कृषि, निर्माण तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरूले नेपाल सरकारले तोकेअनुसारको ज्याला र महिला पुरूषबीच पनि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।
चिया, अदुवा, अलैँची र निर्माण क्षेत्रमा रहेका मजदुरहरूले तोकिएअनुसारको ज्याला नपाएको बताए । श्रम ऐन २०७४ मा भएको व्यवस्था पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको क्युपेक नेपाल इलामका राजेन्द्र घिमिरेले बताए । ‘भौतिक संरचना निर्माणका क्रममा धेरै मजदुरहरू अङ्गभङ्ग भएका छन्, उपचार पाएका छैनन् ‘ घिमिरेले भने ‘महिला पुरूषबीच असमान ज्याला छ, दुवै श्रमिकले उचित ज्याला पाउन सकेका छैनन् ।’
इलामका चिया बगानमा कार्यरत मजदुर पनि वर्षौंदेखि तोकिएको भन्दा कम ज्यालामा ठगिनु परेको इलाम चिया बगान मजदुर संघकी अध्यक्ष सरस्वती चौलागाईंले बताइन् । उनले बगान र अन्य क्षेत्रमा पनि सार्वजनिक शौचालय नहुँदा मजदुरलाई समस्या हुने गरेको बताइन् ।
मजदुरका समस्या बढ्दै गएपछि इलाम नगरपालिकाले भने मजदुरलाई बिमाको व्यवस्था गरेको नगर प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘हामीले मजदुरका समस्यालाई मध्यनजर गर्दै कोष सञ्चालनका लागि नियमावली बनाउने कार्य अघि बढाएका छौं, नक्सा पास भएका घरमा काम गर्ने मजदुरलाई घाइते भएमा ५० हजार रुपियाँसम्मको उपचार गरिदिने र मृत्यु भएमा परिवारलाई पाँच लाख रुपियाँसम्मको क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं ।’