INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्यको पहुँच नपुगेको गुम्बागाउँ

सदरमुकाम मार्तडीबाट ६० कोष टाढा अर्थात पैदल चार दिनको यात्रामा पर्ने बिच्छँयाको गुम्बागाउँ राज्यको नजरबाट टाढा छ । यो ठाउँमा राज्यको कुनै निकाय पुगेको छ न त कुनै सङ्घ संस्थाका प्रतिनिधि पुग्छन् । गुम्बागाउँ साविकको बिच्छँया-१ र हाल हिमाली गाउँपालिका-३ मा पर्दछ । मार्तडीबाट एक दिनमा कोल्टी, दोस्रो दिनमा कवाडी, तेस्रो दिनमा बौडी र चौथो दिन गुम्बा पुगिन्छ । यो गाउँमा २५ परिवारको बसोवास रहेको छ । यहाँ कक्षा ३ सम्म पठाइ हुने आधारभूत विद्यालय रहेको छ । स्थानीय अगुवा छिरिङ दोर्जे लामाकाअनुसार यहाँ उनीहरूको पाँच पुस्ता बितेको छ ।

मतदान गर्न सामल बोकेर जानु पर्छ

२०७० को संविधानसभाको निर्वाचनमा गुम्बा गाउँका बासिन्दाले आफ्नै ठाउँमा मतदान केन्द्र हुनु पर्ने माग राखे । तर राजनीतिक पहुँच पुगेन । निर्वाचन आयोगका तत्कालीन आयुक्त डा. अयोधिप्रसाद यादवले समस्या भएमा मतदान थप्न सकिने, यो वर्षनभए अर्को चुनावमा अनिवार्य थप्ने आश्वासन दिए । स्थानीय तहको निर्वाचनमा गाउँमै मतदान केन्द्र हुनेमा ढुक्क थिए स्थानीयबासी । तर गाउँमा मतदान केन्द्र तोकिएन ।

साविकको बिच्छँया -१ र हाल हिमाली गाउँपालिका-३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्न दुई दिन लाग्ने बाध्यता आइलाग्यो । गुम्बा गाउँमा २६ परिवार बसोवास गर्ने भए पनि निर्वाचन कार्यालयले भने हिमाली गाउँपालिका-३ मा रहेको गङ्गा निमाबि बौडीमा मतदान केन्द्र स्थापनाका लागि सिफारिस गर्‍यो । सो गाउँमा २८ जना मतदाता रहेका छन् । मतदान केन्द्रमा एक दिन लगाएर पुग्नु पर्ने भएपछि गुम्बा गाउँका अधिकांशले मतदान गर्न सधैँ झैँ छुटे ।

मतदानबाट बन्चित गाउँका बारेमा समाचार प्रकाशन भए पछि राज्यको ध्यान गयो । गुम्बाको हिमाल भक्ति प्राविमा मतदान केन्द्र स्थापना भयो । सबै मतदाताले प्रतिनिधि र प्रदेश सभामा मतदान गर्न पाए ।

थोरैसँग छ नागरिकता

गुम्बा गाउँका धेरैसँग नागरिकता छैन । सदरमुकाम निकै टाढा भएकाले नागरिकता बनाउन नसकेको स्थानीय बताउँछन् । १८ वर्षपूरा भएका तर फोटोसहितको मतदाता नामावलीमा समावेश  भएका ६० जना छन् । ती मध्ये १२ जनाका मात्रै नागरिकता छ ।

सामान्य साक्षर मात्र भएका उनीहरूलाई नागरिकताको महत्व बारे कुनै जानकारी समेत छैन । नागरिकता र फोटो सहितको मतदाता नामावली कोही टाठाबाड र सदरमुकाम आवतजानत गर्नेले बनाएका छन् भने धेरै नागरिकता बाट बञ्चित भएका छन् ।

हुँदैन जन्म, विवाह र मृत्यु दर्ता

प्रत्येक नागरिकको जन्म दर्ता, विवाह दर्ता र मुत्यु दर्ता अनिवार्य भए पनि गुम्बा गाउँमा अहिलेसम्म कसैले दर्ता गराएका छैनन् । कहाँ गर्ने भन्ने जानकारीसमेत नभएको स्थानीय स्वयम्सेविका पासाङ लामाले बताइन् ।

प्रेमसिंह गुरुङका नौ जना छोराछोरी छन् तर कसैको जन्मदर्ता छैन । उनले बुवा आमाको मृत्यु दर्ता र आफ्नो विवाह दर्ता समेत गराएका छैनन् । कहाँ दर्ता गर्नुपर्छ जानकारी छैन उनले भने ।

खोप सेवाको निरन्तरता छैन

सरकारले सन् २०१७ सम्म देशलाई नै पूर्ण खोपयुक्त बनाइसक्ने लक्ष्यलाई मध्यनजर गरी बाजुरा जिल्ला पनि पूर्ण खोप मुक्त जिल्ला घोषणा भएको छ । तर गुम्बाका बालबालिकाले खोप सेवा निरन्तर पाउँदैनन् । बिच्छँया स्वास्थ्य चौकीका अहेब नरेन्द्र बुढा एकपटक गएर खोप लगाएको भए पनि त्यसपछि र त्यसअघि कोही बालबालिकाले खोप नपाएको सोही गाउँकी स्वास्थ्य स्वयम्सेविका पासाङ् लामाले बताइन् ।

२ वर्षमुनिका बच्चाहरूलाई ११ रोगविरुद्ध ११ प्रकारका खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था रहेको छ । स्थानीय छमु थापाले भनिन् खोप लगाउनु पर्छ भन्ने जानकारी त थियो, तर निकै टाढा भएकाले खोप बच्चालाई लगाउन पाइएन ।

जडिबुटीको भरमा उपचार

गुम्बा गाउँका बासिन्दालाई सिटामोल आवश्यक पर्‍यो भने एक बास बस्दै स्वास्थ्य संस्था पुग्नुपर्छ । स्वास्थ्य चौकी पुग्न एक दिन, उपचार गर्न एक दिन र फर्कन एक दिन गरी चार दिन समय लाग्छ । त्यहाँ पुगे पनि औषधी पाइँदैन । रोग लागेमा जडिबुटी खाने गरेको स्थानीय सञ्चुराले बताइन् । गुम्वा गाउँका बासिन्दा भगवान भरोसमा बाचेका छन् । बिरामी हुँदा उपचार गर्न ठाँउ छैन । बिरामी बोकेर लैजाने कुनै सम्भानना नै हुँदैन ।

महिनौँसम्म विद्यालय बन्द

गुम्बा गाउँमा एक विद्यालय छ । जुन महिनौँसम्म बन्द हुन्छ । वर्षमा सरदर दुई महिना भन्दा बढी नखुल्ने गरेको स्थानीयले बताए । कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयमा १४ जना विद्यार्थी रहेका छन् । कक्षा १ मा १० जना, कक्षा २ मा २ जना र कक्षा ३ मा २ जना रहेको स्थानीय जगत थापाले वताए । विद्यालय हाताभित्र जडिबुटि प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । पूर्वमन्त्री छक्कबहादुर लामाको जडिबुटी उद्योग एक वर्षदेखि विद्यालय हातामा सञ्चालित छ ।

जोखिम यात्रा

गुम्बाबाट स्वास्थ्य चौकी, कोल्टी आउन जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । वर्षातका चार महिना गुम्वागाउँसँग अन्य गाउँहरूको सम्पर्क बिच्छेद हुने गरेको छ । गुम्बा पुग्न दुई वटा नदी तर्नुपर्छ । हिउँदमा काठेपुलको साहरामा वारपार गर्ने गरेका स्थानीय वर्षामा आउने भेलले पुल बगाएसँगै अर्को पुल नबनुञ्जेल आवत जावत गर्न पाउँदैनन् ।

टेलिफोन सेवा छैन । टेलिफोन गर्नका लागि दुई दिन लगाएर हुम्लाको मैला पुग्नुपर्छ । देशमा चुनाव भयो भन्ने मात्रा थाहा पाएका तर अन्य कुनै जानकारी नभएको स्थानीय राम सिंह थापाले बताए । त्यो गाउँमा रेडियो नेपालसमेत सुनिँदैन । गाउँ नै सञ्चार सेवाबाट विमुख छ ।

1

1

1

1

1

1

1

1

1

1

1

1

अन्य

भिडियो