INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक स्वास्थ्यमा स्वास्थ्यकर्मीद्वारा खेलबाड

स्वास्थ्यकर्मीहरूले मृत्युको मुखमा पुग्न लागेको मानिसहरूलाई पुनर्जीवन दिन सक्दछन् । विरामीहरूलाई औषधि उपचार गरेर निको पार्नुपर्ने स्वास्थ्यकर्मीहरूले विरामीहरूको शरीरमा विष घोलिदिएर उनीहरूलाई कमजोर बनाउने गरेको पाइएको छ । स्वास्थ्यकर्मीहरूले विरामीको जीवनमाथि खेलबाड गर्ने गरेको गुनासो स्वास्थ्य क्षेत्रमा नै कार्यरत स्वास्थ्य प्राविधिकहरूले गर्न लागेका छन् । यसबाट नागरिकहरूको स्वास्थ्य अवस्था दिनदिनै बिग्रिदै गएको उनीहरूको भनाइ रहेको छ । मानव जीवनको संवेदनशील पक्षमा काम गर्ने निकायका मानिसहरूले मानवीय सम्वेदनालाई चटक्कै बिर्सिएको अवस्था रहेको छ ।

कुनस्तरको स्वास्थ्यकर्मीले कतिसम्मको औषधि चलाउन पाउने भन्ने कानुनी प्रावधानलाईसमेत बेवास्ता गर्दै स्वास्थ्यकर्मीहरू नागरिक स्वास्थ्यको खेलबाड गर्न पटक्कै हिचकिचाउँदैनन् । उनीहरूले आफूले उपचार गर्न नसक्ने र उपचार गर्न नमिल्ने विरामीको पनि नियमविपरीत उपचार गर्ने गरेको पाइएको छ । स्वास्थ्यकर्मीहरूले आफूले सिफारिश नै गर्न नमिल्ने औषधिहरूको सिफारिश गर्ने अपचलन दिन दिनै बढ्दै गएको छ । यसले गर्दा विरामीहरू तत्काल निको हुने भए पनि त्यसबाट शरीरमा अन्य प्रभाव पर्ने भएकाले नागरिकहरूको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

गाउँ गाउँमा कार्यरत असिस्टेन्ट नर्सिङ्ग मिडवाइफ (अनमि) तथा असिस्टेन्ट हेल्थ वर्कर (अहेब) को त कुरै छाडौँ स्वास्थ्य चौकीहरूमा कार्यरत पियनहरूसमेत गाउँमा डाक्टर साहेब भनेर चिनिने गर्दछन् । उनीहरूले स्वास्थ्य सम्बन्धी कुनै पनि प्रशिक्षण वा तालिम लिएका हुँदैनन् । तर उनीहरू विरामीहरूलाई जस्तोसुकै औषधि प्रयोग गर्नका लागि सिफारिश गर्न पछि पर्दैनन् मानौ उनीहरू विशेषज्ञ नै हुन् । त्यस्तै मातृशिशु कार्यकर्ता,अहेव, अनमी र हेल्थ असिस्टेन्टसम्मका स्वास्थ्यकर्मीहरूले पनि आफ्नो अधिकार क्षेत्र बाहिर गएर विरामीहरूका लागि विभिन्न कडा खालका एण्टिवायोटिक औषधिहरू सिफारिश गर्ने गरेका छन् । जो मानव स्वास्थ्यका हिसाबले मात्र हैन कानुनी रूपमा पनि अवैध छ । त्यति मात्र हैन कतिपय औषधि विक्रेताहरूले पनि विरामीहरूका लागि औषधि सिफारिश गर्ने गरेका छन् । तै पनि यसलाई नियन्त्रण गर्नेतर्फकसैको ध्यान जान सकेको छैन ।

मन्थलीस्थित तामाकोशी सामुदायिक अस्पतालका डाक्टर सुमन कर्माचार्य यो ठूलो समस्याको रूपमा देखा परेका बताउँदछन् । उनले भने- “स्वास्थ्यकर्मीहरूलाई उसको योग्यताअनुसार कस्तो खालको औषधि सिफारिश गर्न पाउने भनेर प्रस्ट व्यवस्था छ । उनीहरूले आफूले औषधि सिफारिश गर्न नमिल्ने विरामीहरू आफूभन्दा सिनियर स्वास्थ्यकर्मीसमक्ष पठाउनु पर्दछ । तर स्वास्थ्यकर्मीहरू आफ्नो अधिकारको दुरुपयोग गर्दै औषधि सिफरिश गर्ने गरेका छन् । यसले नागरिकहको स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने गरेको छ ।”

“जथाभावि प्रयोग गरिने औषधिले विरामीलाई तत्काल सञ्चो भए पनि त्यसले साइड इफेक्टहरू धेरै हुन्छन् । जसले गर्दा फेरी विरामी पर्दा रोग नै निको नहुने अवस्था पनि आउन सक्छ । यसतर्फकसैको ध्यान गएको छैन”- डाक्टर कर्माचार्यले बताए ।

जिल्लाका नागरिकहरूको स्वास्थ्यको प्रमुख दायित्व लिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर इन्द्रप्रसाद पौडेल पनि यो समस्या जटिल रूपमा देखा परेको बताउँछन् । डाक्टर पौडेलले भने- “यो रामेछापको मात्र हैन । देशभरिको समस्या हो । स्वास्थ्य संस्थामा काम गर्ने मानिसहरूका त कुरै छाडौँ कतिपय औषधि पसलेहरूले पनि विरामीहरूलाई औषधि सिफारिश गरिरहेका छन् । उनीहरूलाई स्वास्थ्यकर्मीले लेखेको औषधि दिनेबाहेक अरु कुनै अधिकार नै हुँदैन । त्यो काम यहाँ मात्र हैन काठमाडौमा पनि भइरहेको छ । तर सम्बन्धित निकाय मौन छ । हामीले यहाँ के गर्न सक्छौ र !”

यस्तो कार्य नियन्त्रण गर्नका लागि जिल्लालाई कुनै अधिकार नदिएको पनि डाक्टर पौडेल बताउँछन् । उनी भन्छन्- “यो काम मन्त्रालय र विभागको हो । तर त्यताबाट केही भएको छैन । यतिसम्म कि सरकारी स्वास्थ्यकर्मीलाई पनि कुन औषधि चलाउन पाउने कुन नपाउने भनेर परिपत्र गरेजस्तो मलाई लाग्दैन । त्यसैले यो समस्या समाधान गर्न माथिदेखि नै लाग्नु पर्दछ । हाम्रो प्रयासले यो समाधान हुने अवस्था छैन ।”

नेपालको अन्तरिम संविधानमा पनि स्वास्थ्यको हक मौलिक अधिकारको रूपमा स्थापित भएको छ । तर त्यसको कानुन बनाएर कार्यान्वयन गराउने काम भने भएको छैन । अब बन्ने कानुनले यी कुराहलाई पनि स्पष्ट समेट्नु जरुरी छ । अहिले नागरिकको स्वास्थ्य सुरक्षामा संलग्न मानिसहरूबाट नै उनीहरूको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । त्यसको अनुगमनका लागि सरकारले अनुगमन गर्ने निकायको पनि व्यवस्था गरेको छ । तर त्यो निकायले कुनै काम गर्न सकेको छैन । यर्सथ यसलाई रोक्न तलकाले माथि र माथिकाले तललाई देखाउनेभन्दा पनि सम्बन्धित क्षेत्रका सबैजना सचेत र जागरुक हुन जरुरी छ ।

नवराज पथिक

रामेछाप । ०६५ भदौ ४ गते

अन्य

भिडियो