आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नु पर्ने ठाउँ हुन्, जिल्लाको व्याँस गाउँपालिका–१ स्थित दुई ओटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर टाँढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर जानका लागि गोरेटो बाटो समेत छैन् । पञ्चायतकालीन गोरेटो बाटो समेत प्रयोग गर्न नसकिने गरी भत्किएका छन् ।
‘सशस्त्र द्वन्द्वअघि व्याँसको तिंकरसम्म नेपालकै भूमि भएर स्थानीय आवतजावत गर्ने गर्दथे । गणतन्त्रपछि यो क्षेत्रमा निर्माण गरिएका गोरेटा बाटा पनि बिग्रेर गए,’ व्याँस गाउँपालिका–१ स्थानीय जितबहादुर बोहराले भन्नु भयो, ‘सरकारले हिँड्न मिल्ने बाटो समेत बनाइदिएको छैन, त्यही भएर हामी भारतीय बाटो भएर हिँड्छौँ । चामल, नुन, तेल पनि भारतीय बजारबाट किन्नु पर्छ ।’ व्याँसमा उत्पादन हुने अन्नले ६ महिना पुग्दैन । बाटो नहुँदा भोग्नुपरेको सास्ती सुनाउँदै उहाँले भन्नु भयो, देशमा सरकार छ कि छैन जस्तो लाग्छ ।
भारतको सडक हुँदै पाँच घण्टाको गाडीको यात्रामा सीतापुल पुगेर त्यहाँबाट हिँडेर जाँदा एक दिनमै छाँगरू, तिंकर पुगिन्छ । त्यसका लागि भारतीय प्रशासनले जारी गरेको बहुयात्रा अनुमतिपत्र आवश्यक हुन्छ ।
नेपालकै भूमि भएर खलंगाबाट छाँगरू, तिंकर जान पाँच दिनको कष्टकर पैदल यात्रा गर्नु पर्छ । दुई वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले ५ करोड खर्च गरेर नेपाली सेनामार्फत निर्माण गरिएको गोरेटो बाटो समेत भत्किएको छ ।
व्याँस गाउँपालिका–१ का दुई गाउँमा १ सय १० घरपरिवारको बसोबास छ । भारतले प्रवेश अनुमति नदिए व्याँसीको ६ महिनामा हुने (कञ्चा) बसाइँसराई गर्न आफ्नो भूमिबाट सम्भव छैन् । खाद्यान्न, औषधिपचारका लागि कतै जान परे भारतीय बाटो नै हो । त्यति मात्र होइन, वडा नम्बर २, ३, ४, ५ र ६ का नागरिक भारतीय बजार र भारतीय सडकमा निर्भर छन् ।
भौगोलिक रुपमा विकट रहेको व्याँस गाउँपालिकाको छाङ्गरु तिंकरसम्म राज्यले सडक पहँुच र राम्रो सुविधायुक्त बाटो बनाउने हो भने सिंगो देश चिनाउने सम्भव छ । सरकारले ०६५ सालबाट दार्चुला तिंकर सडक सुरु ग¥यो । तर, यो सडक अहिलेसम्म व्याँस गाउँपालिकाको दुम्लीङ् भन्दा माथि उक्लिन सकेको छैन् ।
व्यासीहरुले सडकको सपना देखेको वर्षाै भयो । आफ्नै भूगोल भएर हिड्ने अनि व्याँसमा फलेको फापर, उवा, आलू, स्याउँ बजारसम्म लैजाने धोको अधुरै छ । सशस्त्र द्वन्द्वअघि व्याँसको तिंकरसम्म नेपालकै भूमि भएर स्थानीय आवतजावत गर्थे । गणतन्त्रपछि यो क्षेत्रमा निर्माण गरिएका गोरेटा बाटाहरु अवरुद्ध भए, बोहरा भन्नुहुन्छ्, तर, राज्यले मान्छे हिड्न समेत राम्रो गोरेटो बाटो बनाउन सकेन् ।
राज्यका उच्च अहोदामा बस्नेहरुले हेलिकप्टरमार्फत फनफनी घुम्दै व्याँसमा राज्यको उपस्थिति गराउने, यहाँसम्म सडक पहुँच विस्तार गर्ने, जनतालाई समस्या हुन नदिने अठोट गर्दै फर्किए । हेलिकप्टर घुम्यो, नेता र प्रशासक पनि घुमे । आहाँ व्याँस भन्नेहरुले फर्केर हेरनन् व्याँस गाउँपालिका–१ का मन्दोदरी बुढाथोकीले भन्नु भयो, अहिले हाम्रा समस्या सुनिदिने समेत कोही भएनन् ।
वर्षौदेखि भारतसँग सीमा विवाद रहेको कालापानी नजिक छ, छाङ्गरु अनि चीनको सीमा नजिककै गाउँ हो तिंकर । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर चुच्चे नक्सा जारी गरेपछि व्याँसीहरुले केही परिवर्तन आउँछ सोचेका थिए । राष्ट्रियताको सवालमा दृढ हुँदाहुँदै पनि राज्यले व्याँसका नागरिकलाई चिन्न नसक्दा निराश छन् । आधारभूत कुराहरु पनि हाम्रो सरकारले पु¥याउन सकेको छैन्, बुढाथोकीले सुनाउनु भयो । तिंकर पुगेपछि अन्कन्टार हुन्छ । टेलिफोन छैन् । राम्रो बाटो छैन् । स्वास्थ्य उपचार गराउन स्वास्थ्य चौकी छैन् ।
तिंकरमा छैन् स्वास्थ्यचौकी
व्याँस गाउँपालिका–१ तिंकरमा स्वास्थ्य चौकी छैन् । स्वास्थ्य चौकी नहुँदा सामान्य चेकजाँचको लागि समेत स्थानीयले समस्या भोग्नु परेको छ । औषधिका लागि पनि चार घण्टा पैदल हिँडेर छाँगरू पुग्नुपर्छ । छाँगरूमा पनि औषधि नपाए सदरमुकाम खलंगा पुग्नुपर्छ, होइन भने भारतीय सीमा क्षेत्रका बजार चहार्नुपर्छ ।
बाटोघाटो राम्रो छैन् । कुनै घटना भयो भने सामान्य उपचार गराउन पनि समस्या छ, व्याँस गाउँपालिका–१ तिंकरका स्थानीय मन्दोदरी बुढाथोकीले भन्नु भयो । अहिलेसम्म भगवान भरोसा केही भएको छैन् । बिरामी हुँदा लेकाली जडिबुटीको सहारा छ ।
दुई वर्षअघि तिंकरमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको थियो । तर, अहिलेसम्म अधुरै छ । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तिंकरमा यो वर्ष स्वास्थ्य चौकी सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनु भयो ।
यो गाउँमा ६५ घरधुरीको बसोबास छ । यो भन्दा माथि गाउँ छैन् । चीनको नजिकको गाउँमा स्वास्थ्य उपचार पाउन नागरिकले सकिरहेका छैनन्, वडा सदस्य समेत रहेका हितेश बुढाथोकीले बताउनु भयो । गाउँमा जसरी पनि अहिले स्वास्थ्यचौकीको आवश्यकता छ । हामीले सदरमुकाम खलंगाबाटै सिटामोल बोकेर खानुपर्ने अवस्था छ । यो क्षेत्रमा स्थानीयलाई लेक लाग्छ । तर, पनि राज्यले स्वास्थ्यचौकी समेत बनाउन नसक्दा नागरिकले बेलाबखत समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।
बिरामी हुँदा चार घण्टा हिडाएर छाङ्गरु स्वास्थ्य चौकीमा लिनुपर्छ । सीमा क्षेत्रका नागरिकलाई राज्यले हेरेको खै ? प्रमुख जिल्ला अधिकारी किरण जोशी तिंकर पुगेको बेला स्थानीय राजेश बोहराले सुनाउनु भयो्, तपाईहरु पनि यहाँ पुग्नु भयो, हाम्रो समस्या बुझ्ने मात्र हैन समाधान पनि गरिदिनु होला ।
भारतमाथिको परनिर्भरताले सीमामा ज्यादती र दुर्व्यवहार
भारतीय पक्षले कतिसम्म दुव्र्यवहार गर्छ भन्ने उदाहरण २० भदौको एउटा घटनालाई हेरे पुग्छ । व्याँस गाउँपालिका– १ को तिंकरमा निर्माण गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापनाको उद्घघाटनका लागि हिँडेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, विद्यार्थी नेता दीपक खातीलाई भारतीय सीमा सुरक्षा बलले व्याँस जान रोक लगाएको थियो । भारतीय प्रशासनबाट बहुयात्रा अनुमति लिएर जाँदा पनि भारतको धार्चुलाबाट १४ किलोमिटरमाथि तिगरमबाट फर्काइयो ।
अध्यक्ष धामी भन्नु हुन्छ, ‘२०७४ मा वडाध्यक्षमा निर्वाचित भएयता नेपाल–भारत आवतजावत गर्दा ममाथि भारतीय सुरक्षाकर्मी एसएसबीबाट दुव्र्यवहार भएको छ । गत भदौमा व्याँस गाउँपालिकामा व्यास ऋषिको पूजापाठ गरी फर्कने क्रममा भारतीय एसएसबीले आफूसँगै ल्याएर केरकार गरेको उहाँले सुनाउनु भयो ।
नेकपा (एमाले), दार्चुलाका अध्यक्ष तथा नौगाड गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमसिंह धामी भारतीय बजार र भारतीय बाटोको प्रयोग गर्नुहुन्न् । तीन वर्षअघि चुच्चे नक्सा जारी गर्नुपर्ने र भारतले भूमि फिर्ता लिनुपर्ने अन्तर्वार्ता दिएको भन्दै उहाँलाई पौने एक घन्टा एसएसबीले केरकार गरेको थियो ।
भारतीय एसएसबीले भारत विरोधी अभिव्यक्ति दिने व्यक्तिलाई भारत आवतजावतमा निगरानी गर्ने गरेको छ । कैयौँ नेपालीले भारतीय सडक प्रयोग गर्दा उहाँहरूबाट गालिगलौज खेप्नु पर्ने अवस्था आइरहेको दीपक खाती बताउँनुहुन्छ । ‘हामीहरूको दिनहुँ हिँडडुल गर्ने बाटो भारतीय बाटो नै हो । नेपाल–भारत जोड्न महाकाली नदीमा दर्जनौँ पुल बनेका छन् तर नागरिकलाई विभिन्न बहानामा दुःख दिने काम भारतीय सुरक्षाकर्मीले गर्ने गरेका छन्,’ उहाँले भन्नु भयो । छाँगरू र तिंकर गाउँका स्थानीयहरुले आधारभूत अधिकारको समेत उपभोग गर्न नपाएको अवस्था छ ।



