महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी ५५ वर्षीया शारदादेवी पौडेल बिहान ५ बजे उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरूण नदीको पुल तरेर खानेपानी लिन डेढ घण्टा लगाएर फेर बजार जानुहुन्छ । बेलुका ४ बजे पनि उहाँको काम पानी लिन जाने नै हो । पौडेल त एक उदाहरण पात्र मात्रै हुनुहुन्छ । लेगुवाका बासिन्दा विगत १० वर्षदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् । पानीको ठूलो मुहान नहुँदा यहाँका १ सयभन्दा बढी घरधुरीलाई खानेपानीको जोहो गर्न डेढ घण्टा बढी समय लाग्ने गरेको छ । लेगुवा बजारबाट पाँच मिटर तल अरूण नदी बगिरहेको छ । त्यति नजिक अरूण नदी बगिरहेपनि लेगुवा बजारमा खानेपानीको अभाव छ । महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी ४८ वर्षीया लीलाकुमारी श्रेष्ठले पनि १० वर्ष अघिदेखि अरूण नदी तरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजारबाट खानेपानी ल्याउने गर्नु भएको छ ।

लेगुवाबाट अरूण नदी ५ सय मिटर मात्र टाढा भएपनि पुलमा जान पहाडको घुमाउरो बाटोमा आधा घण्टा लाग्ने गरेको छ । अरूण नदीको पुलबाट फेरी बजारमा पुग्न ४५ मिनेट पैदल यात्रा गर्नु पर्छ । ०६६ सालसम्म प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएपछि धनकुटाबाट भोजपुर खानेपानी लिन जाने गरेके शारदादेवी पौडेलले बताउनु भयो । खानेपानीका मुहान खडेरीका कारण र हिले-भोजपुर सडक विस्तारका क्रममा डोजरले बाटो खन्दा सुकेपछि लेगुवाका बासिन्दाले अरूण नदीको पुल तरेर पानी लिन जानुपर्ने बाध्यता छ । त्यहाँ डिपबोरिङ गरेर निकालिएको खानेपानीको स्रोत छ । लेगुवा-भोजपुर सडक कालोपत्रे गर्दा ५ वर्ष अगाडि ठेकेदारले डिपबोरिङ गरेर निकालिएको पानी लेगुवाबासीले अहिले प्रयोग गर्दै आएका छन् । त्यो भन्दा अगाडि लेगुवाबासी थप आधा घण्टा पर फेरी बजारकै एक मुहानबाट खानेपानी बोक्दै आएका थिए । हाल आएर लेगुवाबासीले डिपबोरिङकै पानी बोकेर प्रयोग गर्दै आएका छन् ।

पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा एक घण्टा बढी लाइनमा बस्नु परेको पानी बोक्नेहरूको गुनासो छ । जेठ, असार, साउन र भदौमा केही मात्रामा सहज भएपनि पुस, माघ, फागुनमा झनै दुःख बेहोर्नुपरेको महालक्ष्मी नगरपालिका–५ की ४५ वर्षीया मीनाकुमारी श्रेष्ठले बताउनु भयो । उहाँले भोजपुरबाट खानेपानी बोकेर खान थालेको १० वर्ष जति भएपनि पछिल्लो चार वर्षयता स्थानीय सरकारले दुःख देखेर लेगुवामै खानेपानीको व्यवस्था गर्ने आशा भएपनि महालक्ष्मी नगरपालिका मुकदर्शक बनेको श्रेष्ठको भनाई छ । पाँच वर्ष अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानी मुहान नै प्रदुषित हुनाले लेगुवा बजारका बासिन्दा झाडापखाला र घाँटीको समस्याले पिरोलिएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता छ । खानेपानी योजनाबाट आएको पानी प्रयोग गर्न छोडेपछि झाडाबान्ता र घाँटीको समस्या हराएर गएको श्रेष्ठको भनाई छ । अरूबेला भन्दा कोभिड–१९ महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवावासी चिन्तित भएका छन् । पानी लिन जाँदा कोभिड सर्ने हो कि ? भन्ने पिरलो थपिएको छ यहाँका स्थानीयलाई । लेगुवा बजारमा वैशाख १७ गते तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरू अघिल्लो दिनसम्म खानेपानी लिन गएको महालक्ष्मी नगरपालिका–५ लेगुवाका २५ वर्षीय सुवन श्रेष्ठले बताउनु भयो ।
यहाँ प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोभिड महामारी बढ्न सक्ने खतरा रहेको सुवन श्रेष्ठको भनाई छ । जनप्रतिनिधि आएपछि समस्याको समाधान होला भन्ने आशा गरेको भएपनि हालसम्म मौखिक रूपमा २०७५ सालयता हरेक महिना जसो कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवाबासीको गुनासो छ । लेगुवा बजारमा दुई वर्षअघि लेगुवा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको ५१ वर्षीय नारायणप्रसाद धमलाले बताउनु भयो । उहाँले महालक्ष्मी नगरपालिकाले ८ लाख रिपयाँसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहीन भएर काम नलागेको बताउनु भयो । ‘खानेपानीको नाला र कल खरिद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदाबनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’-धमलाले भन्नुभयो-‘नगरपालिकाले योजनाका लागि पैसा दियो, कामै भएन तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थप्नुभयो-‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरूणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’

लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । छमेकी जिल्ला भोजपुरले तीन किलोमिटर माथिसम्म अरूण नदीबाट पानी पम्पिङ गरेर लगेको छ । लेगुवामा ५ सय मिटर मात्रै उचाइ रहेकाले अरूण नदीबाट खानेपानी पम्पिङ गरिनुपर्ने स्थानीयको माग छ । महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा–५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जनाएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरी काम अघि बढाएको नगर प्रमुख पर्शुराम नेपालले बताउनु भएको छ । संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सो हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर, लेगुवाका स्थानीयले मौलिक हकमा उल्लेख गरे झैँ आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् ।