INSEC Online

📅 २०८३ जेष्ठ २१

गिट्टी कुटेर आवश्यकता पुरा गर्दै दिदीबहिनी !

हिउँद सुुरू भएपछि शारदा नदी किनार यतिबेला बाक्लो हुस्सुुले भरिएको छ । नदी किनारमा ससाना गिट्टीका थुप्राहरू पनि छन् । ति थुप्राहरूमा शारदा र सरस्वती विश्वकर्माका आवश्यकताहरू थुप्रिएका छन् । दुुई दिदी बहिनीको दिन सधैँ शारदा किनाराको हुस्सुुसँगै सुुरू हुन्छ । घाम नझुल्किँदै हथौडा बोकेर उनीहरू नदी किनार पुुग्छन् । विद्यालय जाने उमेरमा उनीहरू गिट्टी कुुट्दै आफूजस्तै साथीभाइ झोलामा किताब बोकेर विद्यालय गएको हेरिरहन्छन् । चिसो मौसममा चिसै ढुङ्गामा बसेर गिट्टी कुटिरहेका उनीहरूलाई देख्दा जोकोहीले पनि कठै भन्ने गर्छन् ।

देख्ने मान्छेले भनिदिएको कठैले पनि शारदा नपा–१५ स्यालेघारीकी १२ वर्षीया शारदा विश्वकर्मा र उनकी बहिनी ११ वर्षीया सम्झना विश्वकर्माको परिवारको दैनिकी चल्दैन । हरेक बिहान झिसमिसेमै ६० वर्षीया हजुरआमा कुइरी विश्वकर्मासँगै दिदी बहिनी शारदा किनार पुग्छन् । घरका तीनै जना गिट्टी कुट्न गएपछि उनीहरूसँगै चार वर्षीय भाइ पनि चिसोमा सोही ठाउँ पुुगेर हजुरआमा र दिदीहरूलाई कुरेर बस्छन् । विश्वकर्मा परिवारका यि दुई बालिका विद्यालय जाने उमेरका भएपनि गरिबीका कारण पढ्ने लेख्ने उमेरमा गिट्टी कुटेर गुजारा चलाउन बाध्य छन् ।  ‘सधैँ पढ्न जाउँ भने हजुरआमाले मात्रै कुटेको गिट्टीले खान लाउनै पुग्दैन ।’–११ वर्षीया शारदाले भन्नुभयो–‘हामी दिदीबहिनी सधैँ विद्यालय जान पाउँदैनौँ । बिहानै उठेर बुढी हजुरआमासँग गिट्टी कुट्न र बालुवा सोहोर्न निस्कन्छौँ ।’

पाँच वर्ष पहिले आमा गुमाएका शारदा र सम्झनाले बुवाको आडभरोसा नपाएपछि दैनिकी चलाउन बालुवा र गिट्टीको सहारा लिनुपरेको हो । ‘आमा बितेपछि हामी बुवा र हजुरआमासँग बस्दै आएका छौँ ।’–दिदी शारदा बिकले भन्नुभयो–‘बुबाले धेरै रक्सी खानुहुन्छ । अरू सहारा नभएपछि हामी दुई बहिनी र चार वर्षको भाइ हजुरआमाको सहारामै छौँ ।’ ६० वर्षीया हजुरआमा कुईरी विश्वकर्मा आफ्नो भन्दा पनि नाती नातिनाको पीर लाग्ने बताउनुुहन्छ । १२ वर्ष पहिले पतिको मृत्यू भएपछि सहारा नभएको कुुईरी बताउनुुहुुन्छ ।

टाउको र हातगोडा दुख्ने समस्या भएको बताउँदै कुुईरी भन्नुुहुुन्छ–‘म एक्लै भए बरू मागेरै भएपनि खाँदी हुँ । तर, साना नातीनातिनालाई हेर्छु र मन मान्दैन । हातगोडा चल्दासम्म यिनीहरूको लागि दुखः गर्न छाड्दिन ।’ हजुरआमाले पाउने एकल महिला भत्ताले खर्च धान्न गार्‍हो हुने शारदाको भनाइ छ । नजिकैको शिव माध्यामिक विद्यालयमा कक्षा ५ मा भर्ना भएकी शारदा विदाको समयमा बालुवा निकाल्दा दैनिक ५ सय रुपियाँसम्म आम्दानी हुने बताउनु हुन्छ । ‘अस्ती भर्खरै ५ सय रुपियाँ कमाइ भएको थियो ।’–शारदाले भन्नुभयो–‘त्यसबाट आपूलाई एक जोर जुत्ता र सुुरुवाल किनेँ । बचेको पैसाले हजुरआमाले तरकारी किन्नुभयो ।’

कलम, कापी बोकेर दैनिक विद्यालय गएर पढ्ने रहर हुँदाहुँदै पनि दैनिक रूपमा विद्यालय जान नसकेको कक्षा चारमा अध्यनरत् बहिनी सम्झना विश्वकर्माले बताउनुभयो । हजुरआमासँग घरको काम गर्नुपर्ने र आयआर्जनको कुनै स्रोत नभएपछि कापी कलम र विद्यालयको पोशाक समेत किन्न नसकेकोले कति पटक त विद्यालयमा सजाय पाएको सम्झनाले बताउनुभयो । घरमा हुुँदा पनि मदिरा सेवन गरेर बस्ने बुवा गणेश विश्वकर्मा भने तीन महिना पहिले भारत गएकाले भाइलाई घरमा छोड्न नसकेको सम्झनाले बताउनुुभयो ।

शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतलाई इन्सेक जिल्ला प्रतिनिधिले विश्वकर्मा परिवारको अवस्थाबारे जानकारी गराएपछि मङ्सिर १६ गते पीडितहरूको घरमा पुुगेर अवस्था बुुझी तत्कालका लागि शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । उसो त नेपालको संविधानको धारा ३१ अनुसार शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ ।

जसमा रहेका पाँचओटा उपधारामा शिक्षालाई नागरिकको आधारभूत अधिकारको रूपमा व्यवस्था गर्दै प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने र प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य, निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भनिएको छ । सोही धारामै अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने हक हुने भनि उल्लेख गरिएको भएपनि विश्वकर्मा परिवारका बालबालिकालाई मौलिक हकका धारा र उपधाराले छुन सकेको छैन ।

हजुुरआमा कुुईरीलाई आफ्नो ज्यान कमजोर भए नाती नातिनाको अवस्था के होला ? भन्ने पीरले बढी सताउँछ । छोराले व्यवहार नसम्हाल्दा बुढेसकालका सहारा खोज्नुुपर्ने समयमा उहाँ आफैँ तीनजना नाती नातिनाको सहारा बन्नुुभएको छ । उसो त सम्झन लायक विगत हिजो पनि थिएन र भविष्य पनि उस्तै अन्यौलताले घेरिएको छ । आँखाभरि आँशु पारेर कुुईरी भन्नुुहुन्छ–‘मेरो जीवन त दुःखैदुःखमा बितिगो, मेरा नाती नातिनाको जीवन मेरो जस्तो नहोस् ।’

Photo20191204Salyan

अन्य

भिडियो