उमेर ७२ वर्ष । बुढ्यौली हात अहिले पनि आरनमै अभ्यस्त । १० वर्षको उमेरमा समातेको आरन अहिले पनि उहाँका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधनका रुपमा परिचित छ । बुढ्यौलीले ढाकेपनि उहाँ निरन्तर खलाँतीको हावाले आगो सल्काउँदै फलाम तताउने दैनिकी छाड्न सक्नुहुन्न । धनकुटा नगरपालिका–२ भीरगाउँका ७२ वर्षीय महेन्द्रबहादुर बिक ६२ वर्षदेखि खलाँती फुकेर परिवारको हातमुख जोड्ने काममा व्यस्त हुनुहुन्छ । ‘यही खलाँती फुकेर १० वर्षको उमेरदेखि काम गर्दै आएको आएको छु ।’–उहाँले भन्नुभयो–‘सास रहेसम्म यही आरन मेरो हातमुख जोड्ने साधन हो । आरन चलाउन छाड्दा मेरो सास पनि रोकिन्छ होला ।’
आरन चलाउने काम महेन्द्रबहादुुर बिकको परिवार पाल्ने पुख्र्यौली पेसा नै हो । उहाँका बाबुबाजेले पनि यही पेसाबाट परिवार पालेका थिए । अहिलेको विकशित समयमा पनि उही पुरानै बालीघरे प्रथाकै भरमा उहाँको पेसा चलेको छ । बालीघरे प्रथाका कारण श्रमिकहरू मर्कामा परे भनेर यसलाई रोक्न ठुलाठुला आन्दोलन भए । सम्झौता भए । तर, उहाँलाई त्यसको अत्तोपत्तो छैन । उहाँ त्यस्ता कुरामा वास्ता पनि गर्नुहुन्न । ‘अरुले बालीघरे छाडे । तर, मेरो परिवार पाल्ने पेसा नै यही हो । बाँचुञ्जेल छाड्दिन ।’ उहाँले भन्नुभयो–‘म बालीघरेबाट सन्तुष्ट छु । अरुको कुरा जान्दिनँ ।’ महेन्द्रबहादुरले अहिले पनि एक घरबाट वार्षिक पाँच पाथीदेखि १० पाथीसम्म अन्न उठाउँदै आउनु भएको छ । यसरी उठाएको अन्नले उहाँले वार्षिक रूपमा घर खर्च चलाएको बताउनु हुन्छ । बालीघरे प्रथाका पक्षमा महेन्द्रबहादुर अहिले मात्रै होइन आफूले यो पेसा अँगालेदेखि नै रहेको बताउनु हुन्छ । बाबुले काम गर्न नसकेपछि १० वर्षदेखि नै आरन चलाउन थालेको उहाँको भनाइ छ । फलाम पिटेर खुकुरी, हँसिया, बन्चरो, कोदाली, फाली बनाएरै उहाँले घर खर्च चलाउन थाल्नु भएको हो । आरन चलाउँदै गर्दा उहाँलाई विदेश जाने सोच आएको भएपनि यो पेसा छोडेर जान नसकेको उहाँको भनाइ छ । आफूले जानेको पेसा विदेशमा गर्न नपाइने भएर उहाँलाई विदेश जाने मन हराएको हो । ‘विदेश नगएपछि आरन चलाउन छाडिनँ ।’–उहाँले भन्नुभयो–‘अरु काम गर्दा कमाइ नभएपछि आरन चलाउँदा सोचेभन्दा बढी कमाइ भएको छ ।’
उहाँले धनकुटा नगरपालिकाको वडा २, ३, ४, ५, का झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाएको बताउनु हुन्छ । त्यसरी बालीघरे प्रथाका आधारमा आरान चलाउँदा उहाँले २० देखि ३० मुरी अन्न उठाउने गरेको बताउनु हुन्छ । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिनभन्दा बढी समय लगाउनु पर्छ । कतिघरमा त वर्षमा एक दिन पुग्न पनि मुस्किल भएको उहाँको भनाइ छ । अन्न उठाउन तीन छोरा र एक छोरीसहितको परिवारले पाँच वर्ष अघिसम्म साथ दिएको भएपनि अहिले छोरी विवाह भएर गएको र छोराहरु विदेश गएपछि आफैँले गर्दै आउनु भएको छ । ‘परिवारका सबै सदस्यले साथ दिएका बेला परिवार पाल्न एक गेडो अन्न किनिनँ ।’–उहाँले भन्नुभयो । हुनेखाने परिवारको लुगा सिलाएको र फलामका सामान बनाएको ज्याला नपाउने चलन अझैसम्म छँदैछ । कपडाको काम गर्नेहरू दसैँतिहार, माघे, साउने संक्रान्ति र विवाह, ब्रतबन्धमा काम गर्ने घरबाट पाउने ‘खसीको पुच्छर’ र फलामको काम गर्नेहरू ‘खसीको गर्धन’मा चित्त बुझाइरहेका छन् ।
धनकुटा नगरपालिकाले अरुलाई आगो सल्काउन आरन चलाउने मेसिन दिएपनि आफूलाई नदिएको गुनासो महेन्द्रबहादुरले गर्नुभयो । धनकुटा नगरपालिकाले भने आरनलगायत तामाका भाँडाकुँडा बनाउन गाउँमा उद्योग ग्राम खोल्ने योजना बनाएको छ । एकै ठाउँमा सबै उद्यमीलाई राखेर नगरपालिकाले उद्योगका लागि घर र सामग्री दिने उद्देश्य राखेको नगरप्रमुख चिन्तन तामाङले बताउनु भयो । ‘घरेलु हतियार उद्योग बनाउने गरि उद्योग ग्रामको अवधारणा बनाएका छै ।’–उहाँले भन्नुभयो–‘अब कसैले सहयोग पाइनँ भन्ने अवस्था नै आउँदैन । चाहे जति सहयोग र सामग्री उपलब्ध गराउन बजेट व्यवस्थापन गरेका छौँ ।’
२०६८ सालको जनगणना अनुसार धनकुटा जिल्लामा कुल जनसङ्ख्याको झण्डै १३ प्रतिशत दलित रहेको तथ्याङ्क छ । केही हुने र टाठाबाठा त सदरमुकाम र ग्रामीण बजारहरूमा पसल थापेर बसेका छन् । तर, अधिकांश दलितहरू बालिघरे प्रथामै काम गरिरहेका छन् । उनीहरूलाई श्रमको ज्याला नपाएको पनि थाहा छ, तर उनीहरू न आफू बालीघरे प्रथाको विरोध गर्न सक्छन्, न त कसैले उनीहरुको पक्षमा बोली नै दिएको छ । दलितकै नारालाई अघि बढाएर सदनदेखि सत्तासम्म पुग्नेहरूले पनि दलितलाई काम गरे अनुरुपको ज्याला दिलाउन पहल नगरेको धनकुटाकी दलित अधिकारकर्मी सरिता बराइलीको टिप्पणी छ । दलित सीप विकास केन्द्र धनकुटाकी अध्यक्ष कोपीला शङ्कर आफ्नो हक अधिकारका लागि आफू स्वयम् जागरुक हुनुपर्ने बताउनु हुन्छ । ‘बालिघरे सदियौँदेखि दलितहरूमाथिको दास प्रथा हो ।’–शङ्करले भन्नुभयो–‘दलितका वैज्ञानिक कामलाई पुरै अवमुल्यन गरिएको छ । काम अनुसारको दाम छैन ।’