आफूलाई जन्म दिने बुबा र कर्म दिने बाबु सरहको ससुरा, भाइ र छोरा सरहका देवर हुन्छ भनिन्छ । तर आफन्तका नाममा अपराधी मनोवृत्ति भएकाहरूसँग कसैको केही नलाग्दो रहेछ । यो पीडा हो आफूलाई जन्म दिने बुबाबाट पटक पटक बलात्कारको शिकार बन्नुभएकी १५ वर्षीया बालिकाको । आफ्न्तबाट घरभित्रै बलात्कृत भएको पीडा कसरी भन्ने । न घरमै आफन्त र आफनासँग भेट्ने दुख साट्ने अवस्था छ । न एउटी पीडित छोरीका चित्कार कसैले सुन्छ । न त पुनस्थापित भएर त्यही घर परिवारमा बस्न सक्नेस्थिति छ । न त घरका अरू आफन्तसँग भेटघाट नै हुन्छ । आफूलाई जन्म दिने बुबाबाटै पटक पटक बलात्कृत भएकी छोरीले भोगेको पीडा हो यो । उहाँले आफूले खेपेको दुख र पीडालाई बोली मार्फत साट्न चाहनुहुन्थ्यो, जुन सम्भव नभएपछि आँशु मार्फत पीडा पोख्न बाध्य हुनुभयो । उहाँसँग आँसु बाहेक अरू बिकल्प थिएन । उहाँको पीडा बुझ्ने र आँशुको भाषा बुझेर न्याय दिने मान्छे कोही छैन ।
बुबाबाट पटक पटक बलात्कार पर्नुभएकी १५ वर्षीया बालिकाले आफूमाथि भएको घटना सहनुको विकल्प नभएको बताउनु भयो । पीडित बालिका भन्नुहुन्छ – ‘म माथि बितेको कुरा कसैलाई
कसैलाई भन्यो भने अन्य आफन्तले पनि आफैँलाई दोषी देखाउछन् भन्ने पीडाले कसैलाई भनिन । कहिलेकाहीँ यो पीडाले छटपटी लाग्छ । मनमा बेचैन हुन्छ पटक्कै बाँच्न मन लाग्दैन ।’
सामान्य परिवारमा जन्मिनुभएकी १५ वर्षीया बालिका पाँच कक्षामा पढ्दादेखि कक्षा ९ पुग्दासम्म चार वर्ष आफ्नै बुबाबाट पटक पटक बलात्कृत हुनुभयो । बालिका भन्नुहुन्छ – ‘६ जनाको परिवार थियो । भाइ सानै छ, आमा घरको काम गर्नुहुन्छ । हजुरआमा बुढी हुनुहुन्छ । म स्कुल पढेर घर आएपछि साँझमा आमालाई सघाउँथे । हजुरआमासँग केही बेर रमाउँथे । बेलुकी खाना खाएपछि स्कूलको होमर्क गर्दा रातको ९, १० बज्थ्यो । आमा र भाइ निदाएपछि बुबा आएर मलाई बलात्कार गर्थे र सुत्थे । मलाई अत्यन्त पीडा हुन्थ्यो ।’ ती बालिकाले त्यो पीडा न आमालाई भन्न सक्नुहुन्थ्यो, न त अरुलाई नै । यसरी पीडा खेपेर पटक पटक मरेर आमा, भाइ र हजुरआमाका निम्ति चार वर्ष यसरी नै बिताउनु भयो । उहाँले आमाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । अहिले जिल्ला अदालत रुपन्देहीले आरोपित बुबालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । घटनापछि रुपन्देहीको एक सुरक्षित आवास गृहमा बस्दै आउनुभएकी बालिकाले आमाको सहयोग त पाउनुभयो । तर परिवारका अन्य सदस्य तथा आफन्त इष्टमित्रहरूले आफैँलाई दोषी भएको आरोप लगाउँदा आफूलाई थप पीडा भएको पीडित बालिका बताउनु हुन्छ ।
यसैगरी, ११ वर्षीया बालिकालाई ५२ वर्षीय बुबाबाट पटक पटक बलात्कृत हुनुभयो । अत्याधिक मदिरा सेवन गरेर कुटपिट गरी आमालाई लखेटेका ती बुबाले आमासँगै गएकी छोरीलाई खोसेर ल्याए । केही समय राम्रै व्यवहार गरेको भए पनि केही समयपछि छोरीलाई दिनहुँ बलात्कार गरे । घटनाबारे कसैलाई भनेमा राम्रो नहुने बुबाले धम्की दिएको पीडित बालिकाको भनाइ छ । बलात्कारपछि विक्षिप्त बनेकी बालिकालाई घटनाबारे थाहा पाएर छिमेकीले बलात्कारको कसुरमा बाबुमाथि इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए । हाल आरोपित प्रहरी हिरासतमा रहेका छन् । पीडितले घटनापछि पीडित बालिकालाई आमाले रेखदेख गर्नुभएको छ । बालिका मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ । छोरामान्छे देख्दा झस्कने, आत्तिने र डरले कालो निलो अनुहार हुन्छ ।
यस्तै, पति वैदेशिक रोजगारीमा गएपछि ३३ वर्षीया महिला आफ्नै ससुराबाट बलात्कृत हुनुभयो । सासु माइती गएको मौका छोपेर ससुराले बुहारीलाई बलात्कार गरे । कसैलाई भने छोरा र पतिलाई मार्ने धम्की दिँदै पटक पटक बलात्कार गरिरहे । महिलाको पेटमा गर्भ आएपछि घर परिवारबाट समेत तिरस्कार सहनुपर्यो । पीडितले घटनाका बारेमा प्रहरीमा उजुरी दिनुभयो । प्रहरीले आरोपितलाई गिरफ्तार गर्यो । आरोपित अहिले पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका छन् । ससुराको बलात्कारबाट गर्भवती भएकी पीडित महिला अहिले एक सुरक्षित आवास गृहमा बस्दै आउनुभएको छ । पुनस्थापना गृहमा बसेकै अवस्थामा छोराको जन्म दिनुभयो । अबको जीवन के कसरी अगाडि बढाउने हो भन्ने विषयमा धेरै चिन्तित हुनुहुन्छ ।
१५ वर्षीया बालिकालाई ६० वर्षीय काकाबाट पटक पटक बलात्कृत हुनुभयो । पीडितले अभिभावकको सहयोगमा प्रहरीमा उजुरी दिनुभयो । आरोपित अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन् । पीडित बालिका अहिले अभिभावकसँगै हुनुहुन्छ । बालिकालाई अहिले पनि डर छ । बलात्कारपछि काकी र अन्य परिवारसँग बोलचाल बन्द भएको छ । आरोपितहरूले फसाएको आरोप लगाउँदा बाँच्नै गाहे भएको पीडित बालिका बताउनुहुन्छ । सात वर्षीया बालिकालाई १८ वर्षीय दाजुले शौचालयमा गएको अवस्थामा शौचालयमै बलात्कार गरे । बालिका रुँदै घटनाका विषयमा आमालाई भनेपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिनुभयो । जिल्ला अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।
माथि उल्लेखित सबै घटनाहरू घर परिवारका आफन्तबाट पीडित बनाइएका रुपन्देही जिल्लाका छोरीहरूको घटना र पीडामा परेका छोरीहरूको आवाज हो । यी प्रतिनिधि मूलक घटना हुन् । यस्ता धेरै घटनाहरू समाजमा घटेका छन् । कतिपय घटनाहरू उजागर हुन सकेका छैनन् । बलात्कारका घटनाहरू घर बाहिरका अपरिचितबाट भन्दा घरभित्रैका आफन्तबाट बढी हुने गरेको छ । घरपरिवार भित्रका आफन्तबाट बलात्कृत भएर पीडित भएकाहरू शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक रूपले समेत समस्यामा परेका छन् । यस्ता घटनाबाट पीडित भएका घटनाहरूमा मेलमिलाप गर्न दबाब दिने, अभिभावक भएकाहरू घर छाड्नु पर्ने, अभिभावकदेखि टाढा बस्नुपर्ने अभिभावक हुँदाहुँदै अरुको आश्रय लिनुपर्ने जस्ता कारणले बालबालिकाहरूको अन्य अधिकार समेत गुम्न गएको छ । अरूको साहारामा बाँच्नुपर्ने, विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने बाल हेल्पलाइन नेपाल १०९८, रुपन्देहीका प्रमुख विष्णु पौडेलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयको विगत तीन वर्षको तथ्याङ्क अनुसारलाई विश्लेषण गर्ने हो भने पनि जिल्लामा आ. व ०७९/८० मा ६७ जना बालिका र महिला बलात्कारबाट पीडित भएका छन् । त्यस्तै ०८०/८१ मा ८९ जना पीडित भए भने ०८१/८२ मा ३८ जना बलात्कारबाट पीडित भएको तथ्याङ्क छ ।
त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा सन् २०२२ मा १ सय ४२ जना महिला र बालिका बलात्कारबाट पीडित भएका छन् भने सन् २०२३ मा ८६ जना महिला तथा बालिका पीडित भएका छन् । त्यस्तै सन् २०२४ मा १ सय ४ जना महिला तथा बालिका बलात्कारबाट पीडित भएको तथ्याङ्क रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीका अनुसार घरपरिवारका सदस्यहरू र आफन्तबाट हुने बलात्कार जस्तो जघन्य अपराधका घटनाहरू इज्जत जाने डर, कूलको मानप्रतिष्ठा माथि आँच आउने इज्जत जानले गर्दा कतिपय घरभित्रै मिलाउने गरेकोले उजुरी नआउने गरेको र उजुरी आए पनि ढिला आउने गरेको बताउनु भयो ।