दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर- ८ दोर्पा दोवेला आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी दाहालले आफूलाई नगरपालिकाका मेयर दीपनारायण रिजालले राजनीतिक प्रतिसोधका आधारमा तलवबाट बञ्चित गराएको गुनासो गरेकी छन् । आधारभूत विद्यालयको शिक्षक पदपूर्तिका लागि तत्कालिन जिल्ला शिक्षा कार्यालयले मिति ०७४ साल भदौ १० लिएको छनौट परिक्षामा उत्तीर्ण भएकी लक्ष्मीलाई भदौं १४ गतेको विव्यस समितिको बैठकलले नियूक्ति दिईएको थियो ।
भदौं १४ गतेदेखि विद्यालयमा हाजिर भएकी उनलाई नगरपालिकाले प्रकृया पूरा नगरी शिक्षक छनौट गरेको भन्दै तलबबाट बञ्चित गराएको छ । आफुलाई तलब के कारणले नदिएको भन्दै नगरपालिकाका मेयर रिजाललाई बुझदा शिक्षकको लिष्टमा नरहेको प्रतिक्रिया रिजालले दिएको पीडित लक्ष्मीले बताईन् । उनले भनिन, “राजनीतिक प्रतिसोधका आधारमा मैले पाउँनुपर्ने तलबबाट बञ्चित गराईएको हो, म परीक्षामा सामेल भएर आफ्नो योग्यता अनुसार सबै प्रक्रिया पूरा गरेर विद्यालयमा हाजिर भएको हुँ, तर राजनीतिक कुराबाट मलाई शिक्षक हैन भन्दै तलवबाट बञ्चित गराईएको छ ।” तलवबाट बञ्चित गर्नेलाई उच्च अदालत ओखलढुङ्गामा पीडितले उजुरी हालेकी छन् । उजुरीमा विव्यस समिति, प्रधानध्यापक ईन्द्रकुमार श्रेष्ठ, वडा अध्यक्ष लिला चौहान, परीक्षा समिति, तत्कालिन जिल्लाशिक्षा कार्यालय, र नगरपालिकाका मेयर दीपनारायाण रिजालमाथी उच्च अदालत ओखलढुङ्गामा उजुरी हालिएको उनले जानकारी दिईन् ।
उच्च अदालत ओखलढुङ्गाले विव्यस समिति, प्रधानाध्यापक, वडा अध्यक्ष, परिक्षा समिति, जिल्ला शिक्षा कार्यालय, र नगरपालिकालाई वैशाख ९ गते हाजिर हुन पत्राचार गरिसकेको एक स्रोतले बताएको छ । नगरपालिकाले मिति ०७४ कार्तिक १२ गते विद्यालयलाई प्रावि शिक्षक छनौट प्रक्रिया पूरा नगरी छनौट कार्य भएको भन्दै पुन परिक्षा गर्न पत्राचार गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले भने शिक्षक छनौट गर्दा पक्रिया पूरा नगरी गरिएको तथ्यका आधारमा तलव नदिएको बताए । उनले भने, “हामीले वडा कार्यालयलाई प्रतिवेदन माग्यौ, वडा कार्यालयले पनि प्रक्रिया पूरा नभएकोले पुन परीक्षा गर्न भन्दै हामीलाई पत्रचार गरेको छ, उहाँले अदालतमा उजुरी हाल्नु भएको छ, अब अदालतले ‘डिसिजन’ गर्छ ।”
यस विषयमा जानकारी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनबहादुर श्रेष्ठसंग सम्पर्क हुन सकेन् ।