लोकतन्त्रको उत्सवका रुपमा मनाइएकोे आम निर्वाचन ०७९ सालमा त्रिवेणी नगरपालिका–७ मालाकोटका गगने ऐडीका लागि कहिल्यै नमेटीने घाउ भएर बल्झिरहेको छ । । ०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नाटेश्वरी आधारभुत विद्यालय, दम्था मतदान केन्द्रको बिबादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताबाट भएको हिंसात्मक घटनामा उहाँका छोरा चेतनदीप ऐडीको ज्यान गयो । चुनाव सकियो, परिणाम आयो, राजनैतिक दलहरुले महिनै पिच्छे सरकार फेरे, तर गगने ऐडीको घरको शून्यता आजसम्म फेरिएको छैन् । जेन्जी आन्दोलनपछि यही फागुन २१ गते फेरि प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुन लाग्दा उहाँ पुनः शान्तिपूर्ण वातावरणका लागि अपिल गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘निर्वाचनमा मेरो छोरा जस्तै अरू कसैले सन्तान गुमाउन नपरोस् । कसैका छोराछोरी नमारिउन् ।’
यस जिल्लामा ०४८ सालयताका हरेक निर्वाचनमा हिंसात्मक घटना हुँदै आएका छन् । ०५४ सालको स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक बालक सहित दुई जनाको मृत्यु भएको थियो । ०७९ मङ्सिर ४ गतेको भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रहरीको गाली लागेर संजिव एडीको मृत्यू भएको थियो ।
०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको समयमा नेपाली कांग्रेस, तत्कालिन नेकपा माओदी र एकिकृत समाजबादी पार्टी र नेकपा एमालेबिच प्रतिस्पर्धा थियो । विभिन्न मतदान केन्द्रमा बिबाद, झडप र आरोप प्रत्यारोपका घटना सार्वजनिक भइरहेका थिए । स्थानीयस्तरमा पक्षविपक्षबिच अविश्वास बढ्दै जाँदा वातावरण संवेदनशील बन्दै गएको थियो । गगने ऐडीका अनुसार नेपाली कांग्रेससँग आवद्ध कार्यकर्ताहरू घर भित्रै पसी छोरा चेतनदीपलाई बाहिर तानेर घिसार्दैै कुटपिट गरेर विभत्स हत्या गरेका थिए । यो निर्वाचनमा पनि कसैले आफ्ना छोराछारी, पति र आमाबुवा गुमाउन नपरोस् भन्दै गगने एडी सार्वजनिक रुपमै आवाज उठाउदै आउनुभएको छ ।
चेतनदिप हत्या घटनामा २४ जना विरुद्ध मुद्दा दर्ता भयो । प्रहरीले आरोपितहरुलाई बिभिन्न समयमा गिरफ्तार गरी सरकारी वकिल कार्यालय मार्फत कर्तव्य ज्यान अन्तर्गत जिल्ला अदातल, बाजुरामा मुद्दा दर्ता गरेको भए पनि ती मध्ये सात जनालाई बिना धरौटी साधार तारिक, सात जनालाई धरौटीमा रिहा भए भने १० जना हाल पनि पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा विचाराधिन अवस्थामा छ । अहिले पनि पीडित परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग दोहो¥याउँदै आएका छन् ।
अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत रहेका चेतनदीप सामाजिक र राजनीतिक रूपमा सचेत युवा थिए । निर्वाचनलाई उनले लोकतान्त्रिक अधिकारको अभ्यासका रूपमा लिएका थिए । तर, चुनावी प्रतिस्पर्धा हिंसामा परिणत हुँदा जीवन अकालमै टुङ्गियो । चेतनदीप एडीका बुवाले भन्नु भयो, ‘हामीले छोरालाई असल राजनीति सस्कार सिकाएका थिएउ तर घृणित राजनीतिक सस्कारमा लागेकाहरुले ज्यान नै लिए । घृणा होइन, गगने ऐडी भन्छन्, तर घृणाले नै उसको ज्यान लियो । अवको निर्वाचनमा यस प्रकारका घृणित राजनीति नहोस्। कसैले ज्यान गुमाउनु नपरोस् ।’
चेतनदीपको मृत्युले परिवारमा आर्थिक र भावनात्मक दुबै खालको गहिरो असर पारेको छ । छोरा टुहुरो बनेको छ । पत्नीको सिउदोको सिन्दुर पुछिएको छ । भाईबहिनी, आमाबुवा साहारा विहिन बनेका छन् । घरको आधार मानिएको छोरा गुम्दा परिवार असहाय बनेको छ । भित्तामा टाँसिएको तस्वीर, उनले प्रयोग गर्ने सामान र आँगनको सुनसानले त्यो दिनको सम्झना ताजा गरिरेको बुबा ऐडी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चुनावको चर्चा सुरु हुनासाथ फेरि मन ०७९ सालको तिर फर्किन्छ । सायरनको आवाज, नाराबाजी, भीड देख्दा मुटु काँप्छ ।’
प्रत्येक पाँच वर्षमा हुने आम निर्वाचान जेन्जी आन्दोलनले तीन वर्र्ष नबित्दै फेरि ०८२ फागुन २१ गते हुँदैछ । राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् । कार्यकर्ता सक्रिय छन् । तर, गगने ऐडीका लागि चुनाव उत्सव होइन एउटा परीक्षा जस्तै बनेको छ । उहाँ सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता र सुरक्षाकर्मीलाई संयमता अपनाउन आग्रह गरिरहनु भएको छ । निर्वाचनमा हार जित लोकतन्त्रको हिस्सा हो । उहाँले भन्नुभयो, ‘ज्यान जाने खेल हुनु हुँदैन । चुनावले कसैको घर उजाड्नु हुँदैन ।’
ऐडीले ०८२ फागुन १५ गते प्रमुख जिल्ला अधिकारीलाई एक बिज्ञप्ती पत्र बुझाउदै सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी कडा सुरक्षा व्यवस्था मिलाउन आग्रह समेत गर्नुभएको छ । विशेष गरी घरमै पुगेर हुने आक्रमण जस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी निगरानी र कारबाही आवश्यक रहेको उहाँको भनाइ छ । स्थानीयबासीले पनि शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा मतदान हुनु पर्ने र त्यसका लागि राज्यले सबै प्रकारको व्यवस्था मिलाउनु पर्ने स्थानीयहरुको माग छ । ०७९ सालको घटनाले निर्वाचन व्यवस्थापन र सुरक्षा संयन्त्रको तयारी बारे गम्भीर प्रश्न उठाएको थियो । यसपटक ती कमजोरी दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने आवाज नागरिकस्तरमा उठेको छ ।
चुनाव लोकतन्त्रको आधारस्तम्भ हो । तर, जब प्रतिस्पर्धा प्रतिशोधमा बदलिन्छ, त्यसले लोकतन्त्रकै आत्मालाई चोट पु¥याउँछ । चेतनदीप ऐडीको मृत्यु केवल एउटा परिवारको शोक मात्रै थिएन् । यो समाजका लागि चेतावनी पनि हो । राजनीतिक मतभेद हिंसामा बदलिँदा मूल्य मानव जीवनले चुकाउनु पर्छ ।
फागुन २१ गते आउन एक हप्ता बाँकी छ । मालाकोटको त्यो घरबाट उठेको सन्देश स्पष्ट छ । लोकतन्त्रको नाममा अब कुनै बुबाले आफ्नो सन्तान गुमाउन नपरोस् । गगने ऐडीको अपिल राजनीतिक नारा भन्दा ठूलो छ । यो शान्ति, संयमता र मानव जीवनको सम्मानको आग्रह हो । निर्वाचन सफल तब मात्रै मानिनेछ, जब मतपेटिकासँगै प्रत्येक घरको सुरक्षा र विश्वास पनि सुरक्षित रहनेछ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यो निर्वाचन भएरहित बनाउन हर कोषिस गरेको बताउनु भयो । बिगतका निर्वानको कमीकमजोरीलाई सिसाईका रुपमा लिएर जिल्ला भरिका सवै निर्वाचन स्थलमा पुगेर आफैले अवलोकन गरेको बताउनु भयो । साधनस्रोतले भ्याएसम्मको उच्च सुरक्षा अपनाएर ब्यवस्थापन गरिएको उहाँको भनाइ छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षालाई ध्यानमा राख्दै गत हप्तादेखि तीन ओटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेको छ । जिल्लाका ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्रमा अनुगमन तथा सुरक्षाको प्रत्याभूति दिन संयुक्त सुरक्षा परिचालन गरिएको छ ।
जिल्लाका ७७ मतदान स्थल मध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको छ । कुल मतदान स्थल मध्ये ८० दशमलव ५१ प्रतिशत अतिसंवेदनशील सूचीमा परेका छन् ।