यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ ।
एक जिल्ला अस्पताल तथा चारवटा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा ११ डक्टर भएपनि बलात्कार घटनाको अनुसन्धान गर्ने एकै जना पनि डक्टर नभएको जिल्ला अस्पतालका डक्टर सुरेन्द्र आचार्यले बताए ।
‘कानुनी रूपमा मान्यता प्राप्त डक्टर नभएको र जिल्लामा कार्यरत अन्य डक्टरहरूलाई पनि त्यस्ता घटनाको अनुसन्धान गर्ने सीप तथा आवश्यक सामग्रीहरूको खाँचो रहेको छ ।’-आचार्यले भने-‘हामीलाई क्षमता विकास गर्ने सीप र अनुसन्धानका लागि इक्युपमेण्ट भयो भने हामी पीडितलाई न्याय र दोषीलाई कारबाही हुने किसिमको अनुसन्धानको काम गरेर सहयोग गर्छौँ ।’
बलात्कारका घटनामा प्रत्यक्ष संग्लन भएकालाई पनि कारबाही नै नगरी छोडिदिने गरेको महिला अधिकारकर्मी विष्णु दाहालले बताइन् । ‘प्रहरीले बल्लतल्ल गिरफ्तार गरेर अदालतका बुझाएको हुन्छ, अदालतले सफाई दिएर छोडिदन्छ । कम्तिमा घटनाको अनुसन्धान पुरा गरेर कारबाही गरियोस’-दाहालले भनिन् ।
जिल्लामा वर्षेनी बलात्कार तथा यौनजन्य अपराधका घटना बढ्दै आएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी विपिनकुमार कर्मचार्यले बताए । कर्मचार्यले अनुसन्धानका लागि सबै प्रहरी पनि सक्षम नभएको र डक्टरले नै घटनाको अनुसन्धानका लागि प्रमुख सहयोग गर्नुपर्ने हुँदा विशेषज्ञ डक्टर नहुँदा पनि समस्या भएको बताए ।
‘दिन-दिनै बलात्कारका घटना हुन्छन् । घटना लगत्तै उजुरी गर्नुपर्छ भन्ने सचेतना सबैमा छैन । त्यसले गर्दा घटना घटेको कतिदिन पछि प्रहरीकामा आउँछ त्यसबेलासम्म प्रमाणहरू नष्ट भइसकेका हुन्छन् ।’-एसपी कर्मचारीले भने-‘प्रमाण नष्ट भएपछि आएका घटनाको अनुसन्धान गर्न र डक्टरलाई अनुसन्धानमा चाहिने आवश्यक सामग्री पनि उपलब्ध नहुँदा धेरै पीडिले न्याय नपाएका हुनसक्छन् ।’