गुल्मीका गाउँहरूमा जङ्गली जनावरको आतङ्कले स्थानीय कृषकलाई गम्भीर पीडामा पारिरहेको छ । किसानहरूले पालन गर्दै आएका बाख्रा, गाई, भैँसी र भेडा जस्ता पशुहरूलाई जङ्गलबाट आएका जङ्गली जनावरले आक्रमण गरी मार्ने गरेका छन् । यसले गर्दा किसानहरूको जीवनयापन र आर्थिक स्थितिलाई प्रभावित बनाउदै आएको छ ।
धुर्कोट गाउँपालिका–४ जैसिथोककी तिल कुमारी खत्री, एकल महिला हुनुहुन्छ । पतिको मृत्यु भएको १७ वर्षदेखि परिवारको लालनपालनको जिम्मेवारी बहन गर्दै आउनु भएकी तिल कुमारीले गाउँमै उद्यम गर्ने उद्देश्यले १ लाख रुपियाँमा खोर निर्माण गरी पाँच बाख्रा किनेर पाल्नु भयो ।
गत साउन १२ गते गाउँ नजिकैको सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चितुवाले उनको तीन ओटा र दुर्गा खत्री गौतमका एक गरी चार ओटा बाख्रा मार्दियो । यस घटनाले तिल कुमारीलाई आर्थिक रूपमा क्षति पु¥याएको मात्र होइन, उनको आत्मबल र आशामा समेत चोट पुगेको छ ।
यस्तै, इस्मा गाउँपालिका–१ का खेतबहादुर कुँवर पनि जङ्गली चितुवाको आक्रमणबाट गम्भीर घाइते हुनु भयो । उनका एक दर्जन भन्दा बढी बाख्रा चितुवाले मारेका छन्, र उनी आफैं घाइते भएर ठूलो खर्च र पीडाका बीच जीवनयापन गर्न बाध्य भएका छन् । उनले राहतको आशामा प्रहरी मुचुल्का, वडा र पालिकाको सिफारिस लिएर डिभिजन वन कार्यालयमा निवेदन दिएर राहतको आशा गरे पनि, अझैसम्म कुनै राहत प्राप्त नभएको बताउनु हुन्छ ।

जिल्लामा जङ्गली जनावर बाघ, चितुवा, बाँदर, ढेडु (लङ्गुर), र बँदेलले कृषकको कृषि उत्पादन र पशुपालनलाई निरन्तर क्षति पु¥याइरहेका छन् । इस्मा, धुर्कोट, मदाने, मालिका, मुसिकोट र रुरु क्षेत्रका कृषकहरू भने जङ्गली जनावरहरूको आक्रमणले आफ्नो मेहिनत र उत्पादन नै रित्तो भएको बताउँछन् । बाँदर र बँदेलले खेतबारीको अन्नबालीलाई रित्तो बनाइदिएपछि कृषकहरू निराश र हताश भएका छन् ।
इस्मा गाउँपालिका–४ दोहलीका युवा कृषक ओम कुँवरले बदेलका कारण उर्बर जमिन बाँझो राख्ने अवस्था आएको गुनासो गर्नुभयो । बिउ छरेदेखि रातभर जाग्राम बस्दा समेत जोगाउन मुस्किल परेको उहाँले बताउनुभयो । बाँदरले खेतबारीको मकै नै उत्पादन हुन नदिनेदेखि घरमै पसेर आक्रमणसम्म गर्न थालेपछि खेतबारी बाँझो राख्ने र गाउँ छोड्नेहरुको सङ्ख्या बृद्धि भइरहेको सत्यवति गाउँपालिका–२ अस्लेवाका शिक्षक शेरबहादुर कुँवरले बताउनुभयो । गाउँमा बृद्धहरु मात्रै बस्ने र जङ्गली जनावरहरु घरमै आउन थालेपछि गाउँ छोड्नु पर्ने बाध्यता बनिरहेको उहाँले बताउनुभयो ।

बन्यजन्तुबाट पशुचौपाय र अन्नबालीमा जङ्गली जनावरले गरेको क्षतिको आधारमा राहतका लागि डिभिजन वन कार्यालयमा किसानले निवेदन र घटना मुचुल्का बुझाउने गरेका छन् । तर, दुई बर्षदेखि खाली हात घर फर्किनुपर्ने र उल्टै यातयात खर्च र सास्ती हुने गरेको रुरु क्षेत्र गाउँपालिका–५ बम्घाका किसान नारायण श्रेष्ठले गुनासो गर्नुभयो ।

डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार, पाँच वर्षमा मात्रै जङ्गली जनावरले ५ सय १४ भन्दा बढी पशुचौपाय मारेको बताउनु भयो । जसमा आर्थिक वर्ष २०७७÷७८ देखि ०८१/८२ सम्म बाख्रा ३ सय २६, गाई ११, भैँसी ४६, भेडा सात र कुखुरा १ सय २४ रहेका छन् ।
पाण्डेले पहिले निकुञ्जबाट राहत आउने गरेको भएपनि दुई आर्थिक वर्षबाट प्रदेश सरकार मार्फत राहत नआउँदा किसानलाई समस्या भएको बताउनुभयो । उहाँले अन्नबालीको क्षति तथा पशुचौपायको क्षतिको निवेदन र विवरण प्रदेशमा पठाएपनि कुनै विषयमा बजेट नआएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले वनबाट केही राहत आउने अवस्था आएपछि गाउँपालिकाले क्षतिपूर्ति दिन नसकेपनि थोरै–थोरै राहत दिँदै आएको बताउनुभयो । उहाँले किसानहरुले कसैबाट पनि सुख नपाएको देख्दा आफूहरुलाई पनि दुःख लाग्ने भएपनि स्रोत र साधन नहुँदा गाहो भइरहेको बताउनुभयो । यो विषयमा कि स्थानीय तहमा बजेट पठाउने कि प्रदेश र संघले दिल खोलेर सहयोग गर्नुपर्नेमा ज्ञवालीले जोड दिनुभयो ।
जिल्लामा जङ्गली जनावर र कृषकबीचको द्वन्द्व अझै जारी छ । राहतको अभाव, बजेटको समस्या र संरक्षणका प्रयासहरू अझै असफल भइरहेका छन् । यस समस्याको समाधानका लागि दीर्घकालीन रणनीति, पर्याप्त बजेट र सर्वसुलभ राहत कार्यक्रम आवश्यक छ । समुदायलाई सचेत र जागरूक बनाउने, जङ्गली जनावरको नियन्त्रण र संरक्षणको समन्वय गर्न आवश्यक छ, ताकि गाउँहरू सुरक्षित र कृषकहरुको जीवनयापन सहज बनाइनु पर्नेमा सरोकारवालाहरुको जोड रहेको छ ।
