विमलकुमार अधिकारी
केहीबेर अघि गोली चलेको ठाउँमा दिव्या पुगिन् । भाइ रूपलालको एकातिरको बङ्गारा बाहिर निस्केको, गाला च्यातिएर गोली छिरेको, दायाँ हातको कान्छी औंला छिनेर उफ्रिरहेको देखिन् । दश ठाउँमा गोली लागेको रूपलालको जिउबाट भलभलती रगत बगिरहेको थियो । नजिकै आफ्नो अर्को भाइ रामुसहित दश जनाको लास पल्टिएको थियो । उनले निकै साहस र धैरयताका साथ भाइसँग सोधिन् ” भाइ, के बोलेका थियौ तिमीहरूले सेनासँग -“
मुखबाट रगत बान्ता गर्दै रूपलालले जबाफ दिए” हामीले केही पनि भनेका थिएनौँ दिदी ।” केही क्षण सन्नाटा छायो । तुरुन्तै उनकी पत्नी सुस्मिता आइपुगिन् । दिव्याले बुहारीलाई देखाउदै सोधिन्” भाई त्यो को हो -रूपलालले सकिनसकी जबाफ दिए “तिम्री बुहारी ।” एक्काशी दिव्यालाई भाइको उपचार गराएर बचाउने बुद्धि आयो । बुहारीसँग सल्लाह गरी गाउँमा खटउली खोज्न हिँडिन् ।
०५८ मङसिर १३ गते त्रिभुवन नगरपालिका -३ बर्गदीमा धान दाइ गरिरहेका सोही ठाउँका किसानहरू ३४ वर्षीय खुशीराम चौधरी, ३५ वर्षीय आशाराम चौधरी, ४० वर्षीय सितलाल चौधरी, ४५ वर्षीय जोगी चौधरी, २० वर्षीय जगमान चौधरी, ५५ वर्षीय प्रसाद चौधरी, ३० वर्षीय कृष्ण चौधरी, ५० वर्षीय सोमलाल चौधरी, २८ वर्षीय रिसमान चौधरी, ३० वर्षीय रामु चौधरी र ३५ वर्षीय रूपलाल चौधरीलाई घोराही ब्यारेकबाट गएको सेनाले गोली हानी हत्या गरेको थियो । सोही वर्षमाओवादीहरूले त्रिकुर लगाउने भनेका भरमा जग्गा धनीले सुराकी लगाई सेनालाई बोलाएर हत्या गर्न लगाएको पीडित परिवारहरूको दावी छ । सशस्त्र विद्रोह गरिरहेको माओवादीले सरकारसँगको दोश्रो वार्ता भङग गरेर दाङ सदरमुकाममा भिषण आक्रमण गरेपछि सरकारले देशभर सङकटकाल लागु गरेर सेना परिचालन गरेको पहिलो हप्तामा घटेको अत्यन्त क्रुर र अमानवीय प्रसङ्ग थियो यो ।
सबैलाई घोप्टो पर्न भनियो । ११ जना खलियानमै घोप्टो पर । ठागुराम जमिन्दारको घर भित्रैबाट भागिसकेका थिए । एउटा सैनिकले एक हवाईफायर गर्यो । दुई मिनेटपछि परर, परर, परर चलेको गोलीको आवाजले पूरा गाउँ थर्कियो । पाँच मिनेटपछि गोली चल्न छोड्यो । एउटा गाडीमा आठ दश जनाको सङख्यामा रहेको सैनिक टोली घोराहीतिर फर्कियो ।गाउँ आतङको पोखरीमा डुबुल्की मार्न बाध्य भयो । गाउँलेहरू दिउँसै ढोका लगाएर घरभित्र लुकिरहेका थिए । दिउसो ३ बजेको समय थियो । विद्यालयबाट घर फर्केका विद्यार्थीहरू आफ्ना अभिभावकलाई अनाहकमा गुमाएको, निर्दोषलाई मारेकोमा रुँदै घरतिर खबर गरिरहेका थिए । गाउँलेहरू जम्मा भए । रूपलाललाई औषधि गर्नेमा मतमतान्तर भयो । फेरी पनि गोली हानेर गाउँलेलाई मार्छ भन्ने डरले कसैले पनि अगाडि बढ्ने हिम्मत गरेन । आतङक र त्रासले मानवतालाई निलिसकेको थियो ।
साँझको ५ बजे पुन १०, १२बटा सेनाका १०-१२ बट गाडीहरू फेरी गाउँमा आउन लागेको देखेर गाउलेहरू सबै भागाभाग गरेर आ-आफ्नो घरतिर दौडे । चारैतिरबाट गाउलाई सेनाले घेरा हालिसकेको थियो । सेनाहरू लास भएको ठाउँतिर लागे । उपचारको आशा गरेर अर्धमृत अवस्थामा रहेका रूपलाल यी सबै हेरिरहेका थिए । एउटा सैनिकले रूपलालतिर हेर्दै भन्यो “यो त अझै बाँचिरहेको रहेछ ।” अर्कोले गोली हान्न आदेश दियो । आदेश सकिन नपाउँदै ड्याम्म बन्दुक पड्केको आवाज आयो । गाउँलेहरूले रूपलाल लाई मारेको अडकल गरे । एउटा खाली ट्रकमा एक एक गर्दै सबै लास लिएर सेना घोराहीतिर फर्कियो ।
नेकपा माओवादीले ०५८ साल मङ्सिर ८ गते घोराहीमा गरेको आक्रमणपछि तत्कालीन शाही ने्पाली सेनाले बर्बर हत्याको शुरुवात गरेको थियो यो घटनाबाट । माओवादीहरूको किसानहरूलाई आफूतिर आर्कषित र सङ्गठित गर्न फैलाइएको त्रिकुर प्रथाको कारण सो घटना भएको थियो । सो घटनाका मृतकहरुका परिवारजनलाई न त अहिलेसम्म राज्यले हेरेको छ नत कतैबाट सहयोग नै मिलेको छ ।
मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनीहरूका आर्थिक, सामाजिक लगायतका कारणवाट पछि परेका छन् । सोही घटनामा मारिएका खुशीरामकी पत्नी भौनी भन्छिन् “खेतिपाति अधिया लगाएर जीविका चलाइरहेका थियौँ । जुन वर्ष यो दुखद घटना भयो त्यसै वर्षहामी घरबाट छुट्टिएका थियौँ । मेरो लोग्ने चार भाइ हुनुहुन्थ्यो । जेठो उहाँ र कान्छा जगमान त्यही घटनामा पर्नुभयो। मेरा एक छोरा एक छोरी छन् । जेनतेन गरेर गुजारा गरिरहेको छौँ । हामीहरूसँग जग्गा जमिन छैन् ।कतैबाट सहयोगसमेत पाइएन । निर्दोषहरूको हत्या गर्नेलाई कहिले कारबाही हुने हो- हामीले त दुख पायौँ पायौँ । तर हाम्रा छोराछोरीलाई दुख दिनु भएन । उनीहरूको लागि राज्यले सोचिदिनु पर्यो । माओवादीका कार्यकर्ता परे भने उनहरूले तत्काल क्षतिपूर्ति पाइहाल्छन् । हामी निर्दोषमाथि किन यत्रो अन्याय-“
मंसिर १७ गते बिहान १० बजे बर्गदी गाउँको पश्चिम पिपल रुखतल कटही गाउँको सिरान खोल्सामा गाउलेहरू एघारओटा खाल्टा खनिरहेका थिए । नगरपालिकाको टिपर दौडदै आयो । पालै पालो लासहरू भिकियो । किरैकिरा परेका गन्हाउने लासहरू गाउलेहरूले लहरै राखे। आफन्त रुँदै थिए। साना बालबालिकालगायत मृतकहरूका पत्नीहरू लासहरूमाथि घोप्टिएर अङ्कमाल गरिरहेका थिए । उनीहरू सबैको एउटै प्रश्न थियो-हाम्रा आफन्तलाई कुन अपराधको लागि यत्रो सजाय दिइएको हो -तर उनीहरूको यो प्रश्नको उत्तर सशस्त्र द्वन्द्वको अन्त भएको दुइवर्षबितिसक्दा पनि न राज्यले दिएको छ न त माओवादीले नै कुनै चासो देखाएको छ ।