विदेशमा गएकी छोरीले धन कमाएर ल्याउली र छानाको फल्याक फेरेर घरमा जस्ताको छाना लगाउँला भन्ने ठानेकी यासा गाविस-६ की ७६ वर्षीया माया तामाङ (नाम परिवर्तन)को छोरा छोरीले सुख देलान् भन्ने सपना बुढेसकालमा समेत पूरा भएन । कुन दलालको फन्दामा परेर छोरी विपना (नाम परिवर्तन) बम्बईको कोठीमा बेचिन पुगिन् । ‘बार्žžह छोरा तेर्žह नाति बुढाको थोक्रो काँधैमाथि’ भने झै भएको छ उनलाई । झण्डै चारबीस पुग्न लाग्दा झनै चिन्ताले पिल्सिन पुगेकी छन् उनी ।
उनीमात्र हाईनन्, आफ्ना चेलीहरूलाई कुवेत, ओमन, इजरायललगायत अन्य खाडी मुलुकमा लैजाने बहानामा दलालले पत्तो नपाइ बम्बईको बेश्यालयमा पुर्žयाएको पीडा पोख्नेहरू दर्जनौं छन् त्यस गाँउमा । त्यस्तै सो गाउँका ७३ वर्षीय कुसाङ तामाङ (नाम परिवर्तन) ले राहदानीसमेत लिएर ओमन हिँडेकी आफ्नी छोरी वर्षदिन बित्दा नबित्दै बम्बईको बेश्यालयमा नारकीय जीवन बिताउन पुगेको र आफू आउन नपाउने दुःखद् खबर सुनेर आफू छाँगाबाट खसेको बताए ।
जिल्ला सदरमुकाम धुन्चेदेखि १८ कोष दक्षिणपूर्वीमा पर्छ यासागाविस । तामाङ बस्तीको यो गविस जिल्लाकै सबभन्दा गरिबीको रेखामुनी परेको मात्र नभई शिक्षा स्वास्थ्यलगायत सबै क्षेत्रमा पछि परेको गाविसमा पर्छ । अहिले जिल्लाको यासा सरमथलीलगायतका गाविसका तामाङ बस्तीहरूमा चेलीबेटी बेचबिखन बढेको पाइएको छ । नेपाल कृषिवन प्रतिष्ठान -न्याफ) ले हालै सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा ३ सय ५० जना भन्दा बढी महिलाहरू यस जिल्लाको विभिन्न ९ गाविसबाट बेचिएको तथ्याङ्क सार्वजनिक गरेको छ । यसरी बेचिनेहरूमा ११ देखि ३७ वर्षउमेरसम्मका महिला रहेका छन् ।
विगतमा चेलीबेटी ओसारपसार न्यून गर्नका लागि प्रयासरत सङ्घसंस्थाहरू माओवादी जनयुद्धको शुरूवात भएपछि गाउँमा बसेनन् । त्यस बेलादेखि यी गाविसहरूमा चेलीबेटी ओसारपसारमा संलग्न गिरोहहरूको सक्रियता बढ्दै गएको पाइएको छ । एक वर्षमा ६० जना महिलाहरू बेचिएर बर्म्बई पुग्ने गरेको स्थानीय यार्सा एक तामाङले नाम नखुलाउने र्सतमा बताए । गाउँमा जनचेतनाको अभावले पैसा कमाउनका लागि जे काम गरे पनि हुन्छ भन्ने मानसिकता बढी विकसित भएको र बाहिर छिमेकी जिल्ला नुवाकोटबाट समेत चेलीबेटी बेचबिखनमा संलग्न गिरोहरूको सक्रियतामा पनि यस अवधिमा चेलिबेटी बेचबिखन निकै बढेर गएको स्थानीय फूर्पा तामाङले बताए ।
सजिलै आम्दानीका लागि स्वेच्छाले समेत यसरी विदेशिनेहरू पनि नभएका होइनन् । बम्बईको बेश्यालयमा पुगेर गाउँ फर्केर आएकाहरू भने गाउँमा भेटिदैनन् । त्यहाँबाट आएका महिलाहरू भने २/३ दिनका लागि आए पनि राजधानीमा बस्ने गर्छन् । आय स्रोतको लागि यहाँ कुनै अरू बाटो छैन । वर्षौदेखिको मानव बेचबिखनको क्रम नरोकिएको स्थानीय ग्याम्जो तामाङले बताए ।
न्याफले १८ ओटामात्र गाविस रहेको रसुवा जिल्लाका यार्सा सरमथली, राम्चे, लहरेपौवा, भोर्ले, धैबुङ्ग, डाडागाउँ,ठूलोगाउँ, र हाकु गाविसमा सर्वेक्षण गरेको थियो । र्सर्वेक्षणअनुसार अत्याधिक मात्रामा महिला बेचिनेमा यार्सा हरेपौवा र राम्चे गाविस पर्दछन् । यस क्षेत्रबाट दलालहरूले चोरीबाटो प्रयोग गरेर जिल्लाको दक्षिणपूर्वी नुवाकोटको घ्याङफेदी, लच्याङ, उर्लेनी, शिखरबेशी हुँदै जङ्गलको बाटो भएर महिलाहरू बेचबिखनका लागि लैजाने गर्छन् । माओवादीले विगतमा यार्सा काजी तामाङलाई १० हजार रूपैयाँ जरिवाना गरी आईन्दा यस्तो कार्य नगर्ने तथा बम्बईमा बेश्यालय चलाउन छाड्न चेतावनी दिएर ‘जनकारबाही’ गरेपछि गाउँमा चेलीबेटी बेचबिखनमा संलग्न गिरोहहरूको सक्रियता कम भएको थियो । तर, पनि पछिल्लो अवधिमा उनीहरूको कृयाकलाप रोकिएपछि पुनः बेचबिखन बढेको, यस अवधिमा केही शङ्कास्पद व्यक्तिहरूलाई माओवादीले नियन्त्रणमा लिँदै त्यसै छाड्दै गरेको यार्सा सरमथली गाविसवासी बताउँछन् ।
यस्तो गतिविधि बढ्नुमा गरिबीको कारण प्रमुख रहेको पाइएको छ । आय आर्जनको स्रोत र खाद्यान्नको कमी रहेको छ । उब्जाउयोग्य भूमी नहँनाले कृषि पेशाप्रति उनीहरूको चाहना घट्दै गएको छ । खाद्यान्नको उत्पादन कम हुन्छ । पर्याप्त विकासको अभाव छ । यी गाँउमा केही मात्रामा आलु कोदो मात्र फल्दछ । उत्पादन लिनका लागि एक वर्षकुर्नु पर्छ । “खानै पुग्दैन त्यसैले उनीहरू जान्छन्” यार्सा इश्वर तामाङले भने – “गाँउमा यस्तो गतिविधि रोक्न खोज्ने हो भने मार्ने धम्की समेत आउँछ ।”
सर्वेक्षणले यार्सा गाविसको वडा नं. ६ मा पर्ने थाङदोर जिल्लामै बढी चेलिबेटी बेचबिखन हुने गाँउमा पर्ने देखाएको छ । यस गाउँबाट मात्र ८० जना भन्दा बढी बम्बई गएको पाइएको छ । जनआन्दोलन पछिको अवधिमा राहदानी लिएर भारतको दिल्लीबाट अन्य मुलुक लैजाने बहानामा बर्म्बई पुग्नेहरूको सङ्ख्या पनि निकै बढेको पाइएको छ।
यस्तो समस्या समाधानका लागि सरकारी तथा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूले चासो नदिएको स्थानीय बासिन्दा राजेश तामाङ बताउँछन् । यस्ता समस्याहरू समाधानका लागि एक जिल्लास्तरीय कार्यदल बनाएर लाग्नु पर्ने र जिल्ला विकास समिति तथा सरोकारवालाहरू सबैको सक्रियताले यस्तो कार्य रोक्न विविध कार्यक्रम सञ्चालन गर्नु पर्ने निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । जिल्लामा महिला विकास कार्यालय र न्याफले चेलिबेटी बेचविखनका गतिविधि न्यून गर्ने कार्यमा लाग्ने भएका छन् । न्याफकी भद्रा राजभण्डारीले चेलीबेटी बेचबिखन तथा महिला हिंसा विरूद्धका जनचेतनामूलक कार्यक्रमहरू ग्रामीण तहमा लैजान अत्यावश्यक रहेको बताइन् । विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर यार्सा गाविसमा चेलिबेटी बेचविखन विरूद्धको कार्यक्रम लान लागिएको महिला विकास अधिकृत बृन्दा गुरूङले बताइन् । यस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्म कारबाही गरिनु पर्ने प्रहरी नायव उपरीक्षक सुदीपराज भण्डारीले बताए ।
हेमनाथ खतिवडा
रसुवा । ०६५ साउन ३१ गते