INSEC Online

📅 २०८३ जेष्ठ २१

‘घर लडेको होइन संसार ढलेको’

सेतै कपाल फूलेको टाउकामा काटिएको कपाल । गोडा सुन्निएर हुप्प फुलेका । सुखदुःखको साथी लौरो त छँदैछ । उमेरका ७० बसन्त जसोतसो पार गरी ७१ वर्षमात्रै टेकेकी बृद्ध महिला । साथमा अपाङ्गता भएको (बोल्न नसक्नेबहिराछोरो । छोरो बहिरा भएकाले उनलाई अर्को साथ थियो स्थानीय एक महिलाको । आँखाभरी आँशु । मनभरी त्रास । रअलिअलि भूकम्पका कारण परिवारमा केही नभएकाले गर्व पनि । गाउँकी पण्डितनी ‘बज्यै‘ । रामनाम लेखिएको गम्छा बोकेर सरकारसँग राहत माग्न वडा कार्यालयमा आएकी छिन् । उनलाई अलिअलि आश पनि छ राहत पाइन्छ कि भन्ने ! उनी भन्छिन्-“सरकारले दिएको नुन खास्टोमा थाप्न आएकी ।” यी महिला हुन् महालक्ष्मी नगरपालिका –५ की अम्बिका पौडेल ।

1431253973

दुःखजिलो गरेर पाँच जनाको उनको परिवार बाँचेकै थियो । “यो बहिरा भए पनि यसो जजमानी गथ्र्यो । टिका लगाइदिने र चरु होम्ने काम गर्छ ।”नजिकै रहेको छोरोलाई देखाउँदै अम्बिकाले भनिन् । “जम्मा तीन महिनालाई भन्दा खान पुग्ने जग्गाजमिन छैन ।”नगरपालिकाको-५,६,७ र ८ को संयुक्त वडा कार्यालयसम्म ल्याएर सहयोग गरेकी अनिता पौडेलले भनिन् । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले उनको सानो संसार गर्ल्यामगुर्लुम्म ढल्यो । अम्बिकाले सुस्केरा हाल्दै भनिन्- “मेरो त बाबु घर भत्केको होइन, संसार ढलेको हो ।” भूकम्पले महालक्ष्मी नगरपालिकाका यी चार ओटा वडामा ७ सय ८४ ओटा घर ध्वस्त भए । त्यसमा अम्बिकाको घर पनि पर्‍यो । ४ सय ४३ ओटा घर आँशिक क्षति भएको भएपनि बस्न योग्य नभएको लुभुमै घर भएका संयुक्त वडा कार्यालयका सचिव हितलाल श्रेष्ठले भने-“मुस्किलले १० प्रतिशत घर काम लाग्ने होलान् ।”

 

‘धेरैजसो घर भत्कियो’ महालक्ष्मी नपा-५ की अनिता पौडेलले भनिन्-“आमाको घर भत्कँदा भने मनै कुँडियो ।” आफ्नो घर भत्कँदासमेत अम्बिकालाई सहयोग गर्न वडा कार्यालय आइपुगेकी अनिताले सञ्चारकर्मी हौँ भनेर परिचय दिँदा भने आर्श्चर्य मानिन् । उनले व्यङ्ग्य गर्दै भनिन्-“पत्रकारले पनि लुभु देखेका रहेछन् ।” भूकम्पको १६ दिन भइसक्दा पनि लुभु लामाटार क्षेत्रमा पत्रकार नआएकोमा उनको गुनासो थियो । “अरुको जेजे भएपनि आमाको छोरा बुहारी दुवैजना अपाङ्ग छन् । गाउँकै गरिब परिवार हो यो । एउटा नाती ११ कक्षामा पढ्छ । नातिनी ८ कक्षामा पढ्छे । दुवैजनालाई हामी सबैले भनेर छात्रवृत्तिमा पढ्ने व्यवस्था गरिदिएका छौँ । यस्तो आपतका बेलामा सबैले सहयोग गर्नुपर्‍यो । तपाइँहरुको सहयोग त झन चोटिलो हुन्छ ।”-सञ्चारकर्मीको तागत ठूलो भएको भन्दै फूर्क्याउँदै एकै सासमा उनले बेलिविस्तार लाइन् ।

 

“घरको पर्खाल चोखो भन्ने कतै छैन ।”-अम्बिका पौडेलले भनिन्-“पुनःनिर्माण गर्ने तागत मसँग छैन ।” हातमुख जोर्न समस्या रहेको उल्लेख गर्दै उनले आँखाबाट आँशु बगाउँदै भनिन्-“अहिले खोइ एउटा अफिसमा बसेकी छु । त्यो पनि चुहिने छ । बर्खामा कहाँ बसौँ बाबु – गास त मागेर भएपनि भरौँला बास कसरी बस्ने – बास पाउँ ।” राहत के के पाउनु भयो त – प्रश्न खस्न नपाउँदै सहयोगका लागि आएकी अनिताले भनिन्-“एकजना दाइले त्रिपाल दिनुभएको छ । अरु त हामी गाउँलेबाटै सहयोग गरिरहेका छौँ ।” आमाको छेवैमा रहेको एउटा पोको देखाउँदै अनिताले थपिन्-“यहाँ -नगरपालिका)बाट पाँच केजी चामल, तीन प्याकेट चाउचाउ र ३ पुरिया बिस्कुट दिनुभएको छ ।”

भोलिको चिन्ताले भूकम्पपछिका रात अनिदोमै बित्ने गरेको भन्दै अम्बिका पौडेलले भनिन्-“बाबु मेरो कुरा सरकारले सुन्छ भने गाँसभन्दा पनि बासको समस्या छ रे भन्दिनु है !” भुइँचालो आउँदा घरैमा रहेकी अम्बिकालाई अहिले पनि बेलाबेलामा हल्लाइरहेको जस्तो भान हुन्छ । पृथ्वीमा आएको भुइँचालो भन्दा ठूलो भुइँचालो भने अपाङ्ग छोरा बुहारी र लालाबाला नातिनातिनाको भविष्यको चिन्ताले मनभित्रको भुइँचालो ठूलो भएको छ । “वडा सचिवलाई पनि आमाको गासबासको बारेमा राम्रो जानकारी छ । अब केही सहयोग गर्नुहुन्छ कि भन्ने आशा छ । आज निकै भीड रहेछ । भोलि आउँछु । सकेसम्म आमाको बासको व्यवस्थापन गरेरै छाड्छु । त्यति भयो भने पुण्य कमाउन अन्त जानु पर्दैन ।”-अनिताले भनिन् ।

 

यस्ता पात्र लुभुमा मात्रै होइन अन्त पनि छन् । वर्षायाम शुरु हुन लागि सकेको छ । यी र यी जस्तै भूकम्प पीडितहरूको पुनर्वासका लागि तात्कालीन कार्यक्रम शीघ्र कार्यान्वयनमै ल्याउनु जरुरी छ । अनि मात्रै जनतालाई सरकार भएको अनुभूति मिल्छ । सरकार भए नभएको अनुभूति गराउने दायित्व केन्द्रीय, जिल्ला र स्थानीय सरकारको हो ।

अन्य

भिडियो