INSEC Online

📅 २०८३ जेष्ठ २१

‘अनैतिक सम्बन्ध’ राखेको आरोपमा हातगोडा बाँधेर कुटपिट

पटकपटक एक महिलासँग ‘अनैतिक’ सम्बन्ध गाँसेको आरोपमा सोनमा गाउँपालिकामा एक पुरुष र महिलालाई समाजले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको छ ।

सोनमा गाउँपालिका-७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवको नेतृत्वमा स्थानीय ४५ वर्षीय दलित समुदायका ईसराफिल धोवी र ३५ वर्षीया महिलालाई सजाय बापत कुटपिट गरेको समाजको भनाइ  छ ।

ईसराफिललाई हातगोडा बाँधेर कुटपिट गरेको भिडियो समाजिक सञ्जालबाट सार्वजनिक भएपछि यो घटनाको रहस्य खुलेको हो । वडा कार्यालयमा भएको निर्णयमा वडाध्यक्ष यादव स्वयम्ले ईसराफिल र महिलालाई हातगोडा बाँधेर निर्घात कुटपिट गरेको देखिन्छ ।

यही चैत ३ गतेको सो घटनाको भिडियो समाजिक सञ्जालबाट चैत १२ गते सार्वजनिक भएपछि सबैको चासोको विषय बनेको छ । यस विषयमा वडाध्यक्ष यादवसँग कुरा गर्न प्रयास गर्दा सम्पर्क हुन सकेन ।

तर, सो घटनाको छलफलमा सहभागी साविक सुन्दरपुर गाविसका पुर्व अध्यक्ष रामेश्वर यादवले घटनाबारे यसरी वर्णन गरे-‘कुटपिट भएका व्यक्ति स्थानीय ४५ वर्षीय ईसराफिल हुन् । उनको छोराछोरी नातिनातिनी समेत छन् । तर, पनि ईसराफिलले ३५ वर्षीया एक महिलासँग विगत दुई वर्षदेखि ‘अनैतिक सम्बन्ध’ राख्दै आएका छन् । महिलाका पति अपाङ्ग भएकाले ईसराफिलले पटकपटक ‘अनैतिक सम्बन्ध’ राख्दै आएका छन्  । हुन त सम्बन्ध दुवैबिचको सहमति मै हुने गरेको हो । ती महिलाको पनि छोराछोरी जवान भइसेका छन् । यस विषयमा गाउँसमाजले पटकपटक पञ्चायत समेत गरिसकेको छ । केही महिना अघि मात्रै दुवै जनाले आगामी दिनमा त्यस्तो कुनै सम्बन्ध नराख्ने बताएका थिए । दुवै जनालाई समान्य दण्ड सजाय दिएर आइन्दा यस्तो दोहरिए दुवैलाई जनही ५०/५० हजार रुपियाँ जरिवाना गर्ने समाजले लिखित निर्णय गरेको थियो । दुवै जनाले गत चैत ३ गते ‘अनैतिक सम्बन्ध’ राखेको थाहा पाएपछि वडाध्यक्ष महेश यादवसहित गाउँसमाज बसेर छलफल गरी दुवैलाई सजाय स्वरूप हातगोडा बाँधेर पाइतलामा लठ्ठीले हिर्काउने निर्णय भयो । यस्तो निर्णय गर्नुको कारण दुवै जनाको घरपरिवारको आर्थिक अवस्था कमजोर छ । आर्थिक सजाय गर्दा दुवैको परिवारलाई नै असर पर्ने हुनाले गाउँसमाजले कुटपिट गरेर छाडिदिने निर्णय गर्‍यो । सोही निर्णय अनुसार दुवैलाई हातगोडा बाँधेर कुटपिट गरिएको हो । केही व्यक्तिले भिडियो बनाएर राजनीतिकरण गरिरहेका छन् । समाज भित्रको विकृति रोक्न समाजले व्यवहारिक निर्णय गरेको हो ।’

कानुनी राज्यमा समाजले व्यवहारिक निर्णय भन्दै निर्घात कुटपिट गर्नु अपराधिक कार्य भएको भन्दै यस्तो घटनाप्रति सबै गम्भीर भएर वडाध्यक्षसहित समाजलाई कारवाही गर्नुपर्ने अधिकारकर्मीहरूले माग गरेका छन् ।

वडा अध्यक्ष र पूर्व मुखियाले तीन थान बाँसको लाठी काट्न लगाएर उनीहरूलाई पञ्चायतमै कुटपिट गरेका थिए । कुटाइबाट घाइते भएका दुवै जनाको परिवारजनले वडा कार्यालयबाट उनीहरूलाई घर लगेर गाउँकै स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए ।

उनीहरूमाथि कुटपिट भएको केही समय भित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी वडा कार्यालय पुगेका थिए । तर, समाजले केही नभएको बताएपछि प्रहरी त्यसै फर्किएको थियो ।

पछि पीडत इसराफिल र उनका दाजु इलाका प्रहरी कार्यालय गौशालामा उजुरी गर्न गए । तर, आफूहरूको पीडा प्रहरीले नबुझेको पीडित ईसराफिलले बताए । पीडत महिला पनि न्यायको माग गर्दै सोनमा गाउँपालिका प्रमुख राजकुमार यादव (राजाबाबु) लाई पीडा सुनाउन गइन् । तर, उनले वडा अध्यक्षमाथि कानुनी कारवाही गर्नुको साटो गुपचुपमा घटना मिलाइदिए ।

सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले वडा अध्यक्षले कुटपिट गरेको विषय आफूलाई थाहा नभएको दावी गरेका छन् । उनले महिलाको घरको अंश बाँडफाँडको विवाद मिलाएको बताएका छन् । प्रमुख यादवले यातना दिएको भिडियो हेरेपछि भने घटनालाई गम्भीरतापूर्वक लिने बताए । उनले भने-‘यसरी कुटपिट गर्नु गल्ती हो । छिट्टै गाउँ कार्यपालिकाको बैठक बोलाएर छलफल गर्छौँ ।’

इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले पीडितहरू आफूकहाँ नआएको दावी गरेका छन् । उनले घटनाबारे बुझने बताए ।

अन्य

भिडियो