INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अनलाइन समाचारको प्रभावः द्वन्दपीडित अनुपाको १५ वर्षपछि निशुल्क उपचार

हिलिहाङ गाउँपालिका-७ की द्वन्द्वपीडित ३२ वर्षीया अनुपा राईको निःशुल्क उपचार हुने भएको छ । तत्कालीन माओवादीकी पूर्व लडाकु अनुपाको विषयमा चैत १२ गते इन्सेक अनलाइनमा सङखुवासभा भिडन्तपछि ‘छर्रा’ बोकेर हिँड्न बाध्य अनुपा शीर्षकको समाचार प्रकाशित भएपछि यसको प्रभावले झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालले निशुल्क उपचार गर्ने भएको हो ।

आफ्नो टाउको र छातीमा बमका छर्रा रहेकाले पोल्ने, झमझमी दुख्ने र कटकटी खाने गरेको पीडितले बताइन् । विद्यालय जाने १४ वर्षको कलिलो उमेरमा ०५७ सालमा माओवादीको हतियार बोक्न पुगेकी अनुपा ०५९ वैशाख २४ गते सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा घाइते भएकी थिइन् ।

शरीरभरी बमका छर्रा लागी घाइते भएकी राईलाई माओवादीले मरेको भन्दै जङ्गलमा छाडेर ‘शहीद’ घोषणा गरेको थियो । सात दिनसम्म जङ्गलमा एक्लै बसेकी राई २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेकी थिइन् । हात र कुममा रहेका छर्रा निकाले पनि आर्थिक अभावले टाउको र छातीमा रहेको छर्रा निकाल्न नसकिएको उनले बताइन् ।

साविक कुहिभिर गाविस ३, ओखलढुङ्गाकी राईले द्वन्द्वकालीन समयमा नै ०६० सालमा माओवादी पार्टीका कार्यकर्ता हिलिहाङ गाउँपालिका-७, पाँचथरका रामकुमार राईसँग विवाह गरेकी थिइन् । द्वन्द्वउप्रान्त आफ्नो उपचार र परिवारको जिविकोपार्जनका लागि पति पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएको उनले बताइन् । उनी हाल कक्षा सातमा अध्यननरत एक छोराको साथमा बस्दै आएकी छिन् ।

द्वन्द्वकालीन समयमा सोलुखुम्बु, काभ्रे, सङ्खुवासभा, सिन्धुली र ओखलढुङ्गामा भएका ठूला भिडन्तमा सहाभागी भएकी राईले द्वन्द्वपीडितको नाममा हालसम्म आफूले कुनै राहत प्राप्त नगरेको बताइन् ।

आफ्नो पार्टी पटकपटक सरकारमा गएको बेला उचार नपाएकी उनले अब उपचार पाउने भएपछि बाँकी जीवन सहज हुने आशा व्यक्त गरिन् । तत्कालीन समयमा सेक्सन कमाण्डरसम्मको जिम्मेवारी सम्हालेकी राई पछिल्लो समय माओवादीको स्थानीय कार्यकर्ताका रूपमा सीमित रहेकी छन् ।

अन्य

भिडियो