INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमा विद्यालय नहुँदा माध्यमिक शिक्षा प्रभावित, बोटे समुदायका विद्यार्थी समस्यामा

माध्यमिक विद्यालय टाढा हुँदा बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङका बोटे समुदायका बालबालिकाहरूले बिचमै पढाई छोड्ने गरेका छन् ।

दैलातुङ गाउँमै कक्षा ८ सम्म पढाई हुने दैलातुङ आधारभुत विद्यालय भएपनि माध्यमिक तहको शिक्षा लिन यहाँका विद्यार्थीहरू झण्डै २ घण्टा उकालो पैदल हिँडेर खानीगाउँ माध्यमिक विद्यालयमा आउनुपर्छ । गाउँकै विद्यालयमा कक्षा ८ सम्म पढेका विद्यार्थीहरू कक्षा ९ बाट माथिको शिक्षा लिन टाढा जानु पर्ने भएकोले बिचमै पढाई छोड्ने गरेका छन् ।

बिहान ८ नबज्दै घरबाट हिँड्नुपर्ने र साँझ ६ बजेपछि मात्रै घरमा पुगिने भएकोले पनि आफ्ना धेरै साथीहरूले बिद्यालय बिचमै छोड्ने गरेको खानीगाउँ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ममता बोटेले बताइन् । दैलातुङ गाउँमा १७ घर बोटे समुदायका र अन्य जनजाति, दलित तथा ब्राहृमण समुदायका गरी झण्डै ४० घर छन् ।

स्थानीय दैलातुङ आधारभुत विद्यालयमा बोटे समुदायका २८ जना विद्यार्थीहरूले अध्ययन गर्ने गरेको बिद्यालयका प्रधानाध्यापक केशवराज खरालले बताए । तर यहाँबाट उत्तीर्ण भई माध्यमिक शिक्षा लिन आउने खानीगाउँ माध्यमिक विद्यालयमा भने २ जना मात्रै बोटे समुदायका विद्यार्थी रहेको बिद्यालयकी प्रधानाध्यापक कल्पनाकुमारी भुसालले बताइन् ।

बोटे समुदायका अधिकांश अभिभावकहरूले एकातिर निमेक तथा काम गरेर गुजारा चलाउनुपर्ने र अर्कोतिर माध्यमिक शिक्षा लिन विद्यालय नै टाढा भएकाले पनि बोटे समुदायबाट कक्षा ८ पास भएपछि कक्षा ९ मा पढ्ने विद्यार्थीहरू समस्यामा परेको स्थानीय गजवीर बोटेले बताए । ‘उनीहरू कोही आफ्ना अभिभावकसँगै काम गर्न जान्छन्, कोही बाहिर काम गर्न जान्छन् । कोही त्यसै डुलेर समय बिताउँछन् ।’-उनले भने ।

अहिलेसम्म यो गाउँबाट दुई जनाले मात्रै एसएलसी तह उत्तीर्ण गरेका छन् । अन्य समुदायका बालबालिकाहरूको तुलनामा बोटे समुदायका बालबालिकाहरूलाई एकातिर आर्थिक अवस्था कमजोर र अर्कोतिर विद्यालय समेत टाढा हुँदा राम्रोसँग पढ्न नसकेको मानव अधिकार निगरानी समूह खानीगाउँका सदस्य पदमराज बस्यालले बताए ।

‘आर्थिक अवस्था राम्रो भएकाले सदरमुकाम पनि लगेर पढाउन सक्छन् । तर, बोटे समुदायमा त्यस्तो अवस्था छैन ।’- उनले भने ।

अन्य

भिडियो