जगन्नाथ गाउँपालिका-६ का वडा अध्यक्ष कटकबहादुर विष्टले काम गरेको ज्याला माग्दा सोही वडाका मनबहादुर विष्टलाई चैत १३ गते निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी हरिबहादुर ओलीले जानकारी दिएका छन् ।
भुकाखोला विद्युत आयोजनामा काम गरेको ज्याला माग्दा आफूलाई गाई गोठमा लगेर हातगोडा बाँधेर कुटेको पीडित मनबहादुर विष्टले बताएका छन् । विष्टले चैते दसैँ मनाउन आफूले काम गरेको ज्याला मागेपछि विष्टले कुटपिट गरेको बताएका छन् । वडा अध्यक्ष कटकबादुर विष्ट भूकाखोला विद्युत आयोजनाका अध्यक्षसमेत हुन् ।
कुटाइबाट घाइते भएका मनबहादुर विष्टको आँखामा र शरीरमा निलडाम देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घाइते विष्टको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।
वडा अध्यक्ष विष्टले आफूले केही नगरेको आफूलाई उल्टै गाली बेइज्जती गरेको बताएका छन् । पीडित विष्टलाई जिल्ला अदालतमा कुटपिट र ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी दिन सुझाव दिएको डिएसपी ओलीले बताए ।