गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा कार्यालयले जनाएको छ ।
आगजनीबाट वडाध्यक्ष शाहको कार्यकक्षमा रहेका फोटोकपी मेसिन, एलसिडी कम्प्युटर, इन्भटर र अन्य कागजपत्र जलेर नष्ट भएको वडाध्यक्ष शाहले बताए । तीन कोठामा कार्यालय रहेको एकतले भवनका अन्य कोठामा भने आगजनीबाट कुनै क्षति भएको छैन ।
घटनास्थलमा चैत ३० गते बिहान पुग्दा कागजपत्रमा आगो लागिरहेको गुर्भाकोट नपा-९ का वडाध्यक्ष शशिराम भट्टराईले बताए । प्रहरी चौकी साहारेका प्रमुख कमलकुमार रोकाले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाउँदै आगजनी कसले गरेको हो भन्ने विषयमा एकीन नभएको जानकारी दिए ।
सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गठन भएयता जिल्लाको सरकारी कार्यालयमा आगजनी गरिएको यो पहिलो घटना हो ।