका लागि निर्माण गरिएको गार्डघरसमेत प्रयोगविहीन अवस्थामा रहेको छ।

दीर्घकालीन व्यवस्थापनको अभावमा नगरको फोहोर जंगलमा थुप्रिनु र त्यसबाट उत्पन्न दुर्गन्ध तथा प्रदूषणले स्थानीयको स्वास्थ्य र वातावरणीय अधिकारमाथि चुनौती थपिएको भन्दै सरोकारवालाले तत्काल प्रभावकारी समाधानको आवश्यकता औँल्याएका छन्।

 यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो