INSEC Online

📅 २०८३ जेष्ठ २१

ढोरपाटनको व्यथा : सुत्केरीले ६ महिना पानी पिउन पाउँदैनन्

बैशाखको महिना बिहानै देखि हुप्प गर्मी । विजय कायतको घरमा मान्छे आउने जाने चहल पहल सुरु भयो । १९ गते राती विजयले केटी भगाएर ल्याएको कुरा गाउँभरी भइसकेको थियो ।

बिहानै विजयकी बेहुली सपना कायतलाई हेर्न ढोरपाटन नगरपालिका–७ बोवाङ गाउँका युवा, युवती, बालबालिका देखि जेष्ठ नागरिकहरु समेत आउन थाले ।नौली बुहारीलाई विजयका बा–आमा घरको मुख्य कोठामा राखेका छन् । एक दुई हुँदै घर मान्छेले भरिन थाल्यो ।

सपनाले सबैलाई नियाल्नुभयो । सबैका राता राता आँखा र ह्वास्स मुख र शरिरबाट आएको रक्सीको गन्धले उहाँलाई वाक—वाक आयो । उहाँलाई त्यही दिन अचम्म लागेको थियो, पुरुषले त ठिकै हो, यस्ता भर्खरका केटा केटी र महिलाहरुले एकाबिहानै किन रक्सी खाए होलान ।

घरमा बिहेको भोज सुरु भए संगै सपनाकी सासुले ‘सगुन’ हो खानुपर्छ भन्दै सपनालाई पनि स्टिलको गिलासमा कोदाको रक्सी दिनुभयो । माइतमा ‘बा’ ले रक्सी खाँदा गाली गर्ने, खानु हुँदैन भनेर सम्झाउँने सपनाले त्यो दिन पहिलो पटक चुपचाप रक्सी पिउनुभयो ।

ढोरपाटन–७ बोवाङकी १९ वर्षीया सपना यसरी रक्सी खान सुरु गरेकी एक्ली महिला होइनन् । यहाँ बसोबास गर्ने कायत समुदायका हरेक घरमा यसैगरि रक्सी सुरु गरेर रक्सीको लत लागेका सयौं महिलाहरु छन् । यहि जन्मे हुर्केकाहरुको लागि जाँड रक्सी खानु नौलो नभए पनि बाहिरबाट बिहे गरेर आएका हरेक महिलाको रक्सी सँगको यात्रा बिहेको दिन ‘सगुन’बाट सुरु हुन्छ र लत बनेर बस्छ ।

तिर्खा लाग्दा बिना सङकोच यहाँका मानिसहरुले जाँड रक्सी खान्छन् । अझै आश्चर्य लाग्ने कुरा के छ भने यहाँका सुत्केरी र गर्भवती महिलालाई बोतल का बोतल जाँड रक्सी खुवाइन्छ ।

२ वर्ष पहिले बिहे गरेर आउँदाको दिनै रक्सी खाएर घरबार सुरु गरेकी सपनाकी ८ महिनाकी छोरी छिन् । आगानमा घाम ताप्दै छोरी खेलाउँदै गरेकी सपनाले रक्सी सँगका काहाली लाग्दा दिनहरु सुनाउनुहुन्छ । ‘सुत्केरी भएको ८ महिना भयो, यो अवधिमा पानी भन्दा धेरै रक्सी पिए ।’ बिहे भएपछि खा भनेर कर गर्दा नसुनेझै गरेर टार्ने गरेकी सपनाको छोरी जन्मिएपछि भने दैनिकी फेरिएको छ ।

मनतातो रक्सीको सुर्पीसँग सुरु भएको सपनाका दिन रक्सीको सुर्पीसँगै सकिन थाले । ‘सुरु सुरुमा त बानी पार्नै गाह्रो भयो । तर यहाँको चलननै यस्तै रहेछ,’ सपना भन्नुहुन्छ,–‘जाँड रक्सी नखाने हो भने बच्चाको पेट दुख्छ, सुत्केरी कमजोर हुन्छन् र दुध पनि आउँदैन भन्दा रहेछन् ।’ सासु ससुरा, श्रीमान र घरका सबैजसोले रक्सी पिउने । नानी जन्मे पछिको एक महिना तिर्खा लाग्दा पनि रक्सी मात्रै दिइएको र पिएको सपना बताउनुुहुन्छ ।

१२ कक्षा सम्म पढेकी छु । गर्भवती र सुत्केरी महिलाले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने थाहा नभएको पनि होइन तर, समाज र परिवारमा वर्षौ देखि चलि आएको परम्परागत संस्कार र परम्पराको मैले चाहेर पनि प्रतिकार गर्न सकिन सपना भन्नुहुन्छ ।

सपनाको मात्र होइन, बागलुङको बोबाङमा बसोबास रहेको कायत समुदायका हरेक महिलाको एउटै अनुभव छ । यहाँका सुत्केरीलाई दैनिक ४ देखि ६ बोतल रक्सी र जाँड खुवाउने गरेको स्थानीय सुनी कायत बताउँनुहुन्छ ।

सुरुमा त सुनीलाई अप्ठ्यारो लागेको थियो । महिला मान्छे यसरी रक्सी खानु राम्रो होइन भन्ने पनि लागेको थियो । खाँदै गएपछि बिस्तारै नशा नभई नहुने अवस्थामा पुग्नुभएको छ । तीन वटा छोरा छोरी जन्मदासम्म सासुले जबरजस्ती खुवाउँनुभएको थियो तर पाँच वटा सन्तान हुने बेला सम्म सुनीलाई नशा नभइ नहुने भएको छ ।

छोराछोरी जन्मदा रक्सी खान सिक्नुभएकी सुनी अहिले ५० वर्ष पुग्नुभएको छ । जाँड रक्सी नखाने हो भने काम गर्न नसकिने र कमजोर हुने डर अहिले उहाँको मनमा बसिसकेको छ । आफ्नो समुदायमा रक्सी खानु नौलो विषय नभएको भन्दै छोरी र बुहारीलाई आफैले रक्सी पारेर खुवाउने गरेको उहाँ बताउनुहुन्छ ।

पुनम कायत अहिले २७ बर्ष हुनुभयो । पुनमका एक छोरा र एक छोरी छन् । बिहे गरेर आएदेखिनै थोरै थोरै खान सुरु गरेकी पुनमले दुई ओटै छोराछोरी जन्मदा ६ महिना सम्म तिर्खा लाग्दा पनि रक्सी मात्र खाएको बताउनुहुन्छ ।

‘सुत्केरी हुँदा बच्चा बिरामी हुन्छ भनेर हामीलाई पानी पनि पिउन दिँदैनन्’, पुनमले भन्नुहुन्छ–‘यहाँ गाउँ भर सुत्केरीका बेला तिर्खा लाग्यो भने रक्सी नै पिउने हो ।’ सपना, सुनी र पुनमको मात्र होइन, लालमाया, खगिसरा, भिमकुमारी र दिलकुमारीको पनि कथा एउटै छ । सानैमा विवाह, विवाह पछि बच्चा र बच्चा जन्मेपछि मादक पदार्थ सेवन गर्न सुरु गरेका महिला कायत समुदायको घर–घरमै छन् ।

बोबाङका गाउँघर र टोलमा घर–घरमै जाँड रक्सी बनाउने गरिन्छ । यसरी सुत्केरी हुँदा साथ जाँड रक्सी खुवाउने गरेपछि आमा र बच्चालाई धेरै बेर निद्रा पनि लाग्ने स्थानीय बताउछन् । तर, यो स्वास्थ्यका हिसाबले कति उपयुक्त हो त ? यस बारे सरोकारवालाको यथोचित ध्यान, अध्ययन र खोज पुग्न सकेको छैन ।

गर्भवती भएको अवस्थामा महिलाले मादक पदार्थ सेवन गर्दा बच्चा खेर जान सक्ने, जन्मिए पनि शारीरिक वा बौद्धिक रुपमा अपाङ्गता भएको जन्मन सक्ने धौलागिरी अञ्चल अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सौगात कोइराला बताउनुहुन्छ ।

‘गर्भवती महिलाले जाँड रक्सी सेवन गर्दा बन्दै गरेको बच्चाको वृद्विविकासमै खलबल पुग्छ,’ डा.कोइराला भन्नुहुन्छ–‘आमालाई त असर हुन्छ नै बच्चाको कलेजो निर्माण हुने देखि जन्मेको बच्चा पनि अपाङ्गता भएर जन्मने सम्भावना निकै बढी हुन्छ ।’

आमाले मादक पदार्थ सेवन गरेको प्रभाव बालबालिकामा तत्काल देखिएन भने पनि दिर्घकालिन रुपमा समेत असर देखिने उहाँको भनाइ छ । बच्चा ख्याउटे हुने, खाएको खाना नपच्ने, आमाको दुध मात्र खुवाउनुपर्ने बच्चालाई आमाले रक्सी खाएर दुध चुसाउदा पोषणमा असर परेर औसत आयु कम हुने, मानसिक र बौद्विक रुपमा कमजोर हुने सम्मको समस्या हुन सक्ने उहाँको भनाइ छ ।

गर्भवती र सुत्केरीले मादक पदार्थ सेवन गर्नु हुदैन भनेर आफुले पटक–पटक भन्ने गरेको भएपनि आफ्नो कुरा कसैले नमानेको स्थानीय बिश्वास कायत बताउनुभयो । कायत समुदायकै पहिलो स्वास्थ्यकर्मी समेत रहनुभएका हेल्थ असिष्टेन्ट बिश्वासले आफ्नो समुदायका महिला, पुरुष, बालबालिका र युवा युवतीलाई सचेतनाको आवश्यकता रहेको बताउनुहुन्छ ।

यहाँका महिला, बालबालिका, युवा युवती र जेष्ठ नागरिकले समेत खुलेरै मादक पदार्थ सेवन गर्ने गरेका छन् । यसरी मादक पदार्थ सेवन गर्दा घर परिवार र समाजमा झै–झगडा मात्र होइन, वर्षेनी भिरबाट लडेर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बिश्वास बताउहुन्छ ।

‘यहाँको मुख्य अन्नबालीको रुपमा रहेको मकै, गहुँ, जौं र उवा हो,’–स्वास्थ्यकर्मी बिश्वासले भन्नुभयो,‘यहाँका मनिसहरु स्थानिय स्तरमा उत्पादन हुने अधिकांश अन्न जाँड रक्सी बनाएरै सक्छन्, यसले स्वास्थ्यमा असर त परेको छ, आर्थिक रुपमा पनि क्षति भएको छ ।’

लामो समयदेखि मदिरा सेवा गर्दै आएकालाई एक्कासी रोक्न ग्राहो हुने भन्दै वडाले मदिरा नियन्त्रण अभियान सुरु गरेको वडा अध्यक्ष दिपक थापाले बताउनुभयो । यहाँका युवा युवती, बालबालिका देखि जेष्ठ नागरिकले समेत मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्नुहुन्छ, थापाले भन्नुभयो यसलाई एक्कासी रोक्न नसकिने रहेछ, अभियान सुरु भएको छ विस्तारै नियन्त्रणमा आउने छ ।

photo20200207Baglung1

photo20200207Baglung2

photo20200207Baglung3

 

अन्य

भिडियो