देख्नेले झट्ट कारागारलाई कारागार भन्दैनन् । किनकी कुनै न कुनै काममा हरेक कैदीबन्दी व्यस्त छन् । उद्योगमा जस्तै मेसिन र मान्छेले सँगै काम गरिरहेका छन् । पुरानो जीर्ण घरमा कैदीबन्दीहरू अप्ठयारो गरेर बसेका छन् । तर, काममा रमाएका छन् । महिना मर्ने बित्तिकै काम अनुसारको पैसा हातमा आउँदा आफू र परिवार राम्रोसँग पालेका थुप्रै कैदीबन्दी छन् । कारागारमा सबैले काम गर्नैपर्ने बाध्यता छ । कारागारबाट घर फर्किँदा काम र दाम लिएर फर्किने हुटहुटी सबैले बोकेका छन् । त्यसैले ५७ वर्ष पुरानो भवनभित्र १ सय ९ जनाको काम र भावना मिलेको छ । जुन कारागारबाट वार्षिक ६ करोड बढीका सामग्रीको उत्पादन र बिक्री वितरण भइरहेको छ ।

कारागारमा महिला कैदीबन्दीको सङ्ख्या थोरै छ । उनीहरू पुरुष कैदीबन्दीसँगै काम गर्न पाउँदैनन् । त्यसैले कमाई पनि समान छैन । कारागारमा पुरुष कैदीबन्दीले न्यूनतम सात हजारदेखि ४५ हजारसम्म कमाउँदै आएका छन् । आफूले बाहिर पनि काष्ठकलाकै काम गरेर ३० वर्ष बिताएकाले कारागारमा पनि राम्रै कमाई रहेको एक कैदीले बताउनु भयो । उहाँले मासिक ४५ हजार रुपियाँ कमाउँदै आउनुभएको छ । उहाँले समय कटाउन र घरखर्च व्यावस्थापन गर्न रकम खर्च भइरहेको बताउनु भयो । सबैभन्दा धेरै काष्ठकला र फर्निचरको काम गर्ने कैदीबन्दीहरूका कमाई छ । त्यसपछि घरेलु हस्तकलाको काम गर्नेहरूले कमाउँछन् । कारागारका लेखापाल उमेश अर्यालका अनुसार कारागारमा ३० जनाभन्दा बढी काठको काम गर्ने र ४१ जना कैदीबन्दीले मुढाको काम गर्छन् । कारागारमा बाँसको सिन्का चिर्ने, बुट्टा उठाउने, भर्ने सामान्य कामको पनि न्यूनतम मासिक ७ हजार रुपियाँ कमाई रहेको अर्यालले बताउनु भयो ।
कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचरको काम सुरु भएको हो । कारागारमा सबैभन्दा बढी मुल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मुल्य आठ लाख रहेको छ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेवलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गरिन्छ ।
काष्ठकलाका सामग्री व्यक्तिगत साथै सरकारी कार्यालय र मठमन्दिरहरूमा समेत प्रयोग भइरहेका छन् । अर्जुन भगवती मन्दिर, श्रृङ्गेश्वर धामका मन्दिर, सिद्धबाबा मावि, अर्खले सभाहरूमा कारागारका काष्ठकला तथा फर्निचरका सामग्री प्रयोग भइरहेका छन् । अरु फर्निचर उद्योगमा भन्दा सामग्री राम्रो र सस्तो भएका कारण आफूहरूले कारागारकै सामग्री प्रयोग गर्ने गरेको रेसुंगा नगरपालिका–७ का कृष्ण पन्थीले बताउनु भयो । उहाँले बाहिर बजारमा १२ हजार पर्ने र्याक आफूले आठ हजारमा कारागारबाट ल्याएको बताउनु भयो । त्यो मात्रै नभएर रेसुंगा नगरपालिकाले कारागारकै कैदीबन्दीको सीप प्रयोग गरेर फल्चा निर्माण गर्दैछ । उनीहरूले काठको सबै काम गरिरहेका छन् । चैत महिनाभित्र नगरलाई बुझाउने गरेर करिव १० लाखको फल्चाको काठको काम गरिरहेको चौकीदार हरि बहादुर थापाले बताउनु भयो ।
गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसका मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । मुढाको माग धेरै छ । बजार माग अनुसार आपूर्ति गर्न नसकिएको कारागार प्रशासनले जनाएको छ । काष्ठकला फर्निचर र मुढाका सामग्री जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको छ । त्यो बाहेक महिला कैदीबन्दीले बर्षौदेखि घरेलु हस्तकलाका सामग्री सल, टोपी, सुटपाइन्ट, सुइटर लगायतका सामग्री निर्माण गर्ने गरेका छन् । उनीहरूका सामग्री पोखरा, पाल्पा, काठमाडौँ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोशेलीको रूपमा पुग्ने गरेका छन् ।
कारागारमा कृषि क्षेत्रमा समेत काम भइरहेको छ । त्यहाँ उत्पादन गोपी, ब्रोकाउली, साग र प्याजका बिरुवाले समेत सिजनमा साढे दुई लाखको कारोवार हुने गरेको छ । कारागारका चौकीदार हरि थापाका अनुसार वार्षिक रूपमा काष्ठकला र फर्निसिङ्गका सामग्रीबाट वार्षिक दुई करोड, मुढाबाट एक करोड २० लाख, घरेलु हस्तकलाका सामग्रीबाट साढे चार लाख र कृषि क्षेत्रबाट साढे दुई लाख गरेर न्यूनतम ३ करोड २६ लाख, ५० हजार रुपियाँ बराबरको कारोबार हुने गरेको छ ।
गत वर्ष ६ करोडको कारोबार भएको थापाले जानकारी दिनुभयो । कारागारमा नौ ओटा विभाग छन् । सबैका जिम्मेवारी तोकिएको छ । आफ्नो काम अनुसारको पारिश्रमिक भनेकै समयमा आउँछ । सबैलाई सिसि क्यामेराकै निगरानीको आधारमा काममा लगाउने चौकीदार थापाले बताउनु भयो । ‘घर फर्किने बेला सीपसंगै लगानी पनि हुन्छ । केही गरेर खाने उमेरकालाई बाँच्ने सीप दिलाएका छौ । न्यूनतम सात हजार कमाई हुने भएकाले बचत गरे लगानी पनि जुट्छ’ – थापाले भन्नुभयो ।
गुल्मी कारागारमा पछिल्लो समय थुप्रै सुधारका कामहरू भएका छन् । खानेपानी सङ्कट भएर प्यास मेटाउन मुस्किल पर्थ्यो । सुत्ने ठाउँ नभएर पालो गरेर निदाउने अवस्था पनि रह्यो । तर, कारागारमै फर्निचरको काम हुन थालेपछि अहिले त्रिपल डेकर निर्माण गरेर सुत्न सहज भएको छ भने दुई ओटा मिटर जोडेर सहज बनाइएको गुल्मी कारागारका प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो । उहाँका अनुसार कार्यालयका आवासीय संरचना र खेल मैदान पनि व्यावस्थापन भएको छ । कारागारलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न थालिएको भए पनि कारगारको जग्गा र संरचना अभावमा समस्या भएको जेलर पन्थीको भनाइ छ । कारागारको भवनको लागि जिल्लाका सवै सरोकारवाला र केन्द्रसम्म जानकारी भएकाले केहि न केही निकास निस्कनेमा आफूहरू आशावादी रहेको पन्थीले बताउनु भयो ।







