INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यान जोखिममा राखेर न्याघरी नदी छिचोल्दै बालबालिका (फोटो फिचर)

सिगास गाउँपालिका–७ स्थित न्वाघरी नदीले यहाँका सयौँ बालबालिकाको सपना बगाइसकेको छ । तीन जना बालबालिकाहरु न्वघरी नदीमा विलय हुनुभएको छ । सयौँ बालिबालिका न्याघरी छिचोल्न नसकि पढ्ने समनालाई कक्षा तीनमै पूर्णबिराम लगाउन बाध्य भएका छन् । कयौँले अझै न्याघरी छिचोल्दै चार कक्षामाथि पढ्ने सपना पुरा गर्न ज्याननै जोखिममा राखेर नदी आवतजावत गर्दैछन् ।

photo20230911baitadi (1)

यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो । पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । ‘बाँचे विद्यालय पुगिन्छ, न्वाघरी नदीमा बगे सेतीमा विलय भइन्छ ।’ स्थानीय शिक्षिका लक्ष्मी चन्दले भन्नु भयो ।

न्वाघरी नदीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । सिगास गाउँपालिका–७ साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्रै विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास गाउँपालिका–६ स्थित गणेश माविमा धाउँदै आइरहेका छन् ।

photo20230911baitadi (2)

विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुल निर्माण गर्न पटकपटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनु भयो ।

नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरी नदीमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन । नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा भिजेर विद्यालय आवत–जावत गर्न बाध्य छन् ।

photo20230911baitadi (3)

२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनु भयो । ४० जना विद्यार्थी सधैँ ज्यान जोखिममा राखेर नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनु भयो ।

संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनु भयो । पुलका लागि स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनु भयो । जिल्लाको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन् ।  बर्सेनि यहाँ न्वाघरी र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ ।

photo20230911baitadi (5)

बाढीले बैतडीको सिगास गाउँपालिका–७ भौनेलीपातलदेखि डोटी जिल्लाको आदर्श गाउँपालिका–६ पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।

डोटी जिल्लाको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर चन्दले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सिगासबासीलाई पुलका् सपना देखाउनुे कार्य भए । कहिले पश्चिमसेतीको सपना देखाउने गरिएको छ । तर, पुल, मोटरबाटो र गाडी चढ्ने सपना न्वाघरी नदी र सेतीका छालसँगै बगेर बिलाउने गरेका छन् ।’

पश्चिम सेती परियोजना बन्ने हल्लाले सिगासमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइनसमेत विस्तार हुन सकेको छैन । यहाँको विद्यार्थी टुकी बालेर पढ्न बाध्यछन् । बिजुली बत्ती नहुँदा सोलारले काम नगरेको दिन स्वास्थ्य संस्थामा मैनबत्ती बालेर सुत्केरी गराउनु पर्ने अवस्था रहेको छ ।

photo20230911baitadi (6)

भूगोलका हिसाबले सिगास गाउँपालिका जिल्लाका १० ओटै स्थानीय तहमध्ये सबैभन्दा ठुलो २ सय ४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको छ । ७ सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिमसेती जलविद्युत आयोजना सिगास गाउँपालिकामै रहेको छ । नेपाल सरकारले संरक्षित वनका रूपमा घोषणा गरेको सिगास संरक्षित वन पनि यही गाउँपालिकामा रहेको छ ।

सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने लौठसल्ला र ६५ भन्दा बढी बहुमूल्य जडीबुटी रहेको डिभिजन वन कार्यालय, बैतडीको तथ्याङ्म छ । सिगास गाउँपालिका प्राकृतिक सम्पदाले भरिभराउ भए पनि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले नदी तर्ने पुल, राम्रो हिँड्ने बाटो, बिजुली बत्ती र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा उपलब्ध गराउन सकेको छैन ।

न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा संघ, प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनु भयो ।

photo20230911baitadi (7)

अन्य

भिडियो