आनन्द दाहाल
सिन्धुली
कमलामाई नगरपालिका-६ स्थित बाल मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरु विगत आठ वर्षेखि प्रहरीको घेराभित्र बसेर अध्ययन गर्न बाध्य छन् । माओवादी आन्दोलन शुरु भएपछि ०५५ सालबाट सो विद्यालयको वरिपरि प्रहरीले बंकरहरु बनाई विस्फोटक पदार्थ तथा प्रहरीका सेन्ट्री पोष्टहरु राखिएको त्यहाँ कार्यरत नेपाल बाल संगठनका सुब्बा चेतप्रसाद पौडेल बताउँछन् ।
विद्यालय वरिपरि पहिले पाँच वटा सेन्ट्री पोष्टहरु राखिएका थिए भने कम्पाउण्ड वरपर बंकर खनेर विस्फोटक पदार्थ बिच्छाइएका थिए । मुलुकमा लोकतन्त्रको स्थापना भएको एक सातापछि कम्पाउण्डभित्रका दुई वटा सेन्ट्री पोष्ट र विस्फोटक पदार्थ हटाइयो तर तारको घेराबेरा र तीन वटा सेन्ट्री पोष्टहरु अहिलेसम्म पनि हटाइएको छैन । ती विद्यालयको हाताभित्रै छन् । आफूले सेन्ट्री पोष्टहरु हटाउनको लागि यसअघि प्रयास गर्दा तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको सुरक्षाको लागि राखिएकाले हटाउन नमिल्ने भनी नहटाएको र अहिले मुलुकमा राजनीतिक परिवर्तन भइसक्दा समेत नहटाएको सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर हायू बताउँछन् ।
बाल मन्दिर नजिकै रहेको जिल्ला विकास समितिको गेस्ट हाउसमा पनि प्रहरीको क्वाटर रहेको छ जसले गर्दा विद्यालयको चारैतर्फप्रहरी घेराबन्दी भएको छ । प्रहरीहरु ड्रेसमा हतियार बोकेर सधै हिड्ने गरेका कारण साना साना बालबालिकाहरु बन्दुकदेखि नडराउने र बन्दुक खेलाउन अभ्यस्त भइसकेकोमा त्यहाँ कार्यरत नेपाल बाल संगठनका सुब्बा चेतप्रसाद पौडेल चिन्ता व्यक्त गर्दछन् ।
नेपाल बाल संगठनको चार कठ्ठा १० धुर क्षेत्रफलमा बाल मन्दिर प्राथमिक विद्यालयको एउटा भवन र सरकारी जग्गामा अर्को भवन रहेका छन् । यी भवन ०४१ सालमा निर्माण गरिएका र अहिले यो पूर्ण सरकारी विद्यालय भएको सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर हायूले जानकारी दिए । हाल यस विद्यालयमा पाँच जना शिक्षिका कार्यरत छन् भने कुल १ सय २५ जना गरिब, अनाथ र असहाय विद्यार्थी अध्ययनरत् रहेका छन् ।
विद्यालयको धारा तथा दिउँसो ट्यांकीको पानी सबै प्रहरीले नुहाएर सकिदिने, विद्यार्थीको शौचालय पनि उनीहरुले नै प्रयोग गर्ने, महिला मात्रै शिक्षिकाहरु रहेको ठाँउमा र विद्यालयको कक्षा सञ्चालन भइरहेको समयमा प्रहरी आएर नुहाउने गर्नाले पठनपाठनमा समेत असर पार्ने गरेको गुनासो शिक्षिकाहरुको छ । शिक्षिकाहरुबाट यस्ता गुनासाहरु आएपछि आफूले प्रहरीलाई भन्न बाध्य भएको व्यवस्थापन समितिका अध्यक्ष बताउँछन् ।
नेपाल बाल संगठनले उक्त ठाउँमा ०६० चैतबाट बालगृह पनि सञ्चालन गरेको छ । बाल गृहको लागि ०६१ भदौ ४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीद्वारा उद्घाटन गरिएको दुईतले एउटा पक्की भवन रहेको छ । यसमा विगतको शसस्त्र द्वन्द्वबाट आफ्ना अभिभावक गुमाएका १० जना द्वन्द्व पीडित बालकहरु राखिएका छन् । सुरक्षाको कारण पहिले भर्ना गरिसकेकी एक द्वन्द्व पीडित बालिकालाई त्यहाँ राख्न प्रहरीकै कारण सुरक्षित महसुस नगरिएकाले यहाँ राख्न नसकिएकोले कमलामाई नगरपालिका- ५ ढकाल गाउँमा रहेको टिफा बालिका गृहमा पठाएको पौडेलले बताए ।
बालबालिका बस्ने सम्वेदनशील ठाउँमा ड्रेसमा हतियार बोकेर हिड्ने कार्य भइरहेकोले यो तत्काल हटाउनुपर्ने,प्रहरीका पोष्टहरु, तारबारहरु हटाई हालसम्म बन्द गरिएको बालमन्दिर आउने पुरानो बाटो तत्काल खुलाउनुपर्ने बाल संगठनसँग सम्बद्ध कर्मचारीहरुको माग रहेको छ ।
विद्यालयमा प्रहरीका सेन्ट्री पोष्टहरु राखिएको तथा विद्यालयमा यसरी गरिएको आक्रमणका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दा पहिले शसस्त्र द्वन्द्वको समयमा सुरक्षाको लागि राखिएको र अहिले केही हटाइसकिएको तथा मानवअधिकारको दृष्टिले नराम्रो हुने भए एक/दुई दिनमै हटाइदिने प्रहरी नायब उपरीक्षक भूषणकुमार भण्डारीले बताए ।