तत्कालीन शाही नेपाली सेनाको निर्मम कुटाइबाट मने सुनारको मृत्यु भएपछि विधुवा बन्न पुगेकी कमलाको अवस्था झन् दयनिय बन्दै गएको छ । पतिको हत्यापश्चात लामो समयसम्म हातमुख जोर्न समस्या भएपछि कमलाले आफ्ना छोराहरू १६ वर्षीय गोविन्द सुनार र १४ वर्षीय डिलबहादुर सुनारलाई कामका लागि भारत पठाएकी छन् । बिद्यालय पढ्दै गरेका दुई छोराहरू अहिले परिवार लालनपालनको लागि भारतमा मजदुरी गरिरहेका छन् । “उनीहरू गएको छ महिना भइसक्यो, केही दिन अगाडि मात्र २५ सय रूपैयाँ पठाएका थिए छोराहरुले । चिठ्ठी पत्र केहीपनि पठाएका छैनन्, कता छन् के गर्छन् केही थाहा छैन ।” आँखाबाट आँशु झार्दै कमलाले भनिन्, “घरमा खाने केहीपनि छैन अर्काको काम गर्न जाँउ भने बच्चाहरू स्याहार्ने घरमा कोही छैन । लोग्ने भएको भए काम गरेर ल्याएर पनि जहान छोराछोरी पाल्थे । अहिले हाम्रो परिवार अलपत्र परेको छ । कतैबाट केही हुन्छ भने सहयोग गरिदिए यस्ता बच्चाको मुख टाल्न हुन्थ्यो ।”
खानको समस्या भएपनि कमलासँग टिनको छाना भएको घर मात्र छ पतिको सम्झनामा । तर, त्यही घरले उनको परिवारलाई सुखसँग बस्न दिएको छैन । घर बनाएको तीन महिना बित्न नपाउँदै पति सेनाबाट कुटिए र मारिए । घर बनाउँदा लागेको ऋण तिर्न सकेको छैन कमलाको परिवारले । साहुहरू घर बनाएको ऋणको तोकता गरिरहन्छन् । तीन बर्षो बालकलाई काखीमा च्यापेर पति मारिएको चार बर्षछि राहत सहयोगको लागि याचना गर्दै खारा गाविस-१ की कमला सुनार सदरमुकाम खलंगा आई पुगिन् । ०६१ चैत २५ गते माओवादीले खारा गाविसस्थित तत्कालीन शाही नेपाली सेनाको आधार शिविरमा दोस्रो पटक आक्रमण गरेको भोलिपल्ट दिउँसो माओवादीको खोजीमा गएको शाही नेपाली सेनाले कमलाको घर घेरा हालेका थिए । माओवादीको आरोपमा उनका पति ३७ वर्षीय मने सुनारलाई बन्दुकको कुन्दा र बुटले निर्मम कुटपिट गरेका थिए ।
कमला र उनका छोरा १२ वर्षीय तिलक सुनारलाई पनि सेनाले छोडेनन् । कमलाको छातिमा बुटैबुटले हिर्काए भने तिलकको दायाँ आँखा नै फोडिदिए । कुटपिटकै कारण ०६२ साउन २ गते भारतको सिमलामा उपचारको क्रममा पति मनेको मृत्यु भएपछि कमलाका दुःखका दिनहरू सुरु भए । त्यतिखेर गर्भवती कमला घटनापछि कतैपनि हारगुहार गर्न गईनन् सेनाको डरले ।
पतिसँगै तत्कालीन शाही नेपाली सेनाबाट कुटिएकी कमलाको छाति अहिलेसम्म दुखिरहेको छ त्यतिखेरको यातनाका कारण । अहिले उनलाई औषधि खर्च आवश्यक छ भने उनका बच्चाहरूलाई शिक्षा दिक्षा र लालनपालन आफ्नो मूख्य समस्या देखाउछिन कमला । घर बनाउँदा लागेको ऋण त परैको कुरा भयो । गरिबी र अभावका कारण उनको परिवारको दैनिकी समेत अगाडि बढ्न सकेको छैन कमला परिवारको । तीन वर्ष कान्छो छोरा प्रकाशलाई काखी च्यापेर सदरमुकाम आएकी कमलाले आफू कुनै राजनीतिक दलमा समावेस नभएको कारण राहत सहयोग प्रकृया अगाडि नबढेको गुनासो गर्दै भन्छिन्, “पार्टी लागेकाहरूले पहिले नै निवेदन दिईसकेका रहेछन् । मलाई त थाहै भएन । कसले भनिदिन्छ र मलाई -” आफ्नो पति कुनै दलको कार्यकर्ता नभएको कारण अहिले आफूले क्षतिपूर्ति नपाएको दुखेसो पोखिन उनले ।
छ छोरा र एक छोरीसहित आठ जनाको परिवार कमलाको सामन्य मेलापात र दुई बालकको प्रदेशको कमाईमा आश्रति छ । उनको परिवारलाई बाटो लगाउने कोही पनि छैनन् । यद्धले गर्दा परिवारको बिचल्ली बनाएकोमा आफ्नो भाग्यलाई सराप्दै कमला भन्छिन, “मेरो भाग्यले मलाई यहाँसम्म ल्याएको हो । युद्ध त १०-१२ वर्षम्म चल्यो तर मारिए केहीका लोग्नेहरू मात्रै ।” द्वन्द्वमा हजारौं नेपाली जनताका छाराछोरीहरू मारिएको उनलाई थाहा छैन, मात्रै आफ्नो पति र केही सिमित मानिसहरू मारिएको जस्तो लाग्छ, उनी भन्छिन् “युद्ध भयो,मान्छेहरू मारिए रे तर हिँजो लड्नेहरू आज एउटै थालीमा भात खाँदैछन् । चिल्ला गाडी र सुविधा सम्पन्न शहरमा बसिरहेका छन् । के गरे त हाम्रा लागि मार्ने र मराउनेहरूले – मर्नेहरू मरेर गए बाँच्ने हामीहरू जस्ताको यो दशा भयो । हामीलाई के गर्ने माओवादी नेतृत्वको सरकारले छिठ्ठै सोच्नुपर्छ र हामी जस्ता निमुखाहरूको मुखमा माड लगाउने सम्मको ब्यवस्था गर्नुपर्छ -” श्रीमान गुमाएको पीडा, विदेशिएका नाबालक दुई छोराको माया र घरमा रहेकाहरूको लालनपालनको समस्या आदि कुराहरूलाई झेल्दै बाँकी जिन्दगी जेनतेन धकेली रहेकी छिन कमला सुनार ।
देशमा स्थायी शान्तिको सुरुवात भएपनि उनले कुनैपनि सरकारी तथा गैर सरकारी निकायहरूमा राहत र सहयोगकोलागि आग्रह समेत गरिनन् । द्वन्द्वमा मारिएकाहरूले राहत सहयोग पाउँछन् भन्ने कुरा पनि उनले ढिलैमात्र थाहा पाएर इन्सेकको सहयोगमा जिल्ला प्रशासन कार्यालय रुकुममा राहत तथा क्षतिपूर्तिका लागि निवेदन दर्ता गराएकी छन् । “केही सहयोग पाए त छोराहरूलाई भारतबाट बोलाएर गाँउमै पढाउने थिएँ । अकालमा लोग्ने गएपनि उनीहरूको भविष्य त बनाउन सकिन्थ्यो होला ।” मनमा पलाएको आशा ब्यक्त गर्दै उनले भनिन्, “बच्चाहरू साना छन् अलि ठूला भएपछि त मेलापात गरेर पनि पाल्न सक्थें होला ।”
जीवन खडका
रुकुम । माघ १८, ०६५