नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै आइरहेकी बालिकालाई प्रधानाध्यापक रोकायले जबरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ ।
होस्टलमा प्रअ रोकायासँगै मृतक सिचुडोमा र अन्य दुई जना बालिका सँगै बस्दै आएका थिए । मृतक बालिकालाई प्रधानध्यापक रोकायाले जबरजस्ती गर्न खोज्दा पुस २३ गते राति एक बजे होस्टेलबाट भागेर कर्णालीको भीर जङ्गलको बाटो काटेर घर आएको उनका परिवारको भनाइ छ ।
‘छोरीलाई घरमै बसेर पढ्न भने पनि प्रअ रोकायाले विद्यालय नफर्किएमा घरमै लिन आउने, आफैँ हत्या गर्ने र एसइईमा प्राटिकल नम्बर कम दिएर फेल गराउने धम्कीसमेत दिएको मृतक लामाले आमालाई बताएकी थिइन् ।’-बावु लोण्डो मिगुर लामाले भने ।
माघ ७ गते सिचुडोमा लामाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको थियो । सिचुडोमा अचेत भएपछि प्रधानाध्यापक रोकायाले कसैलाई जानकारी नगरी हेलिकप्टरमार्फ पोखरामा पुर्याएको मृतक बालिकाका बुवाले बताए ।
मृतक सिचुडोमा लामालाई प्रअ रोकायाले पटकपटक यौन दुर्व्यवहार गर्दै आइरहेको र मोबाइलमा विभिन्न किसिमका फोटाहरू समेत खिच्ने गरेको अन्य विद्यार्थीले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालयमा भने आफन्तले माघ १६ गते दिएको उजुरीले माघ २६ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपलले बताए ।