सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२ गते निवेदन दिएका छन् ।
चैत १० गते उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई, प्रदेशसभाका सांसद कला घले, कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठबिच भनाभन चलिरहँदा कटारी नपा वडा १ का सदस्य काशीराज पोखरेल लगायतले हातपातको प्रयास गरेका थिए ।
घटनाको विषयलाई लिएर पीडितले चैत १२ गते जिल्ला प्रशासन कार्यालयमा कटारी नगरपालिका नारायणी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष शङ्कर सिंह, कटारी नपा-२ खसीवासका वडासदस्य काशीराज पोखरेल र कटारी नपा-४ का नगर सदस्य लिला अधिकारी दनुवारमाथि कारवाहीको माग गर्दै निवेदन दिएका हुन् ।
त्यसैगरी आधिकारिक ट्रेड युनियन महासङ्घ र कर्मचरी सम्बद्ध सङ्घसंस्थाले पनि चैत १२ गते विज्ञप्ति जारी गर्दै आरोपितलाई कारवाही गर्न माग गरेका छन् । जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले आरोपितलाई कानुनी कारवाही गर्न माग गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने घटनाको छानबिन गरी दोषिमाथि कारवाही गरिने जानकारी दिए ।
कटारी नगरपालिकाको आर्थिक सहयोगमा वडानं १ स्थित खसिबासमा राष्ट्रिय वन क्षेत्रमा स्काईभेटर प्रयोग गरी सडक निर्माण भइरहेका बेला सेक्टर वन कार्यालय कटारीले चैत १० गते बिहान काम रोकी स्काईभेटर चालक राज कटुवाल र तुलसी बुढाथोकीलाई गिरफ्तार गरेपछि विवाद सुरू भएको हो ।
नारायण श्रेष्ठले कटुवाल र बुढाथोकीलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला वन कार्यालय उदयपुरमा पठाएपछि सांसदको टोली घटनाको विषयमा जानकारी लिन सेक्टर कार्यालय पुगेको थियो ।
छलफल चलिरहँदा स्थलगतरूपमा अनुगमन गर्न सांसदले गरेको अनुरोधलाई नारायण श्रेष्ठले अस्वीकार गरेपछि वडा सदस्य पोखरेलले सर्टको कलरमा पकडिएर तानेको तर कुटपिट नगरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
‘मेरो कार्यकक्षमा प्रवेश गरी मलाई जथाभावी गालीगलौज गर्दै हातपात गरी छातीमा लात हाने ।’- नारायण श्रेष्ठले भने-‘जे पनि हुनसक्छ भन्दै धम्क्याए । लात खाएपछि म केही बोल्न सकिनँ । त्यसपछि गाईघाट भागेँ ।’