वरिपरि अग्ला अग्ला पर्खाल त्यहिमाथि काँडेतार । चिसोमा मुटु काँप्दै, गर्मीमा लथरम्म पसिनाले शरीरपुरै भिजेको । यो दृश्य चार दिवालभित्रको पक्की भवनको महिला बन्दी गृह हो । सुर्खेत कारागारमा ३३ वर्षीया आमा शान्ति विकसँगै साढे चार वर्षीया निर्दोष छाेरी कैद सजाय भोगीरहेकी छिन् ।
भेरीगंगा नगरपालिका–१३ की शान्ति बहुविवाह मुद्दामा कारागार चलान हुनुभएको हो । उहाँलाई अदालतले बहुविवाहको कसुरमा तीन वर्ष कैद सजाय फैसला गरेको छ । घरमा बालिकाको हेरचाह गर्ने कोही नभएपछि शिशु कक्षा पढ्ने छोरीलाई आफूसँगै राख्न बाध्य भएको शान्तिले बताउनुभयो ।
‘ घरमा छोरीलाई रेखदेख गर्ने कोही छैन । त्यहि भएर पढाइ छुटाएर भएपनि यहाँ राख्न बाध्य भएकी छु । मैले अपराध गरेपछि यो निर्दोष छोरीले पनि बिना अपराध सजाय भोगिरहेकी छ । छोरीको पढाइ छुटेकोप्रति आफूलाई चिन्ता लाग्ने गरेको ’ उहाँले सुनाउनुभयो ।
सुर्खेतकै अनु बुढाकी पाँच वर्षीया छोरी जिज्ञासा बुढा पनि कारागारमा आमासँगै छिन् । बुढा चार वर्षअघि कर्तव्य ज्यानमा कारागार चलान हुनुभएको थियो । घरमा हेरचाह गर्ने कोही नभएपछि छोरीलाई आफूसँगै राख्न बाध्य भएको उहाँले सुनाउनु भयो ।
यसलाई हेरचाह गर्ने घरमा पनि कोही छैन । अहिले पाँच वर्षकी भइसकिन् । गाउँमा त एक /दुई कक्षा पढ्ने बेला पनि भइसक्यो । कहिलेकाहिं त आफुले गरेको गल्तीमा छोरीलाई पनि सजाए दिए जस्तो लाग्छ । बाहिर भए त समुदायको वातावरणमा पढ्ने लेख्ने गर्थिन् होला । तर अहिले छोरीलाई पनि आफूसँग जेलमा राख्नु परेकोले दुख लागेको बताउनुभयो ।
त्यस्तै गरी गुर्भाकोट नगरपालिका–६ की २८ वर्षीय रुपा विककी साढे दुई वर्षकी छारी पनि विगत ९ महिनादेखि आमासँगै कारागारमा बस्न बाध्य छिन् । बहुविवाह मुद्दामा कारागारमा बसेकी उहाँको घरमा पनि हेरचाह गर्ने कोही व्यक्ति नहुँदा आफूसँगै राख्न बाध्य भएको उहाँ बताउनुहुन्छ । सुर्खेत कारागारमा ६ महिने बालिका र ९ महिने बालक गरी पाँच जनाले आमासँगै आश्रय लिइरहेका छन् ।
विद्यालय जाने उमेर समूहका बालबालिका शिक्षाबाट बञ्चित भएको भन्दै उनीहरुलाई पढ्न र लेख्न सहज वातावरण मिलाइदिन आमाहरुले अनुरोध गरेका छन् । यता कारागार व्यवस्था कार्यालय सुर्खेतकी प्रशासक लक्ष्मी खरेलले बालबालिकाको शिक्षाको लागि सरकारी तहबाट केही व्यवस्था नभएपनि अनौपचारिक रुपमा भित्र नै सिकाइ गरिरहेको दावी गर्नुभयो ।
‘उनीहरुको पढाइ, लेखाइ बारे माथिबाट त्यस्तो निर्णय त केही भएको छैन । तर, हामीले भित्र नै पढेलेखेका दिदीबहिनीहरुबाट उनीहरुलाई सिकाइका लागि मौखिक रुपमा सहजीकरण गरेका छौं,’प्रशासक खरेलले भन्नुभयो, ‘सजिलो उपाय भनेको उहाँहरुको परिवारले जिम्मेवारी लिनुपर्ने हो । त्यसो नहुँदा बालबालिका भित्र बस्न बाध्य भएका छन् ।’
सुर्खेत मात्रै होइन, कर्णालीका अन्य कारागारमा पनि बालबालिकाले आमासँगै आश्रय लिइरहेका छन् । सल्यानमा १५ महिनाकी बालिका, रुकुम पश्चिममा १८ महिनाका बालक, जुम्लामा एक वर्षीया बालिका र कालिकोटमा चार वर्षीय बालकले आमासँगै कारागारमा आश्रय लिइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सुर्खेत, सल्यान, रुकुमपश्चिम, जुम्ला र कालिकोट गरी पाँच जिल्लामा नाै जना बालबालिका छन । हुम्ला र मुगुमा कारागार छैनन् । त्यहाँका कैदीबन्दीलाई जुम्ला, नेपालगञ्ज र सुर्खेत ल्याइन्छ । दैलेख, जाजरकोट र डोल्पा कारगारमा आमासँग बालबालिका नभएको प्रवक्ता भट्टराईले बताउनुभयो ।
इन्सेकको तथ्याङ्क अनुसार गत वर्षको पुससम्म कर्णालीमा १० जना बालबालिकाले आमासँगै कारागारमा आश्रय लिइरहेका थिए ।
‘सानो उमेरका बालबालिका त आमासँगै बस्नुपर्ने बाध्यता छ । तर, चार/पाँच वर्षका बालबालिकालाई सबै सेवासुविधाबाट बञ्चित गरेर कारागार राख्नु राम्रो होइन । ’ बाल अधिकारकर्मी पवित्रा शाहीले भन्नुभयो ।
आमाले अपराध गरेपनि बच्चाको त के दोष ? कारागारमा शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता कुराबाट बञ्चित हुन्छन् । जसले उनीहरुको सर्वाङ्गीण विकासमा नकरात्मक असर पर्छ । उनीहरुको अधिकारलाई सुनिश्चित गर्न परिवार र सरकारले सोच्नुपर्ने अधिकारकर्मी शाहीको भनाइ छ ।
नेपालको संविधान २०७२ को धारा ३९ अनुसार बालबालिकाको हक र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार उनीहरुको अधिकार सुनिश्चित गर्न आवश्यक रहेको अधिवक्ता गिता कोइरालाले बताउनुभयो ।
नेपालको संविधान र बालबालिकासम्बन्धी ऐनमा व्यवस्था भए अनुसारका हकअधिकार सुनिश्चितता गर्न सरकार र परिवारको त्यतिकै महत्वपुर्ण भूमिका रहन्छ । आमासँगै बस्न पाउने भनेर ऐनमा उल्लेख गरिएता पनि वातावरण र स्थान अनुसार उनीहरुको बृद्धिविकासले प्रभाव पर्छ । त्यसैले कारागारमा बालबालिका राख्नु त्यति प्रभावकारी मानिदैन । अधिवक्ता कोइरालाले भन्नुभयो ।
कारागारभित्रै सिप सिक्दै कैदीबन्दीहरु
जिल्ला कारागार सुर्खेतमा रहेका महिला कैदीबन्दीहरुले सिप सिकेर स्वरोजगार बन्ने योजना बनाएका छन् ।
नेपाल नाजरेत सोसाइटीको सहयोग र नवज्योति केन्द्र सुर्खेतको आयोजनामा उनीहरुलाई तीन महिने ‘ब्युटिसियन’ तालिमको सुरुवात गरिएको छ । यही भदौ १२ गतेबाट तालिम दिन सुरु गरिएको छ । कारागारभित्र सिकेको सिपलाई बाहिर गएपछि समुदायमा सदुपयोग गरेर जिविकोपार्जन गर्ने योजना रहेको सितल बादीले बताउनुभयो । उहाँ ६ महिने बालिकाकी आमा हुनुहुन्छ ।
विभिन्न बाध्यता, परिस्थिति र परिबन्धका कारण हामी अपराधिक गतिविधिमा संलग्नता भयौं । तर, समाजले हामीलाई सधै अपराधिक नै सोच राख्छ । यहाँबाट ब्युटिपार्लरको सिप सिकेर समुदायमा गएर स्वरोजगार बन्ने योजना छ । उहाँले भन्नुभयो ।
सिपमूलक तालिमले कैद सजाय काटिसकेपछि घर फर्किएर व्यवसाय सञ्चालन गर्ने सोच रहेको गुर्भाकोट –५ कि मनिषा विकले बताउनुभयो । उहाँ पनि ९ महिने बालककी आमा हुनुहुन्छ । बहुविवाहको मुद्दामा कारागारमा कैद सजाय भोगिरहेकी उहाँ सिप सिकेर मानसिकरुपमा समेत फाइदा पुगेको बताउनुहुन्छ ।
करागारमा जम्मा ४१ जना महिला कैदी र थुनुवा रहेकोमा पहिलो चरणमा ११ जनालाई पछि चरणबद्ध रुपमा सबैलाई तालिम दिइने आयोजक संस्था नवज्योति केन्द्र सुर्खेतकी निर्देशक सिस्टर रोसिटाले बताउनुभयो ।
तीन महिनासम्म प्रशिक्षक रितु परियारले प्रशिक्षण दिनेछिन् । उक्त तालिमबाट फेसियल, क्लिजेल, भ्रेडिङ, क्लेजिङ, कपाल स्टेट, म्यानिकेयर (मसाज), पेनिकेयर, टाउको मसाज, ट्रिटमेण्ट, दुलही सिङ्गार , हेयर कटिङ्ग, मेहन्दी र कपाल हाइलाइट्ससम्बन्धी सिपहरु सिक्नेछन् ।

