INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार

Photo07102024Kapilbastu‘न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।’ बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ । पटवारी थारु र सावित्री थारु अहिले ७३ वर्षको हुनुभयो । बुढेसकालमा छोराले रेखदेख गर्ला, परेको बेला काँध थाप्ला, तिर्थ वर्त गराउँला भन्ने बेलामा २० वर्ष अगाडि छोरा गुमाएर छोराको किरिया कर्म आफै गरेका पटवारी र सावित्रीको पीडा हो यो । अहिले गीतले भनेजस्तै पटवारीको अवस्था पनि उस्तै छ । पटवारीका तीन छोरी र एक छोरा हुनुहुन्थ्यो । सामान्य परिवार सबै राम्रै चलेको थियो । पटवरीका छोरा रामेश्वर सिंह थारु सशस्त्र प्रहरीमा प्रहरी जवानमा भर्ती हुनुहुन्थ्यो । रामेश्वरका दुई छोरी र पत्नी हुनुहुन्थ्यो । रामेश्वरको जागिर अछामको मङ्गलसेनमा थियो । परिवारमा सबै राम्रै चलेको थियो । २०६१ साल असार १० गते डिउटीमा रहेका बेला दोहोरो भिडन्तमा रामेश्वरको मृत्यु भयो । मृतकका बुबा पटवारीले भन्नुभयो – ‘बुढेसकालको सहारा बन्ला भन्ने थियो, काज किरिया गर्ला भन्ने थियो । झन् छोराको काज किरिया मैले गर्नु पर्‍यो । उसैले छिटै छोडेर गयो ।’

यति छिट्टै छोडेर जान्छ जस्तो लागेको थिएन उहाँलाई । के गर्नु भाग्य यस्तै भएर त होलानी गम्छाले आँसु पुछ्दै केही बेर बोल्नै सक्नुभएन । सामान्य परिवार खेती किसानी गरेर जीविका चलाइरहेको परिवार छोरा प्रहरीमा भर्ती हुँदा निक्कै खुशी थियो, यो परिवार । २० वर्षका रामेश्वरको जागिरको समय डेढ वर्ष मात्र भएको रहेछ । थारु परिवारको यो खुशी धेरै समय टिक्न सकेन । पत्नी शान्तिको सिन्दुर पोते छुरा खोसियो, साना नाबालक छोरीहरू अभिभावक विहिन भर टुहुरा भए । पटवारीको बुढेसकालको सहारा भाँचियो घरको धुरी खाँबो ढल्यो । परिवारको सबै खुशी लुटियो । रामेश्वरको मृत्यु हुँदा जेठी छोरी चार वर्षकी र कान्छी छोरी एक वर्षका मात्रै थिए ।

रामेश्वरकी जेठी छोरी उर्मिला भन्नुहुन्छ, ‘बुबाको मृत्यु भएपछि हामीलाई आफन्तबाटै धेरै हेला र भेदभाव भयो । यति धेरै कुरा काटियो । बाटोमा हिँड्दा पनि हेपेर बोल्ने गर्थे । मेरा हजुर बुबालाई त छोरा मर्‍यो यो बुढाले पैसा बुझ्छ भन्थे । कसैले कार्यक्रममा बोलाएर जाँदा पनि रिस गर्थे । हामीले त्यतिखेर धेरै पीडा सहियो ।’ दुखद्को बेला ढाडस दिनेभन्दा पनि कुरा काट्ने र हेप्ने, नभएका आरोप लगाउने बुढो मरेको छ खुबै कार्यक्रममा डुलेकी छ भन्थे । धेरै पीडा सहेर हजुरबुबा र हजुरआमाले धेरै दुख कष्ट गरेर आफूहरूलाई हुर्काएको उर्मीलाले मलिन स्वरमा भन्नुभयो ।

उर्मिला अहिले विए दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । आफू सानो हुँदा आफूले आफन्तहरूबाट पाएको हेपाई गाली र कुरा काट्नेहरूलाई आफूले केही गरेर आफ्नो बुबाको सपना पूरा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ उर्मिलालाई । पीडाको समयमा मलम लगाउनुभन्दा पनि कुरा काट्ने समाज र अपहेलना गर्ने आफन्तहरूलाई केही गरेर देखाउनुछ उर्मिलाले भन्नुभयो । आफूलाई विना कारण हेपाई खानुपर्दा र अवसरमा समेत विभेद गरेको देख्दा निकै दुख्ख लाग्ने गरेको उर्मिला बताउनुहुन्छ । म्यादी प्रहरीमा भर्नाको लागि गएको, सबै कुरामा पास भए पनि आफ्नो मान्छे नभएकै कारण म्यादी प्रहरी हुन नसकेको र आफूलाई अवसरबाट वञ्चित गरेको उहाँले बताउनु भयो ।

सरकारले अहिलेसम्म ७ लाख ५० हजार रुपियाँ राहत दियो । सशस्त्र प्रहरी जवान रहेका अहिले एकतह बढाएर सहायक हवल्दारको पेन्सन दिएको छ । अहिले पटवारीले बैङ्कमै पेन्सन दिएको छ । सरकारले रामेश्वरका छोरी १८ वर्ष नपुगुन्जेल वार्षिक १० हजारका दरले छात्रावृत्ति दिएको थियो । पटवारी र उर्मिलालाई अहिलेसम्म पनि द्वन्द्वपीडित परिवारले न्याय नपाएकोमा र सधै द्वन्द्वपीडित भनेर बेला बेलामा ओभाइ सकेको घाउ कोट्याउँदा असाध्यै पीडा हुन्छ । पीडित परिवारले अहिलेसम्म जम्मा ७ लाख ५० हजार मात्र राहत पाएको र अन्य पीडितले १० लाखसम्म पाउँदा आफूहरूले किन नपाएको होला यो विषयमा बुझिदिनुहुन इन्सेकलाई आग्रह गर्नुभयो ।

रामेश्वरकी पत्नी शान्ति थारु भने पतिको मृत्युपछि जेठो छोरी १० वर्षकी भएपछि अर्को विवाह गर्नुभयो । आमाले अर्को विवाह गरेर गएपछि दुई नातिनीहरूको पालन पोषण रेखदेख शिक्षा, स्वास्थ्य सबै हजुरबुबा र हजुरआमाले गर्दै आउनुभएको छ । पटवारी र सावित्रीलाई नातिनीहरूलाई बुबाआमाको कमी भएको महसुस नगराउन पाए हुन्थ्यो भन्ने लाग्छ । बुढेसकाल लागेकोले बुबाआमाको कमी महसुस नहोस् भनेर सोचिरहेको उहाँ बताउनुहुन्छ । बुहारीले पनि नजिकै विवाह गरेर गएको छ । केही पर्दा आउजाउ हुन्छ । के गर्ने सबैका आ-आफ्नै बाध्यता हुन्छन् । त्यत्रि कलिलो उमेरकी बुहारीले हामीलाई कुरेर बसेर पनि के गरोस पटवारीले भन्नुभयो ।

उर्मिलालाई सरकारले आफ्नो क्षमता अनुसारको रोजगारी दिएमा आफूलाई केही भए पनि न्यायको अनुभूति हुने बताउनु भयो । द्वन्द्वपीडित परिवारको विषयमा स्थानीय सरकारले कुनै वास्ता नगर्दा भने निकै दुखी भएको बताउनुहुन्छ । सरकारले द्वन्द्वपीडित परिवारको लागि के गरिरहेको छ, सो विषयमा यो परिवारलाई केही थाहा छैन । पटवारीलाई सधैँ एउटा कुराले पिरोलिरहेको छ – ‘कथम कथाची मलाई तलमाथि भयो भने छोराको नाममा आफूले पाइरहेको पेन्सन पत्नी सावित्रीको नाममा सार्न मिल्छ की मिल्दैन ? मेरो शेखपछि बुढीले पायो भने केही राहत हुने थियो नातिनीहरू पढदैछन् ।’ यिनीहरूको विवाह कर्म गर्नुपर्ला यसका लागि केही सहयोग मिल्थ्यो होला उहाँले मलिन स्वरमा भन्नुभयो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी विधेयक ल्याएर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित् गरी राष्ट्रपतिबाट प्रमाणित समेत गरिसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुँदैन भन्ने कुरामा पीडित परिवार अझै ढुक्क हुनुहुन्न । उहाँ भन्नुहुन्छ सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेन । अहिले पनि पीडितमैत्री न्याय होला कि नहोला भन्नेमा ढुक्क हुनसक्ने अवस्था छैन । मृतकी छोरी उर्मिलालाई जे नहुनु थियो भयो । अत्याचार बढी भयो । दोहोरो भिडन्तमा मारिएको घटना तर घरघरमा गएर थुतेर काटेर पनि धेरै मान्छे मारिएका छन त्यस्ता जगन्य अपाराधका घटनाहरूमा भने सरकार अलिक बढी संवेदनशिल हुनुपर्ने र पीडितले चाहे अनुसारको न्याय नदिँदासम्म पीडित परिवारले न्याय पाएको अनुभूति गर्न नसक्ने बताउनु भयो ।

अन्य

भिडियो