INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता

हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६० वर्षीय भीमबहादुर योक्पाङदेन र भीमका २७ वर्षीय छोरा सुवास योक्पाङदेनविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । सडक विस्तार गर्ने क्रममा दुवै पक्षबिच चैत ११ गते हिलिहाङ-७ स्थित भारापामा विवाद भएको थियो ।

विवादका क्रममा आरोपितहरूले कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडितको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते फिदिमस्थित पाथिभरा अस्पतालमा प्रारम्भिक उपचार भएको थियो । पीडितलाई थप उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटारमा सोही दिन दिउँसो मृत्यु भएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितद्वयलाई चैत १६ गते नै गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर बस्नेतले बताए ।

यसैबिच सोही घटनाको विषयलाई लिएर हिलिहाङ गाउँपालिकाको कार्यालयले चैत १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै संलग्नहरूलाई कारबाहीको माग गरेको छ ।

गाउँपालिकाका कार्याबाहक अध्यक्ष गोपिकृष्ण भण्डारी र प्रवक्ता मदन गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका आरोपितलाई कानुनी कारबाही गर्न र विकास निर्माणका कार्यमा अवरोध नगर्न चेतावनी दिएको छ ।

‘घटनामा संलग्न दोषीलाई छानविन गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गर्दछौँ ।’

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत १७ गते नै गरिएको छ । मृतकका एक पत्नी र दुईजना छोरा छन् ।

अन्य

भिडियो