INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ को नीति तथा कार्यक्रममार्फत महिला सुरक्षामा जोड

वैशाख ३ गते बसेको प्रदेश २ को संसद बैठकमा सरकारको तर्फबाट पेश ०७४/०७५ को नीति तथा  कार्यक्रम संसदले पारित गरेको छ ।

प्रदेश २ को नीति तथा कार्यक्रममार्फत महिला सुरक्षामा जोड दिइएको छ । ‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मने बितिक्कै बिमा कम्पनीसँग सम्झौता गरी छोरीहरूको शिक्षामा बिमाको नीति ल्याउने र लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्नेलाई कारबाही गर्न कडा कानुन बनाइने प्रदेश सरकारले नीति लिएको छ ।

यस्तै महिला हिंसा रोक्न कडा कानुन बनाइ निगरानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने भनी सरकारले ल्याएको नीति तथा कार्यक्रम वैशाख ३ गते संसदले पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ०७४ चैत २८ गते प्रस्तुत गरेका थिए । वैशाख ३ गते दिउँसो १ बजेबाट बसेको संसद बैठकले सरकारले पेश गरेको नीति तथा कार्यक्रमलाई नेपाली कङ्ग्रेस बाहेक सबै दलले समर्थन गरेका थिए ।

सरकारले संसद बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रलाई प्रमुख प्रतिपक्षी दल बाम गठबन्धनले समेत समर्थन जनाएको थियो । प्रदेश साँसदहरूले बहुमत जनाएपछि प्रदेश सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

नीति तथा कार्यक्रममा सरकारले मुख्य रूपमा कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेको छ । कृषिलाई यस क्षेत्रको मुख्य आधारशिलाको रूपमा कम ब्याज दरमा ऋण, स्थानीय आवश्यकता अनुसार सिञ्चाइको व्यवस्था, कृषकले खोजेको बेला उन्नत बिउविजन, रसायनिक मल, यन्त्रउपकरण, किटनाशक औषधि, तथा प्राविधिक तालिमको सहज उपलब्धता गराइ बजार पहुँचलाई सुनिश्चित गर्न प्रदेश सरकारको नीति तथा कार्यक्रममा जोड दिएको छ ।

सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक, बन्द उद्योगहरू सञ्चालन, पर्यटकीय स्थल बनाउन धार्मिक क्षेत्रहरूको संरक्षण सम्बर्द्धनलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

अन्य

भिडियो