INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराछोरी पढाउन रहर हुने भो

एकातिर पतिवियोगको पीडा । अर्कातिर आफ्ना पाँच सन्तानको लालनपालन र उनीहरूको भविष्यको चिन्ता । प्रत्येक पला उनको मन पोलिरहेको हुन्छ । कमाइ गर्ने पति मारिएपछि देउराली गाविस-९ भिरकोटकी सुन्तलीमाया श्रेष्ठको आफन्त भनेको नै चिन्ता बनेको छ । कहिल्यै साथ छाड्दैन ।

माओवादीको आरोपमा घरबाट एकाबिहान रिमरिमे उज्यालो हुन नपाउँदै उनका पति रामजी श्रेष्ठलाई नेपाली सेनाले नियन्त्रणमा लिएर दिउँसो सालुको ढुङ्गेछापमा पुर्žयाएर हत्या गरेदेखि उनको घरमा खुशी छिरेकै छैन । स-साना केटाकेटी ओइलिएका कोपिला झैँ देखिन्छन् । सुन्तलीको अनुहार चिन्ताको बादलले सँधै ढाकेको हुन्छ । रामजीको हत्यापछि उनको परिवारमा हाँसोले बाटो बिर्सेको छ ।

सुन्तलीका साथमा अहिले चार छोरी र एक छोरा छन् । जेठी गोमा, माइली निरकुमारी, साइँली लिलाकुमारी र छोरो नेत्रबहादुर पढ्न लागेका छन् । तर तिनीहरूका लागि पढ्ने कापी, किताब र कलमको जोहो गर्न उनले छाक नै काट्नुपर्ने हुन्छ । कमाइको केही मेसो छैन । भएको चार हलको मेलोको जग्गा पनि उनका पति र देवरको नाममा रहेको छ । ज्याला नगरी उनीहरूलाई खान पुग्दैन । बिहान खायो बेलुका के खाउँको अवस्था छ । बालबच्चाहरूलाई पढाउनु त रहरको कुरा भयो ।

सुन्तलीलाई घरमा सहयोग गर्ने मानिस पनि कोही छैनन् । भएको एउटा देवर पनि मानसिक रोगी छन् । उनको केही भर छैन । बरु उनकै रेखदेख गर्नुपर्छ । परिवारको सम्पूर्ण जिम्मा उनकै काँधमा छ । केटाकेटीलाई कसरी पढाउने हो अहिले सुन्तलीलाई सबैभन्दा ठूलो चिन्ता भनेकै त्यसैको छ । आर्थिक कमजोरीका कारण उनलाई यो समस्याले निक्कै रुवाएको छ ।

रामजीलाई २०५९ कार्तिक ७ गते माओवादीको आरोपमा सेनाले हत्या गरेको थियो । त्यस दिन देउरालीका अन्य पाँच जनाकोसमेत सेनाले एकै चिहान बनाएको थियो । देउराली-९ का राजकुमार केसी पौडेल र नेत्रबहादुर कार्की,देउराली-१ का प्रकाश बस्नेत, टेकबहादुर बस्नेत र लोकबहादुर भुजेल पनि रामजीसँगै मारिएका थिए । सिङ्गो गाउँ घेरा हालेर सेनाले उनीहरूलाई बिहान उज्यालो हुन नपाउँदै घरघरैबाट गिरफ्तार गरेको थियो ।

‘माओवादीमा लाग्नु त परै जावोस् घरमा माओवादी आउँदासमेत डराएर हिँड्ने गरेको मानिसलाई सेनाले मारिदियो’ सुन्तली भक्कानो छाड्दै भन्छिन् । बिहानपख भैँसी दुहेर भित्र मात्र पसेका रामजीलाई सेनाले परको डाँडामा बैठक छ एक छिन हिँड्नुस् भनेर लग्यो । सुन्तलीले भनिन्, ‘अन्त अन्त सेनाले मानिस मारेको सुनेकाले न मेरो श्रीमानलाई पनि मार्ने हो कि भनेर चार सन्तानलाई लिएर पर डाँडासम्म पुगेँ, तर मलाई गाली गरेर फकाईदियो । बैठक सकेपछि आइहाल्छ नि भनेर गाली गरेपछि म फर्किएँ । तर के को बैठक हुन्थ्यो -भोलीपल्ट रेडियोले समाचार भनेपछि मारेछ भन्ने खबर पाइयो ।’

रामजी माओवादीमा सङ्लग्न भएको उनको गाउँलेलाई मात्र हैन घरमा पनि थाहा थिएन । एक दिन माओवादी घरमा आएका थिए । तर त्यसदिन रामजी घरमा थिएनन् । छिमेकीको घरमा चिठी छाडेर गएछन् । गाउँको भेलामा आउन भनिएको व्यहोरा भएको त्यो चिठी पाएपछि रामजी गाउँकै काभ्रेमा भएको एउटा भेलामा डराइडराइ गएका थिए । ‘त्यसबेला माओवादीले बोलाएको ठाउँमा नगए मार्ला भन्ने डर थियो । भेलामा त अरु पनि गएका थिए तर मेरा पति त्यही कारणले मर्नु पर्žयो’ सुन्तली धोतीको सप्कोले आँसु पुछ्दै विगत कोट्याउँछिन् ।

सेनाले सो घटनामा मारिएका रामजीलगायत कसैको लाश पनि उठाउन दिएन । रामेछापको नारायणदल गुल्मका लेफ्टिनेन्ट रणधीर राईको नेतृत्वमा गएको सेनाको टोलीले उक्त हत्याकाण्ड गराएको थियो । कोही लाश उठाउन आए उसको पनि लाश पारिदिने धम्की सेनाले गाउँलेहरूलाई दिएको कारण घटनास्थलमा छिर्ने आँट कसैले पनि गर्न सकेनन् । मूलबाटोको छेउमा नै रहेको सो घटनास्थलमा कसैले जाने आँट गरेनन् । त्यसैले लाश त्यहीँ सडेर गए । सुन्तली भन्छिन्, ‘त्यहाँ गयो भने मारिदिने भनेर सेनाले भनेपछि कसको जाने आँट – म मात्र हैन अरुका परिवार पनि गएनन् । त्यतिकै काजकिरिया गरियो ।’

माओवादीको आरोपमा पति मारिए पनि सुन्तलीलाई माओवादीले अहिलेसम्म कुनै सहयोग गरेको छैन । माओवादीहरू सहानुभूति दिन पनि नआएको उनले बताइन् । राज्यले आतङ्ककारी भनेर मारेको थियो, झन् उसले सहयोग गर्ने कुरै भएन । सुन्तली भन्छिन्, ‘अरु सहयोग नगरे पनि छोराछोरीको पठनपाठनका लागि सहयोग गरिदिए भाग्य ठान्थे । तर त्यो पनि कसैले गरिदिएन ।’

देउराली घटनाको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरी घटनामा सेनाको गल्ती औँल्याउदै मारिएका छ जनाको परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिश गरेको वषौँ बितेको छ । तर सुन्तलीलगायतले राज्यबाट क्षतिपूर्ति पाएका छैनन् । आयोगले मृतकका आश्रति परिवारलाई प्रतिपरिवार डेढलाख रूपैयाँ क्षतिपूर्ति दिने भनेर घरमा बोधार्थ पत्र पठाएको छ । पत्र पाएपछि पटकपटक जिल्ला सदरमुकाममा पुगेर पैसाको खोजी गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएको सुन्तली बताउँछिन् ।

यो पीडा सुन्तलीको मात्र हैन । सुन्तली यस्तो पीडा बोक्नेमा प्रतिनिधि पात्र मात्र हुन् । उनको जस्तो पीडा बोक्ने मानिसहरू रामेछापमा थुप्रै छन् । अनाहकमा अभिभावक गुमाएका सुन्तली जस्ता धेरै परिवार रामेछाप जिल्लामा छन् । परिवारको मूल मानिस गुमाएपछि धेरैको पारिवारिक संरचना ध्वस्त भएको छ । प्रायः उनीहरू सबैको आर्थिक अवस्था एकै खालको छ । सबैका समस्या एकै खालका छन् । उनीहरूलाई राज्यले कहिले न्याय दिने हो निश्चित छैन ।

नवराज पथिक

रामेछाप

अन्य

भिडियो