INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको पर्खाइमा सरस्वती

काठमाडौँको धापासी चोकबाट बर्दीमा आएका हतियारसहितको सेनाको समूहले पिछा गरेपछि भागेकी सिन्धुपाल्चोक जिल्ला साविक घोर्थली गाविस— ९ हाल त्रिपुरासुन्दरी गाउँपालिका— १ घोर्थलीकी १७ वर्षीया सरस्वती खड्कालाई ०५९ असोज २० गते कोटेश्वर चोकबाट सेनाले गिरफ्तार गर‌्यो । गिरफ्तार पश्चात उहाँलाई हात बाँधेर आँखामा पट्टी लगाई काठमाडौँको महाराजञ्ज स्थित भैरनाथ गणमा लगियो । सेनाले भैरवनाथ गणमा पुर्याएकी सरस्वतीलाई पुग्नेबित्तिकै क्रुर यातना दिन सुरु गरियो । त्यो यातना उहाँलाई आठ महिनासम्म निरन्तर दिइयो । यातना दिनेक्रममा खुट्टामा फलामले पेल्ने, पैतला र औँलामा पिन घोचिदिने, शरिरको विभिन्न भागमा निलडाम हुनेगरी कुटपिट गर्ने, हात खुट्टा बाँधेर चिसो भुईंमा राख्ने, बन्दुकको कूञ्दाले घोच्ने, जङ्गलमा लगी रुखमा बाँधेर रातभरी राख्ने लगायतका विभिन्न शारीरिक तथा मानसिक यातना दिइयो । उहाँलाई सेनाले माओवादी भएको आरोप लगाएर त्यस्तो यातना दिएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको कर्थली स्थित बुदेपामा रहेको श्री सुनकोशी माविको कक्षा १० पढ्दै गरेकी सरस्वतीलाई ०५७ भदौमा तत्कालिन विद्रोही नेकपा (माओवादी) ले विद्यालयबाट बराम्ची स्थित चनौटेमा जनसरकार घोषणा गर्ने ठाउँमा जबरजस्ती पु¥याएका थिए । बहिनीलाई नेकपा (माओवादी) ले अपहरण गरी लगेको भन्ने खबर घरमा पुगेपछि सरस्वतीको घरबाट दाजुहरु पनि खोज्न चनौटे पुगेका थिए । तर नेकपा (माओवादी) ले दाजुहरुसँग भेट गर्न दिएनन् । माओवादी महिलाहरुले सँगै लिएर गए उनलाई । माओवादी महिलाहरुको वैचारिक प्रशिक्षण र क्रान्तिकारी कुराले आकर्षित भएकी सरस्वती १७ वर्षको उमेरमै भूमिगत भएर माओवादी सङ्गठनमा सङ्गठित हुन बाध्य भइन् ।

कक्षा १० मा पढ्दै गरेकी १७ वर्षीया सरस्वतीले ०५७ असोज महिनाबाट माओवादीको कम्ब्याट ड्रेस लगाएर टुटु गन हतियार बोकेर पार्टीले लगाए आह्राएको काम गर्दै आएकी थिइन् । भूमिगत भएको चार महिनापछि उनी सिन्धु+दोलखा जिल्लाको आठ नम्बर एरियाको सचिवालय सदस्य बनिन् । ०५८ साल माघ महिनामा सिन्धुली जिल्लाको महाभारत लेकमा भएको महिला सम्मेलनबाट उनी अखिल महिला संघ (क्रान्तिकारी) को सचिवालय सदस्यको जिम्मेवारी लिइन् । यसरी कलिलो उमेरमै सरस्वतीले माओवादी पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बाल सैन्यको रुपमा काम गर्न बाध्य भइन् ।

माओवादी भएको आरोपमा सेनाले गिरफ्तार गरेर भैरवनाथ गणमा पुर्याएकी सरस्वतीलाई सेनाले कुटपिट गरी यातना दिने क्रममा मार्ने भन्दै दुई दिन शिवपुरी जङ्गलमा समेत लगेका थिए । आफू सँगै लगेका अरु केही व्यक्तिहरुलाई कता पु¥याए फर्काएनन् — उनी बताउछिन् ।
सेनाले गिरफ्तार गरेको छ महिना पछि १५ दिनसम्म चिसो अन्धकार कोठामा थुनेर राखेको अवस्थामा मानव अधिकारकर्मी र रेडक्रसका प्रतिनिधिहरुले भेट गरेपछि आफूलाई बाँच्ने आशा पलाएको सरस्वतीको भोगाई छ ।

गाउँका हुनेखाने भिमबहादुर खड्काकी कान्छी छोरी भएर सबैको माया स्नेहमा विद्यालय पढ्दै गरेकी १७ वर्षीया बालिका सरस्वती खड्कालाई तत्कालिन विद्रोही नेकपा (माओवादी)ले जवरजस्ती बाल सेनाको रुपमा भर्ती गर्नु र माओवादी भएको आरोपमा सेनाले गिरफ्तार गरी चरम यातना दिनुले पनि त्यतिखेरको अवस्था कस्तो भिमकाय थियो भन्ने कुरा घटनाक्रमले पुष्ट गर्दछ ।

यातना खेपेको दिनको स्मरण गर्दै सरसस्वती खड्का भन्नुहुन्छ— “मिति त एकिन हुन सकेन, एक दिन राती शिवपुरी जङ्गलमा म लगायत अन्य केही अपरिचित व्यक्तिहरुलाई सेनाले लगेको थियो । त्यस दिन आँखामा पट्टी सहित हात पछाडी रुखमा बाधेर रातभरी जङ्गलमा राखेको थियो । आँखामा पट्टि भएकोले देख्न सकिन, कसैकसैले यतै मार्नु पर्छ भन्थे, कसैले उसको प्रमाण देखिएन अहिले बाँकी राखौं भन्थे । त्यस रात गोली पड्केको आवाज निकै आएको थियो । यसरी पनि त्यो रात बितेका थियो” ।

सरस्वती सैनिक व्यारेक भित्र दिइएको यातना बारेमा भन्नुहुन्छ — “म सैनिक हिरासतमै थिएँ । त्यस गणमा मेरो बुबाको नाता पर्ने एकजना मान्छे सेनाको ठूलै पदमा रहेछन् । भैरवनाथ गणको ढोकामा गएर मेरो बुबाले मेरो छोरी सरस्वती खड्कालाई मार्न पाइदैन भन्दै धर्ना दिनु भएछ । त्यसपछि बाहिर कराउने को हो भन्दै ती व्यक्ति ढोकामा आउँदा मेरो बुबासँग उनको भेट भएछ । छोरीको गल्ती केही पाइएन हामी छोरीलाई रिहा गर्नेछौं भन्दै ती आफन्त नाता पर्ने सैनिकले भनेपछि म ०६० वैशाख २७ गते रिहा भई ।”

सैनिक हिरासतबाट रिहा भएकी सरस्वती दिदीको साथ लागेर आफ्नै घर साविस घोर्थली गाविस— ९ टुंगाथली जानुभयो । घर पुगेको केही दिनमा माओवादीको जिल्ला नेतृत्व सहितको टोली आएका थिए । पुनः पार्टीमा काम गर्नुपर्छ भन्ने माओवादी नेताको प्रस्ताव थियो । मलाई मेरो आमाले अबदेखि छोरीलाई आफ्नै साथ राख्छु भन्दै आमाले माओवादीहरुलाई पठाइदिनुभयो ।

सैनिक हिरासतमा पाएको यातनाले शरिरको विभिन्न अङ्गहरु दुख्ने, पोल्ने, पीडाहुने गरेको सरस्वती बताउनु हुन्छ । केही समय आमाले गाउँघरमा औषधीमुलो गरिदिनुभयो । तर पनि निको भएन । त्यसपछि काठमाडाँैको शिक्षण अस्पताल, गंगालाल अस्पताल, सिभिल अस्पताल लगायत विभिन्न अस्पतालमा स्वास्थ्य जाँच गराएको सरस्वती बताउनु हुन्छ । चिकित्सकले सरस्वतीलाई मानसिक थकान, मुटु रोग लगायतको समस्या भएको बताएका छन् ।

यातनाको कारणले अहिले मुटु रोग, मानसिक रोग, शरिर दुख्ने, शरिर पोल्ने, धेरैबेरसम्म एकै ठाउँमा बस्न नहुने लगायतका रोगहरुले उनलाई गाँजेको छ ।

सैनिक हिरासतमा भेट गर्न आएका मानव अधिकारकर्मी र रेडक्रसका प्रतिनिधिहरुलाई आफूले आफ्ना कुरा सबै बताएको भएपनि द्वन्द्व पीडितको सूचीमा आफ्नो नाम नभएकोमा दुःख लागेको उहाँ बताउनु हुन्छ ।

हालसम्म द्वन्द्व पीडितको नाममा कुनै किसिमको राहत तथा सुविधा नपाएको सरस्वतीको गुनासो छ ।

यातनाबाट निकै थलिएकी सरस्वती खड्का अहिले पनि सामाजिक काम गर्दै समाजमा रहेका सबैखाले विभेद विरुद्ध जनचेतना जगाउने काम गर्न चाहनु हुन्छ । तर जिवनको भोगाइ, तरंगित जिवनशैली, अनुत्तरित प्रश्नहरु, देशको परिवेश, राज्यसत्ताको व्यवहार यी सबै मनमा थाती राखेर जीवन गुजार्न सानो चिया पसल गर्दै न्यायको पर्खाइमा बसिरहेकी छिन् सरस्वती ।

अन्य

भिडियो