कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरमा जेठ १४ गते झडप भएको छ ।

झडपमा परी ३० जना प्रहरी, २० जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३० राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्याँस प्रहार गरेको छ ।
कोशी प्रदेशसभा नजिक देवकोटामा चोकमा भएको झडपमा ३० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताउनु भयो । घाइते प्रहरीको विवरण गोप्य राखिएको छ ।
झडपमा २० जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेमा गणेश मिभक मिक्लाजुङ ,मोरङ, नरेन्द्र लिम्बू कमल, झापा ,भवानीबिक्रम शेर्मा शिबसताशी, झापा, सोनाहाङ राई बिर्तामोड, झापा, असोक घिमिरे दमक, झापा, बिकेश राई चुलाचुली, इलाम, प्रकाश लिम्बू ,इलाम, सामी पालुङ्वा अर्जुनधारा ,झापा, चन्द्रकुमार राई धरान, सुनसरी, सन्जय राइ, खोटाङ, किरण लिङदेन, झापा, चन्द्र सावा, अर्जुनधारा ,झापा, मन कुमार थेगिम माइनपा इलाम, योगेन्द्र पाक्सावा छथर ,तेह्रथुम, खडक योङहाङ महमाइ, इलाम, भिमराज लिम्बू म्याङलुङ ,तेह्रथुम, प्रदीप नेयोङ धरान, सुनसरी ,अर्जुन राई, सुनसरी सन्जयकुमार राई सुनसरी र उपार्जन राई, सुनसरी रहेका छन् । घाइते प्रहरी र आन्दोलनकारीको कोशी अस्पतालमा उपचार गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते बोलाएपछि आन्दोलनकारीले प्रदेशसभा भवन अघि विरोधको कार्यक्रम राखेका थिए ।
प्रदेशसभा भवन नजिक प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो ।
भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो ।
कोशी प्रदेशसभाले ०७९ फागुन १७ गतेको प्रदेशसभाको बैठकले कोशी प्रदेश नामकरण गरेको छ ।





















फोटो सौजन्य- अनिल श्रेष्ठ र विनोद सुवेदी