INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँकेमा आगलागी : पाँच घर जलेर नष्ट, लाखौँको क्षति

डुडुवा गाउँपालिका–२, रामनगर पाझामा दिउँसो अचानक भएको आगलागीबाट पाँच घरपरिवार प्रभावित भएका छन्। चैत २ गते करिब दिउँसो ३ बजे लागेको आगोले पाँच वटा घर जलेर नष्ट भएका छन्।

आगलागीबाट घर, भान्सा, पशुगोठ, सुन–चाँदीका गहना तथा नगदसहित लाखौँ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। प्रहरीका अनुसार बाबादीन गोडियाको घरबाट सुरु भएको आगो बाबादीन गोडिया, सावितराम गोडिया, बाँकेलाल यादव, लल्लन यादव र राम बक्स गोडियाका घरमा फैलिएको थियो। घटनामा चार वटा घर र तीन वटा पशुगोठ पूर्णरूपमा तथा एक घर आंशिक रूपमा क्षति भएको छ भने करिब ५ लाख रुपैयाँ नगदसमेत जलेको बताइएको छ।

 आगलागीका कारण स्थानीय विद्यार्थीहरूको पढाइमा समेत असर परेको स्थानीय जैसराम गोडियाले जानकारी दिनुभयो । उहाँको अनुसार परीक्षा नजिकिएको समयमा आगलागी हुँदा थप समस्या भएको हो।

दिउँसोको समय भएकाले स्थानीय किसानहरू घरमै रहेको र प्रारम्भिक रूपमा पम्पिङसेटको प्रयोग गरी आगो निभाउने प्रयास गरिएको थियो। पछि नेपाल प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय राममिलन धोवीले बताए।

वडाध्यक्ष दुर्गा प्रसाद वर्माका अनुसार नेपाल प्रहरी, दमकल र स्थानीयको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको हो। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीसहितको टोली घटनास्थल पुगेर पीडितलाई राहत उपलब्ध गराउने र थप सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने तयारी गरिएको जनाएको छ।

ध्रुब राज शर्मा

अन्य

भिडियो