सुद्धोधन गाउँपालिका–३, बाँसघारी वेतानीकी सोनिया यादव अहिले ४२ वर्षको हुनुभयो । राणा परिवारमा जन्मे हुर्किनुभएकी सोनियाले जन्मघरमा खासै समस्या भोग्न परेन । पुल पुलमै हुर्किनुभएकी सोनिया जव मधेशी समुदायमा अन्तर्जातीय विवाह गर्नुभयो त्यसपछि सङ्घर्षका दिन सुरुभए । सोनियाले भन्नुभयो – ‘राणा परिवारमा जन्मे हुर्नेकी म, शर्ट पाइट र कुर्ता सुरुवाल लगाउने, जब मधेशी समुदायमा ३५ वर्षीय रामेश्वर यादवसँग विवाह गरेर आएँ । तब मेरा सङ्घर्षका दिन सुरु भए । पतिको घरमा जेठी पत्नी र पाँच छोरा छोरी रहेछन् । साडी लगाउनुपर्ने घुम्टोमा बेरिनुपर्ने, घर बाहिर निस्कन नपाउने जस्ता नियमको पालना गर्नुपर्थ्यो ।’ सोनिका पतिका दुई पत्नीमध्ये सोनिया कान्छि हुनुहुन्थ्यो । जेठी पत्नी शान्ति यादव र शान्तिपट्टी पाँच जना छोराछोरी थिए । एकतिर भाषा रहन सहन नमिल्ने, अर्कोतिर सौता र छोरा छोरी । तथापी आफैले मन पराएर विवाह गरेकाले सोनिया खुशी हुनुहुन्थ्यो । तर सोनियाको त्यो खुशी धेरै दिन टिक्न सकेन् । ०६२ असार १५ गते जेठी पत्नीको दाँत दुखेर उपचारका लागि नौतुनहवा गएर फर्कँदै गर्दा घुमुवा प्रहरीले सिद्धार्थनगर नपा-१, जङ्गलटोलबाट रामेश्वरलाई समात्यो र रुखमा चढ्न लगाएर तलबाट गोली हानी हत्या गर्यो । घटना भएको समयमा सोनिया घरमै हुनुहुन्थ्यो । घुमुवा प्रहरीले रुखमा चढ्न लगाएर तलबाट गोली हानेर रामेश्वरको हत्या गर्यो । सोनियाले घटनाको भोलि पल्ट बल्ल पत्रपत्रिकामा समाचार देखेर र रेडियोमा समाचार सुनेर थाहा पाउनुभयो ।
प्रहरीद्वारा गोली हानी हत्या गरिएका सोनिया र शान्तिका पति रामेश्वरका सबै दाँत झरेका थिए । शरीरको भागमा छाला थिएनन् । सोनिया भन्नुहुन्छ – ‘गोली लागेर भुइमा लडिरहेको मान्छेलाई गाडीको पछाडी राखेर भिम अस्पतालको शव गृहमा फादिएका थिए ।’ घटना थाहा पाएपछि सबै आफन्त छिमेकी र पार्टीका मान्छेहरूले गाडी रिर्जव गरेर डण्डा खोलामा रामेश्वरको दाहसंस्कार भयो । सोनिया भन्नुहुन्छ – ‘मेरो पतिलाई गोली हानेर सुट गर्ने तत्कालीन प्रहरीको सही स्यम्भू उपाध्याय हो । रामेश्वरले चलाउने बाइक पनि प्रहरीले लगेको थियो । घटना घटेको लामो समयसम्म रामेश्वरको बाइक आरोपित उपाध्यायले चलाउँथ्ये ।’ रामेश्वरको मृत्यु भएपछि पनि तत्कालीन शाही सेनाले घर घेरा हालेर छापा मार्ने परिवारका सदस्यलाई यातना दिने गरेको सोनिया बताउनुहुन्छ । पति वियोगमा छटपटाइरहेकी सोनियालाई तत्कालीन शाही सेनाले खुबै दुख दिन्थ्यो । त्यतिखेर सोनिका साढे दुई वर्षको छोरा थिए । शाही सेनाले नावालक छोरा मारिदिन्छु भनेर धम्की दिने, कपालमा समातेर लछार्ने, हात भुइँमा राख्न भनेर बुटले किचिदिने गरेको आँखा भरी आँशु पार्दै सोनियाले बताउनु भयो । दाँया हातको साइली औँला फुस्काइदिएको र अहिले पनि बेला बेला दुख्ने सोनिया बताउनुहुन्छ ।
पतिको मृत्युपछि सोनियाले अझ धेरै सङ्घर्ष गर्नुपर्यो । दिनभरी घरमै बस्ने । घरको काम गर्ने । खाना बनाउने र रात परेपछि अरुको घरमा सुत्न जानु पर्थ्यो । सबै छिमेकीले बस्न दिनुभयो । पतिको मृत्यु हुँदा सोनिया २५ वर्षको हुनुहुन्थ्यो । सानै उमेरमा विधवा हुनुभएकी सोनियालाई परिवारले पनि विश्वास गरेनन् । कलिलो उमेरकी र राणा परिवारकी सोनियालाई विवाह गरेर जान्छे होला भन्थे । कसैसँग बोल्दा पनि शङ्काको नजरले हेर्ने गर्दा सोनिया झन् पीडामा हुनुभयो । विभिन्न पीडाले थिचिनुभएकी सोनियालाई सबैभन्दा पहिला रङ्गको विभेद हटाउनुपर्छ भन्ने लाग्थ्यो । त्यही कारण सुरुमा रातो मेक्सी किनेर लगाउनुभयो । रातो मेक्सी लगाउँदा जेठानीले लगाउनुहुँदैन भनेर धेरै कुरा सुनाउनुभयो । सोनियाले हिम्मत हार्नुभएन । सोनियाका पति तत्कालीन नेकपा माओवादीको जिल्ला सदस्य हुनुहुन्थ्यो । विवाह अगाडि सोनिया नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । ०५५ सालदेखि नेकपा माओवादीमा सक्रिय भएर काम गरेको भए पनि विवाहपछि घरमै घुम्टोमा पाँच वर्ष बिताउनु भयो । सोनिया सारी र घुम्टोमा बसिरहेको समयमा पहिलो पटक सोनियाका पतिले शङ्कर निमाविको विद्यालय व्यवस्थापनको अध्यक्षमा लड्न लैजानुभएको थियो । समाजले महिलालाई हुँदैन बरु तपाइँ बस्नुस् अध्यक्षमा भनेपछि सोनियाका पति रामेश्वर नै विद्यालय व्यवस्थापनको अध्यक्ष हुनुभएको सोनियाले कुराकानीका क्रममा बताउनु भयो ।
सोनियाले विवाहपछि धेरै सङ्घर्ष गरेको अनुभव छ । राणा परिवारमा जन्मे हुर्केकी छोरी मधेशी समुदायमा अन्तरघुलित हुन त्यत्ति सजिलो थिएन । सोनियालाई घुम्टोको जीवन, सौतेलो परिवारसँगको सङ्घर्ष, सीमित घेराभित्रको परिवेशले थिचेको थियो सोनियालाई । तर पनि भाग्यमा जे लेख्यो कसैले टार्दैन भन्ने लाग्यो । पतिको मृत्युपछि सोनिया विस्तारै राजनीतिकमा सक्रिय हुँदै घुम्टो खोलेर कुर्ता सुरुवाल लगाएर साइकल चलाएर फिल्डमा हिँड्नुभयो । माओवादी केन्द्रमा पार्टीको पिएम, जिल्ला सह–इन्चार्ज, केन्द्रीय सदस्य हुँदै दोस्रो संविधान सभा सदस्य समानुपातिकबाट हुनुभयो । राज्यले सोनियालाई १० लाख रुपियाँ राहत दियो । २५ हजार रुपियाँ किरिया खर्च र अहिले एकल महिला भत्ता पाउनुहुन्छ सोनियाले ।
देशमा यति ठूलो राजनीतिक परिवर्तन भयो । राजतन्त्रको अन्त्य भइ गणतन्त्र आए पनि आफूजस्ता द्वन्द्वपीडितको पीडालाई सम्बोधन नगरेको देख्दा मन् भारी हुने सोनिया बताउनुहुन्छ । देशमा विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसक्यो । दुई वर्षको छोरा २३ वर्षको भयो । तर पनि न्यायका लागि पटक पटक मरेर बाँचिरहनु परेको छ उहाँलाई । सोनियालाई न्याय पाइएला भन्ने आश अझै मरेको छैन । टिआरसी विधेयकको स्वागत गरे पनि सोनियालाई विधेयक शतप्रतिशत ठिक छ भन्ने कुरामा विश्वास छैन । उहाँ भन्नुहुन्छ – ‘म जस्ता पीडितले न्यायको आभाष गर्ने खालको हुनुपर्यो र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु पर्यो । म जस्ता पीडितले अनुभूति गर्ने खालको हुनुपरेको छ ।’
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी विधेयक ल्याएर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित समेत गरिसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुँदैन, गम्भीर अपराध घटनाका पीडकले पीडितको इच्छा अनुसार सजाय पाउँछन् की पाउँदैनन् भन्ने कुरामा पीडित परिवार अझै ढुक्क हुनुहुन्न । उहाँ भन्नुहुन्छ सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेन । आफू जस्ता सिन्दुर पोते खोसिएका, अभिभावक गुमाएका बेसहारा भएका धेरै पीडितहरू न्यायको पखाइमा छन् । कहिले न्याय पाइएला भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । यति लामो समयसम्म न्याय नपाउँदाको पीडा एकातिर छँदैछ, पटक पटक विर्षन खोजेको पीडा कोट्याइरहँदा अझ बढी पीडा हुने गरेको उहाँको गुनासो छ । अहिले पनि पीडितमैत्री न्याय होला कि नहोला भन्नेमा ढुक्क हुनसक्ने अवस्था नभएको सोनियाले बताउनु भयो । ‘अब मरेका मान्छे फर्काउन त सकिँदैन । पीडितको माग मरेको आफन्त फर्काइदेउ भन्ने होइन् । छिटो भन्दा छिटो पीडित र प्रभावित परिवारले अनुभूति गर्ने खपाउने हो’ – उहाँले भन्नुभयो । अब पनि कहिलेसम्म द्वन्द्वपीडित र प्रभावित भनेर बाँचिरहने हो यसको विषयमा सरकार संवेदनशिल हुनुपर्ने र द्वन्द्वको समयमा प्रभावित र पीडित एकल महिलाहरूलाई भत्ताको व्यवस्था गर्न राज्यले कञ्जुसाई गर्नु नहुने सोनियाको तर्क छ ।