INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनर्स्थापना पर्खदै मुक्त कमैया

नजिकै घोराही बजार छ । छेवैमा घोराही–तुलसीपुर सडक । सवारी आउजाउ र मान्छेहरुको चहलपहल बढिरहेको छ । तर घोराही उपमहानगरपालिका–१६ स्यानी अम्बापुर मुक्तकमैया बस्तीकी ५० वर्षीया सन्तोली चौधरीको मन भने उज्यालो छैन । यतिबेला वर्षायाम छ । टिनका छाप्रोभित्रै पानीको भल पस्दा टालटुल गरेर जिविका चलाइरहनु भएकी सन्तोलीलाई त्यही भल पस्ने जमिन पनि आफ्नो नाममा कहिले होला भन्ने पीर छ ।

Photo 2025-07-18 Dang (3)

तीन पुस्ता कमैया बसेर जीवन चलाइरहेको सन्तोलीको परिवारमात्रै होइन २०५७ साउन २ गते सरकारको घोषणाले कमैयाबाट मुक्त भएर पनि उचित पुनस्थापना हुन नसक्दा दाङका ४ हजार ८ सय ११ मुक्त कमैया र उनका परिवारको मनमा अझै मुक्तिको उज्यालो पसेको छैन । दासताबाट मुक्त भएर पनि वर्षौसम्म भुमिहीन, सुकुम्बासी भएर बाच्नुपर्दा मुक्तिको महसुस नै नभएको दाङका मुक्त कमैयाहरुको गुनासो छ । ‘घोराही–तुलसीपुर सडकको छेउमा रहेको १४ हातको सरकारी जमिनमा टिनको छाप्रो बनाएका छौं । त्यसमा सात जनाको परिवार बस्छौं, मुक्तकमैया परिवार सन्तोली चौधरीले भन्नुभयो,–‘ गर्मीमा टिनले पोलेर समस्या, जाडोमा शितलहरले समस्या अहिले पानी पर्दा भल नै आएर पस्छ । के गर्नु त्यही भल पस्ने जमिन पनि आफ्नो नाममा छैन । कसैले ऐलानी भन्छन्, कसैले प्रशासनको हो भन्छन् । कतिबेला कस्ले उठाउने हो त्यो पनि ठेगान छैन ।’

Photo 2025-07-18 Dang (1)

मुक्त कमैयालाई जमिन दिएर कुनै ठाउँमा राखिदिए बरु मजदुरी गरेर खाने मुक्त कमैया परिवारको माग छ । आफ्नो नाममा एक पाइला पनि जमिन नहुँदा अनागरिक जस्तो महसुस भइरहेको भन्दै भूमि उपलव्ध गराएर सम्मानका साथ बाच्ने वातावरण सिर्जना गर्न मुक्त कमैयाहरुले माग गरेका छन् । स्यानी अम्बापुरकी सन्तोली आफै पनि २० वर्ष कम्लरी बस्नु भयो । उहाँका पति ५१ वर्षीय चुर्मान चौधरी पनि कमैया बस्नुभयो । यी दुवैजनाका हजुरबा, हजुरआमा, बुबा, आमा, दाजु भाई, दिदी, बहिनीले पनि कमैया कम्लरी बस्नुपर्‍यो । अघिल्ला दुई पुस्ताका कतिपय त कमैया, कम्लरी बस्दाबस्दै बितेर गए । तेस्रो पुस्ताले भने मुक्ति पाए पनि पुनस्थापित हुन नसक्दा अहिले वैदेशिक रोजगारीसम्म पुग्नु परेको छ ।

Photo 2025-07-18 Dang (2)

सन्तोलीका ५१ वर्षीय पति र २७ वर्षीय छोरा अहिले दुवइ पुग्नु भएको छ । ‘आफ्नो जमिन छैन । आर्थिक अभावले छोराछोरीलाई राम्ररी पढाउन सकिएन, परिवार पनि के गरेर पाल्नु ? पूर्व कम्लरी सन्तोली चौधरीले भन्नुभयो,–‘मेरो पति र जेठो छोरा अहिले दुवईमा छन । केही गरौँ भने पनि ऋण पाइदैन । जमिन हुनेले मात्रै पाउँछन ऋण पनि ।’ यस्तो समस्या केवल सन्तोलीलाई मात्रै छैन । दाङका ४ हजार ८ सय ११ मुक्त कमैयाका परिवार पुनस्थापनाको पर्खाइमा छन् । कमैया श्रम निषेध ऐन २०५८ ले घरवासको लागि ५ कट्ठा जग्गा उपलब्ध गराउने व्यवस्था गरे पनि दाङमा ७ सय ५ जनालाई मात्रै जग्गा उपलव्ध गराइएको छ । अरु ६ सय ९९ मुक्त कमैयाले पूर्जा पाए पनि जग्गा पाउन सकेका छैनन भने परिचयपत्र पाएका दाङका १ हजार ४ सय २६ मुक्त कमैयालाई घर बनाउन काठ उपलव्ध गराएको छ । लगात छुट भएका ३ हजार ३ सय ८५ मुक्त कमैयाको अवस्था झन दयनीय छ ।

सरकारले मुक्त घोषणा गरेको मात्र नभई लगत छुट भएकाहरुको पनि पुनस्थापनामा ध्यान दिनुपर्ने मुक्त कमैया समाज दाङले माग गरेको छ । सरकारले पुनस्थापनाका लागि प्रदेश र स्थानीय सरकारलाई जिम्मेवारी दिएको भन्दै उहाँले स्थानीय सरकारले पुनस्थापनामा कुनै चासो नदेखाएको मुक्त कमैया समाज दाङका अध्यक्ष हरिषचन्द्र चौधरीले बताउनुभयो । उहाँले दाङका दश पालिकामध्ये राप्ती गाउँपालिकाले मात्रै मुक्तकमैया पुनस्थापना कार्यविधि बनाएको र अरुले अझै बनाउन नसक्दा मुक्तकमैया पुनस्थापनाको काम अलपत्र परेको बताउनुभयो । ०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्दा तीन पुस्ता दासतामा जीवन गुजारेका दाङका मुक्त कमैयाहरु जति खुशी थिए आज २५ वर्षसम्म पुनस्थापना हुन नसकि घर न घाटको जस्ता बनाइएकोमा त्यति नै राज्यप्रति आक्रोशित छन् ।

अन्य

भिडियो