INSEC Online

📅 २०८३ जेष्ठ २१

दोषी दण्डित भएको हेर्न चाहन्छन्, सशस्त्रद्वन्द्वपीडित नागरिकहरू

ज्ञानेन्द्र खड्का

अघिल्लो दिउँसो सामान्य थियो । दिनभरि बारीमा काम गरेर थकित अवस्थामा घर आइपुग्दा उनको घर माओवादी कार्यकर्ताले ढाकिएको थियो । जिल्लास्तरदेखि लिएर साधरण कार्यकर्तासम्म झण्डै ४० जनाभन्दा बढी माओवादी कार्यकर्ताले उनको घरमा बास मागे । गाउँघरको चलन । साँझ परेपछि बास माग्न आएका व्यक्ति देउतासरह ठानेर उनले सहजै बास बस्न दिए ।

घरमा भएको सिदो पिठो माओवादी कार्यकर्ताले आफैं बनाउनुका साथै उनका परिवारका सदस्यले पनि बनाएर खुवाए । खाना खाएर कोही माओवादी कार्यकर्ता सेन्ट्री बस्न लागे भने भने कोही पालो गर्दै सुत्न लागे । चारैदिशाका गौंडा माओवादी कार्यकर्ताले घेरेर त्यो रात उनको र अन्य छिमेकीका घरमा बिताए । सबै सुतेपछि उनी पनि ओछ्यानमा लागे । अरु रात जस्तो त्यो रात उनलाई निन्द्रा परेन । गाउँका कुकुर पनि निरन्तर भुकिरहेका थिए । छोरा, छोरी र पत्नीसँगै गफ गर्दै सुतेका उनले सायद कुनै अप्रिय सोचेका पनि थिएनन् होला । तर नियती अर्कै रहेछ ।

बिहान भालेको डाकसँगै घरमा बास बसेका माओवादी कार्यकर्ताहरूले आफ्ना युद्ध सामग्रीसहित अर्को सेल्टरतर्फपाइला लम्काइसकेका थिए । सायद उनीहरू कुनै युद्व मोर्चाको तयारी वा जनसत्ता निर्माण गर्न जाँदै थिए । उनीहरू गएपछि उनले जीवनलाई नियमित गोरेटोमा डोर्žयाउने प्रयास गरे ।

गाईभैंसीलाई घाँसपातदेखि लिएर अन्य कृषि कार्यसँग जुध्दै उनले त्यो दिन पनि शुरू गरेका थिए । घाम उदाएर दुई बाँसमाथि पुगिसकेको थियो । गाई भैंसीलाई घाँसपात गरेर उनी घर आइपुगेका मात्र के थिए, सुरक्षाफौजको एउटा टोलीले अचानक उनको घर घेरिहाल्यो ।

घर घेरामा पारेपछि सुरक्षाफौज उनको परिवारमाथि झम्टिहाल्यो, किन माओवादी पालिस् – राति आएका माओवादी कता लुकाइस् – छिटो माओवादी निकाल् – भन्दै उनी र उनको परिवारमाथि दुर्व्यवहार गरे सुरक्षाफौजले । उनको परिवार नाजबाफ बन्यो । घर तलासी गर्दा कोही नभेटेपछि उनले लामो सास फेरे, केही घण्टाअघि मात्र घरबाट माओवादी निस्केर गएको सम्झेर ।

घरमा कोही माओवादी फेला नपारेपछि सरक्षाफौजलृ आफ्नो बाटो ततायो । तर त्योभन्दा भयानक दुर्घटना उनले चालनपाइ घरको सङ्घारमै आइपुगेको थियो । दशैँको बेला भए पनि युद्धले गर्दा गाउँघरमा चार्डपर्वको कुनै खुशीयाली देखिंदैनथ्यो । सुरक्षाफौज गएको दुई घण्टा पनि नबित्दै भयानक रूप र व्यवहार लिएर हतियारधारी माओवादीको जत्थाले उनको घर घेर्žयो । घरमा आइपुग्नेबित्तिकै माओवादी कार्यकर्ताले उनको कठालो समात्दै नजिकैको जङ्गलतिर लगे । किन हामी विरुद्ध सुराकी गरिस् – तँ सर्वहारा वर्गको दुश्मन, तँलाई हामी बाँकी राख्दैनौ, भन्दै माओवादी कार्यकर्ताले उनलाई लगेपछि घरमा पत्नी र छोराछोरीको कोकोहोलो मच्चियो । माओवादीले तान्दै लाँदा उनी भन्दैथिए- ‘म आइहाल्छु, नरोइ बस्नू, मेरो केही चिन्ता लिनुपर्दैन, केही गल्ती गरेको भए पो डराउनु ।’

तर उनको त्यो वाक्य नै परिवारजनका लगि अन्तिम सन्देशमा परिणत भयो । त्यसपछि उनी कहिल्यै फर्केनन् । माओवादीले उनलाई नजिकैको देवीथानको मन्दिरमा पुर्žयाए, मानौं कसैको भाकल छ । त्यो बेलासम्म उनी बिलौना गर्दैथिए “मैले गल्ती गरेको भए, जे सँजाय दिए भोग्छु, मलाई नमार्नुहोला तर उनको आवाजले कसैको मनलाई पगाल्न सकेन । “

देवीथानको मन्दिरमा पुर्žयाएर एकजना कार्यकर्ताले मन्दिरको मौलोमा तर्न लगाए । यतिकैमा अर्का कार्यकर्ताले कम्मरमा रहेको खुकुरी निकाले । हेर्दै टलक्क टल्किने खुकुरी आफैं पनि उनको प्राण लिन खुशीका साथ नाचेको भान हुन्थ्यो । उनको बिलौनाको कुनै परवाह नगरी माओवादी कार्यकर्ताको हातमा रहेको खुकुरी एक्कासी उनको गर्दनमा बर्सियो । छ्याप्प आवाजसहित उनको शरीर दुई टुक्रा हुन्छ । एकै छिनमा उनको शरीर दुई टुक्रा भएर पृथ्वीको ढुङ्गा माटोसरह जड भयो ।

यो कुनै दन्त्य कथा होइन । यसैगरी मृत्युवरण गर्नुपरेको थियो – भोजपुरको उत्तरी हेलौँछा गाविस-९ का ४५ वर्षीय महेन्द्र राईले । उनलाई पार्टी वीरुद्ध सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले घरैबाट अपहरण गरी ०५९ साल असोज २३ गते स्थानीय देवीथानको मन्दिरमा लगेर काटेर हत्या गरेका थिए । जसलाई उनले अघिल्लो दिन मात्रै गाँसवास उपलब्ध गराएका थिए, तिनकै हातबाट उनको ज्यान गयो ।

महेन्द्रका छोरा बिचिन्द्र बाबुको हत्या माओवादीले के कारणले गरेका हुन, आजसम्म जवाफ नपाएको बताउँछन् । उनी भन्छन्- ‘हामीले माओवादीसँग बाबुको हत्या किन गरेको भन्दा सुराकी गरेकाले हत्या गर्नुपरेको बताउँछन् । तर हामीले चित्त बुझ्दो जवाफ पाएका छैनौ । कम्तीमा पनि बाबुको हत्याको कारण र बाबुले गरेको गल्ती बुझ्न पाएपनि हाम्रो मन शान्त हुनेथियो ।’

राज्यले डेढलाख रुपैयाँ क्षतिपूर्ति दिएपनि त्यसले मनमा लागेको चोट र पीडालाई कहिल्यै निको पार्न नसक्ने बिचिन्द्र बताउँछन् । उनी आफ्नो बाबुको हत्यामा संलग्न माओवादी कार्यकर्तालाई कानुनी दायरामा ल्याएर सजाय दिएको हेर्न चाहन्छन् ।

माओवादीले भने महेन्द्रले पार्टी कार्यकर्ताको हत्या गर्न जिल्ला सदरमुकाममा रातारात गएर सुरक्षाफौज ल्याएको कुरा सप्रमाण फेला परेकाले पार्टी निर्णय गरेर उनको भौतिकरूपमा नै सफाया गरिएको जनाउँदै आएको छ । उनको हत्या गरेर आफ्नो पार्टी कार्यकर्तालाई कुनै गल्तीको महसुस् नभएको माओवादी जिल्ला नेतृत्वले बताउँदै आएको छ ।

महेन्द्रका परिवारको जस्तै पीडा जिल्लाकै दोभाने गाविस-७ का १५ वर्षीय लक्ष्मण राईका परिवारमा पनि छ । उनीहरू पनि क्षतिपूर्ति र राहतभन्दा पनि न्यायको खोजीमा छन् । उनीहरू पनि दोषीलाई न्यायको कठघरामा उभ्याएको हेर्न चाहन्छन् ।

स्थानीय इन्द्रावती निमाविमा कक्षा ७ पढिरहेका लक्ष्मणप्रसादलाई संखुवासभाको खाँदवारीबाट आएको सुरक्षाफौजको टोलीले ०५९ साल माघ ३ गते घरैबाट पक्राउ गरे । सोधखोज गरेर केही समयमा नै छोडिदिने भनेर लगिएका लक्षमण त्यसपछि कहिल्यै घर फर्केनन् ।

‘पढेर देशको सेवा गर्छु भन्थ्यो । सेना र प्रहरी आएर घरबाट लिएर जाँदा नलानुस् हजुर, मेरो कान्छोलाई यसको कुनै अपराध छैन, बरु मलाई लैजानूस् भन्दा पनि धर दिएनन्, दाजु माओवादीमा गएको थियो, भाइको के दोष थियो र – दाजुलाई खोज्न आएका रहेछन्, दाजुलाई नभेटेको झोंकमा भाइलाई लगेर मारे ।’ लक्ष्मणका ५२ वर्षीय बाबु पूर्णप्रसादले भने ।

लक्ष्मणलाई पनि जनयुद्वको सहिद भनेर माओवादीले राहत र क्षतिपूर्तिको आश्वासन दिएका छन्, सरकारले पनि मृतकका परिवारलाई एक लाख दिने भनेको छ । तर पूर्णप्रसादलाई दुवैपक्षका कुरामा पटक्कै चित्त बुझेको छैन । मेरो अवोध छोरालाई मार्नेलाई कारबाही गरेको देखेर मर्न पाए मेरो मनले पनि शान्ति पाउने थियो ‘ पूर्ण प्रसादले भने ।

जिल्लाकै साङपाङ गाविस-७ मा बस्दै आएका ७२ वर्षीय बृद्व बीरबहादुर तामाङको पनि उस्तै अवस्था छ । बहुलाहा कुकुरले टोकेर उपचार गराउन संखुवासभाको खाँदबारी गएको छोरो उपचार गरेर फर्कदैं गरेको समयमा माओवादी कार्यकर्ता नभेटेर दिक्क भएको सशस्त्र प्रहरी टोलीको निशानामा परे । ०६० असोज १४ गते देउराली गाविसको झ्याउँ पोखरी बजारमा सशस्त्र प्रहरीले शरणलाई गोली हानेर हत्या गेरका थिए ।

छोराको हत्यापछि वीरबहादुर अझै पनि विक्षिप्त छन् । सुकुम्वासी अवस्थामा रहेका उनी राज्यले आफू र शरणको छोरालाई पालनपोषण गर्नुपर्ने र छोरालाई मार्नेलाई दण्डको भागी बनाउनुपर्ने बताउँछन् । “छोरो मरेर गएको ६ वर्षपछि पनि मेरो मनमा लागेको आगो अझै निभेको छैन । सरकारले कानून बनाएर भए पनि दोषीलाई सजाय दिएको हेर्न चाहन्छु” वीरबहादुरले भने ।

दाजुको हत्यापछि घरको एकमात्र सहारा गुमेकाले उनका बहिनीहरूले विद्यालय पनि छोडेका छन् । छोराको हत्यामा संलग्नलाई केही कारबाही भएको त उनले सुनेकी छन् तर त्यो बाहिर देखाउनको लागि हो भन्ने कुरा पनि उनले बुझेकी छन् ।

छोरा देवेन्द्रको माओवादी आरोपमा तत्कालीन शाही नेपाली सेनाले ०६२ वैशाख २१ गते रानीबास गाविस-७ स्थित हतुवागढी आधारशिविरमा लगेर शारीरिक यातना दिएर हत्या गरेको सुनेकी मात्र उनले छोराको लाशसमेत देख्न पाइनन् । ‘मेरो छोरालाई मार्नेको हालत पनि त्यस्तै होस्, जोसुकै भएपनि उसलाई पनि इश्वरले भए पनि सजाय गरून् । सरकारले सँजाय गर्छ भन्ने सुनेकी छु तर विश्वास छैन । तर पनि अपराधीले सजाय भोग्नैपर्छ । मेरो छोरा मार्नेले खुबै दुःख पाएर मर्नुपरोस्’ देवेन्द्रकी आमा मैनाले विलौना गरिन् ।

माओवादी नेतृत्वको सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्छ भन्ने कुरा केही मात्र युद्धपीडित नागरिकलेमात्र बुझेका छन् । तर धेरैजनाले त्यसले आफूहरूलाई न्याय दिने कुरा भने थाहा समेत पाएका छैनन् । गम्भीर प्रकृतिका मानवअधिकार उलंघन र ज्यादतीका घटनामा संलग्न युद्वरत दुवै पक्षका व्यक्तिहरूलाई अदालतको कठघरामा उभ्याएर सँजाय भागी बनाइनुपर्छ भन्ने जनताको आवाज नसुनी दुवै पक्षका सबैजनालाई आममाफी दिने कुरा सुन्दा विनाकारण आफ्ना सदस्य गुमाएको तीतो पीडा भोगिरहेका परिवारको घाउमा नुनचुकको काम गर्ने निश्चित छ ।

मानवअधिकारकर्मी र युद्धपीडित नागरिकको आवाजलाई समेत सुनेर मानवअधिकार उलंघन र ज्यादतीमा संलग्नलाई सजायको हकदार र गल्ती गरेको महसुस गराउन सकेमात्र द्वन्द्वको कठिन र पीडादायी चरणबाट तङ्ग्रेको यो देशमा पुनःस्थापना, पुनर्मिलन र पुननिर्माणको कुराले सार्थकता पाउन सक्छ ।

त्यसैले युद्धपीडित नागरिकको घाउमा मलम पट्टी लगाउनको लागि मानवअधिकार उलंघन र ज्यादतीका घटनामा संलग्न जोसुकै र जुनसुकै हैसियतका व्यक्ति भएपनि सँजायको हकदार बनाउनै पर्छ । जसले गर्दा अबका दिनमा नेपाली जनताले गुमनाम् मृत्युवरण गर्नुनपरोस् ।

भोजपुर । मंसिर १८ गते

 

अन्य

भिडियो