कर्णाली प्रदेशको हिमाली जिल्लाः जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लमा लैङ्गिक विभेद कायमै रहेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाइलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म भएपछि यस्तो केही गरिँदैन । राज्यले लैङ्गिक विभेद गर्न नहुने भनी जनचेतना जगाएपनि यसको प्रभाव भने देखिएको छैन ।
जुम्ला पातारासी गाउँपालिका-८ हुरीगाउँकी करिश्मा बुढाले गएको आइतबार छुमचौर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरा जन्माइन् । उनका परिवार र छरछिमेकले छोरा जन्मिएपछि स्वास्थ्य चौकीमै एक अर्कालाई सिन्दुर लगाएर खुशीका साथ घर फर्किए । गाउँ समाजमा छोरा जन्मिएको ११ दिनपछि लाखौँ रकम खर्चेर भोजभतेर गरेर खुशीका साथ रमाइलो गर्ने प्रचलन छ । तर, छोरी जन्मिएपछि खुशी हुनु भन्दा पनि दुखी भएको महसुस गर्ने र सुत्केरी आमालाई पोषणयुक्त खानामा पनि ध्यान नदिने परिपाटी छ ।
त्यसैगरी गएको हप्ता डिल्लीचौर स्वास्थ्य चौकीमा पातारासी गाउँपालिका-४ लुमगाउँकी सरस्वती कामीले छोरी जन्माइन् । सरस्वती सुत्केरी भएपछि हतारहतार गर्दै घर फर्काइयो । यहाँ छोरा जन्माएपछि गरिने सुन्दर लगाउने र रमाउने दृश्य भने देखिएन । सबैका मुहार मलिन थिए ।
छोरीको पहिचान गरी भ्रुण हत्या !
समाजमा छोरीको भन्दा छोराको महत्व धेरै हुन्छ भन्ने मान्यता बोक्दै अशिक्षितदेखि शिक्षित व्यक्तिहरूले भिडियो एक्सरेमार्फत छोरीको पहिचान भएपछि भु्रण हत्या गर्ने गरेको पाइएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।
उनले भनिन्-‘शिक्षित व्यक्तिहरूले नै यस्ता किसिमका काम गर्दै आएका छन् । पहिलो सन्तान छोरी जन्मिने बित्तिकै दोस्रो पटक सन्तान जन्माउने अधिकांश व्यक्तिले भिडियो एक्सरेमार्फ छोराछोरी पहिचान गर्ने र छोरी भएपछि भ्रुण हत्या गर्ने गरेका छन् ।’
गैरकानुनी रूपमा हुने यस्ता घटना समाजमा यत्रतत्र देखिने सुनिने भएपनि खासै यसमाथि कानुनी कारवाही भने भएको पाइँदैन ।
छोराको मोहले एकै घरमा ११ छोरीको जन्म
तिला गाउँपालिका-३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वर्षा भए । पुसे नेपालीले १४ वर्षो उमेरमा रिठु नेपालीसँग विवहा गरे । बिहे भएको वर्षदिन नबित्दै पहिलो सन्तानका रूपमा छोरी कमला जन्मिएको रिठु नेपालीले बताइन् । समय बित्दै जादाँ दोस्रो पटक पनि छोरी नै जन्मिइन् । छोरा नभए समाजमाले हेप्ने, मर्दा पनि दाहासस्कार गर्ने मान्छे नहुने र सम्पतिको हकदार छोरा हुनै पर्ने पुरातन सोचका कारण छोरा जन्माउनै पर्ने निष्र्कषमा नेपाली परिवार पुग्यो ।
छोरा जन्माउने आशले पुसे नेपालीका दम्पतिले अहिले ११ छोरी जन्माए । पुसेलाई अहिले लालनपालनमा निकै कष्ट भइरहेको छ । सबै छोरीलाई उपयुक्त शिक्षादिक्षा दिन उनको पारिवारिक अवस्थाले पनि पुगेन ।
पारिवारिक अवस्था निकै कमजोर भएका पुसे नेपाली छोरा पाउने आशैआशमा ११ छोरी जन्मेपछि उनले कसैलाई उपर्युक्त लालनपालन गर्न सकेनन् । उनका ११ छोरीमध्ये पालनपोषणकै अभावमा तीन छोरीको ज्यान गयो । त्यसपछिका आठ जना छोरीमध्ये चार जनाको सानै उमेरमा विवाह (बालविवहा) भयो । अहिले चार छोरी र पतिपत्नी घरमा छन् ।
छोराको मोहले बहुविवाह
जुम्लामा छोराकै मोहले बहुविवाह हुने गरेको छ । अन्य कारण भन्दा जेठी पत्नीबाट छोरा नजन्मेको खण्डमा बहुविवहा गर्ने परिपाटी निकै पाइन्छ । छोरा जन्माउनु जुम्लामा पारिवारीक तथा सामाजिक दबाव जस्तो ‘थिति’ बसेको छ ।
बहुविबाह गर्नुको औपचारिक कारण नखुले पनि अरूभन्दा जेठी पत्नीबाट छोरा नजन्मेकै कारण बहुविवाह हुने गरेको अधिकारकर्मी भगवती श्रेष्ठले बताइन् । पछिल्लो समय छोरा छोरी बराबर हुन् भन्दै बहुविवाह रोक्न विभिन्न कार्यक्रम हुने गरेपनि घटना न्यूनिकरण नभएको उनले बताइन् ।