अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा ११ महिनामा भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । जसमा घरेलु हिंसाका ५७, महिला, बालिका बलात्कार तथा यौन दुव्र्यवहारका नाै, हत्याका दुई, हत्या प्रयासका एक र बहुविवाहका एक ओटा घटना रहेका छन् ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले मानव अधिकार तथा महिला, बालबालिकामाथिका घटनाहरू न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले महिला र बालबालिका घरपरिवारबाटै असुरक्षित रहुञ्जेल माहिला तथा बाल अधिकारको रक्षाका लागि चुनौती हुने बताउनु भयो ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी युवराज तिम्लिसिनाले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलिरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने हिंसामा कमी नआएको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी सदस्य दिपा शर्माले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानव अधिकार हनन हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो । समीक्षा कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।