बुद्धभूमी नगरपालिका-३, दुवियाकी मान कुमारी सुनार अहिले ६६ वर्षको हुनुभयो । सामान्य दलित परिवारकी मान कुमारीको सानो परिवार सबै राम्रै चलेको थियो । सानो परिवार दुख सुख गरेर चलेको थियो । यो परिवारको खुशी धेरै दिन टिक्न सकेन । ०६१ फागुन १७ गते यो परिवारको खुशी छिनियो । मान कुमारीको काख रित्तियो । बुबाको भरोषा टुट्यो । जब मान कुमारीका २५ वर्षीय छोरा गोविन्द सुनारलाई तत्कालीन शाही सेनाद्वारा हत्या गरेको खबर रेडियोबाट धेरैपछि मात्र थाहा भयो यो परिवारलाई । मान कुमारीले आँखा भरी टिलपिल आँशु पार्दै भन्नुभयो – ‘शाही सेनाले चितवनको नारायणगढमा फागुन १७ गते गोली हानेर मारेको रे हामीले बल्ल वैशाखमा मात्र थाहा पाइयो । लास पनि देख्न पाइएन ।’
मुतक गोविन्द सुनार तत्कालीन माओवादी पार्टीका प्लाटुन कमाण्डर हुनुहुन्थ्यो । माओवादीमा भएका कारण गोविन्दको घरमा त्यति बाक्लो आउजाउ हुँदैन्थ्यो । गोविन्दसँग परिवार लामो समयदेखि भेटघाट हुन पाएको थिएन । उता छोरा गोविन्दको मृत्यु भए पनि यो परिवारले २ महिनापछि मात्र थाहा पायो । गोविन्द माओवादी लडाका भएकै कारण यो परिवारले तत्कालीन शाही सेना र सुरक्षाकर्मीहरूबाट धेरै पीडा खेप्नु परेको थियो । मान कुमारी भन्नुहुन्छ – ‘फागुनको महिना थियो उता छोराको हत्या गरिसकेका रहेछन् । घटनाको विषयमा यो परिवार बेखबर थियो । यता मान कुमारीले खेतमा पाकेको तोरी छिन्दै हुनुहुन्थ्यो । ठ्याक्कै गते याद भएन् शाही सेनाको ठूलो हुल आएर कपालमा समाएर तेरो माओवादी छोरा खै ? आज कति जना माओवादीको हुल राखेर खाना खुवाईस भन्दै कपाल समातेर बुटले हिर्काए ।’ मान कुमारीले धेरै अनुभव गर्नुभयो तर शाही सेनाले कपालमा समाए हिर्काइरहे, कपाल गोडिदिए । खुट्टा पसार्न लगाएर बुटले ड्याङ् ढ्याङ् हिर्काए । मानकुमारीलाई कुटेको जेठी बुहारीले देख्नुभयो । गर्भवती रहेकी बुहारीले आमालाई नकुट्न भनेपछि उनीहरूले गर्भवती बुहारीलाई कपालमा समातेर घिसारे, माओवादीलाई पकाउँदै खुवाउँदै राखेको भन्दै कुटेको मान कमारीले तत्कालीन घटना सम्झँदै उल्लेख गर्नुभयो ।
तत्कालीन शाही सेनाको कुटाइका कारण अहिले पनि मान कुमारीको टाउको दुख्ने चिसो समयमा बुटले हिर्काएको ठाउँमा दुख्ने गरेको उहाँ बताउनुहुन्छ । खुट्टा पसार्न लगाएर बुटले खुट्टा र कोखामा हानेका कारण मान कुमारीलाई उठबस गर्न समेत समस्या छ । मान कुमारी भन्नुहुन्छ – ‘दुख दिनुसम्म दिए, छोरा पनि मारे, मलाई यातना दिनुसम्म दिए । अहिले पनि उठ्न बस्न सक्दिाँ ।’ अहिले पनि त्यति खेर दिएको यातना सम्झदा निद्रा लाग्दैन यो परिवारलाई ।
अहिले पनि मान कुमारीलाई छोराले कतिबेला आमा भनेर बोलाउला भन्ने लाग्छ । मारेको दुई महिनापछि छोरा मर्यो भन्ने कुरा मौखिक सुनेकी मानकुमारीले छोराको लाससम्म हेर्न पाउनुभएन । मृतक गोविन्दका दाजु विर बहादुरलाई पनि कतिबेला दाई भनेर बोलाउँछकी जस्तो लाग्छ । अरुले छोरा मर्यो भनेका भरमा कुशको शरीर बनाएर अन्तिम संस्कार गरेका परिवालाई अझै पनि घरमा आएर बोलाउँछ की जस्तो भान हुन्छ । लामो समयसम्म छोरा माओवादी लडाका भएकै कारण छोरासँग भेट्न नपाएकी मानकुमारीले छोराको लास पनि देख्न नपाउँदा आफू संसारकै अभागी आमा हुँ भन्दै छिनछिनमा भक्कानिने गरेको जेठा छोरा विर बहादुर बताउनुहुन्छ ।
सरकारले पीडित परिवारको राहत स्वरुप पटक पटक गरेर १० लाख रुपियाँ दियो । त्यस बाहेक अरु विषयमा सरकारले खासै वास्ता नगरेको पीडित परिवारको गुनासो छ । यो परिवारलाई जुन उद्देश्यले जनयुद्ध गरिएको थियो । त्यो अनुसार सरकारले काम गर्न नसक्दा धेरै दुख लागेको उहाँ बताउनुहुन्छ । मानकुमारी भन्नुहुन्छ – ‘देशको लागि मेरो छोरा लगायत धेरैले ज्यानको वलिदान दिए पनि मुलुकमा परिवर्तन सोचे अनुरुप हुन नसक्दा द्वन्द्वपीडित परिवारमा वेचैन बढेको छ ।’ देशमा राजनीतिक परिवर्तनसँगै आम नागरिकहरूको जीवनशैलीमा पनि परिवर्तन होला भन्ने आशाको त्यान्द्रोमा बाँचेका द्वन्द्वपीडित र प्रभावित परिवारहरू व्यवस्था फेरिए पनि आम नागरिकको जीवनशैली र अवस्था सोचे अनुरुप हुन नसकेकोमा दुखि छन् । सशस्त्र द्वन्द्वबाट शान्ति निर्माण प्रकृयामा आएको अर्थात विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा हुँदासम्म न्याय पाउन नसकेका परिवारलाई यति लामो समय न्याय पाइएन् । अव के पाइएला भन्ने प्रश्नले रातदिन पिरोल्छ । अहिले पनि द्वन्द्वपीडित र प्रभावित परिवारलाई देशको अवस्था देख्दा न्याय पाइएला जस्तो लाग्दैन । तर पनि भन्छन् – ‘आशा मरेको छैन ।’ सरकारले मृतक गोविन्द सुनारलाई सहिद घोषणा त गर्यो । तर सहिद परिवार र प्रभावितलाई केही गर्न सकेन । देशमा राज्य व्यवस्था परिवर्तन गर्नका लागि ज्यान गुमाएका, आफन्त गुमाएका सन्तान विहिन भएका, अभिभावक विहिन भएका, जीवनको सहारा गुमाएका परिवारका निम्ति केही नगरेको देख्दा पीडित र प्रभावित परिवारहरूको मन दुखेको छ । विश्वास टुटेको छ । सरकारप्रति वितृष्णा बढेको छ ।
देशमा यति ठूलो राजनीतिक परिवर्तन भयो । राजतन्त्रको अन्त्य भइ गणतन्त्र आए पनि आफूजस्ता द्वन्द्वपीडितको पीडालाई सम्बोधन नगरेको देख्दा पीडित र प्रभावितहरुको मन भारी भएको छ, गला फाट्छ र मुटु भक्कानिन्छ मानकुमारीको । देशमा विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसक्यो । २५ वर्षे तन्नेरी छोरा गुमाएको २१ वर्ष भयो । तर एउटी पीडित आमाले अहिलेसम्म न्यायको अनुभूति गर्न नपाउनु कति दुखद कुरा हो । २१ वर्षसम्म न्याय पाउन नसकेकी आमामाथि के बितेको होला ? कसरी मन बुझाएकी होलिन ती आमाले ? प्रश्न अनुत्तरित छ । तर पनि न्यायका लागि पटक पटक मरेर बाचिरहनु परेको छ । मान कुमारीलाई न्याय पाइएला भन्ने आश अझै मरेको छैन । टिआरसी विधेयकको स्वागत गरे पनि विधेयक शतप्रतिशत ठिक छ भन्ने कुरामा विश्वास छैन मानकुमारीलाई । उहाँ भन्नुहुन्छ – ‘टिआरसीका विषयमा मलाई धेरै थाहा छैन । मलाई यति थाहा छ, मेरो छोरा र म जस्ताले न्यायको अनुभूति गर्ने खालको हुनु पर्यो र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु पर्यो ।’ आफू जस्ता पीडितले अनुभूति गर्ने खालको हुनुपर्नेमा मान कुमारीले जोड दिनुभयो ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी विधेयक ल्याएर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित समेत गरिसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुँदैन, गम्भीर अपराध घटनाका पीडकले पीडितको इच्छा अनुसार सजाय पाउँछन् की पाउँदैनन भन्ने कुरामा पीडित परिवार अझै ढुक्क हुनुहुन्न । सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन नसकेको उहाँले भन्नुभयो । यति लामो समयसम्म न्याय नपाउँदाको पीडा एकातिर छँदैछ, पटक पटक विर्षन खोजेको पीडा कोट्याइरहँदा अझ बढी पीडा हुने गरेको उहाँको गुनासो छ । मानकुमारीले सरकारले अब पनि पीडालाई बल्झाइरहन नहुने बताउनुहुन्छ ।