INSEC Online

📅 २०८३ जेष्ठ २१

हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरू माघ महिनाको ८ गतेसम्म पनि जिल्लामा नर्फकँदा स्थानीयबासीले समस्या भोग्नु परेको हो ।

हिउँद लागेसँगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरूमा जिल्ला निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भन्सार कार्यालय, सिञ्चाई सवडिभिजन कार्यालय, सिमकोट नागरिक उड्डयन प्राधिकरण, घरेलु उद्योग विकास समिति, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

त्यसैगरी कार्यालय प्रमुख नहुने अन्य कार्यालयहरूमा कृषि विकास बैङ्क, सिमकोट हिल्सा सडक आयोजना, महिला तथा बालबालिका कार्यालय, हिल्दुम विद्युत वितरण केन्द्र, नापी कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, सरकारी वकिलको कार्यालय, कारागार शाखा, जिल्ला प्राविधिक कार्यालय, मालपोत र जिल्ला आयुर्वेद रहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताएका छन् ।

कार्यालय प्रमुखहरू जिल्ला बाहिर रहँदा ती कार्यालय खरिदार तथा कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको समेत प्रजिअ बास्कोटाको भनाई रहेको छ । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको नियमित कार्यालय प्रमुखको बैठकमा १० जना मात्र कार्यालय प्रमुखको उपस्थिति रहेको उनले बताए ।

जाडोमा काम गर्न नसकिने पुरानो मनस्थितिमा कर्मचारीतन्त्रमा परिवर्तन नआउँदा जिल्लामा यस्तो अवस्था आएको स्थानीय युवाराज शाहीले आरोप लगाएका छन् । उनले भने-‘हामी चाँही यही जाडोमा बस्न सक्ने अनि वहाँहरू चाँही किन नसक्ने ?’

कार्यालय प्रमुख लामो समयसम्म जिल्लामा नबस्दा जनता भने प्रत्यक्ष रूपमा मारमा परेको उनले बताए ।

जिल्लामा रहेका निमित्त कार्यालयका भरमा भने कुनै पनि कार्यालयहरूबाट स्थानीयका कामकाज हुन नसक्ने स्थानीय बलिराज शाहीको गुनासो रहेको छ ।

प्रमुख जिल्ला अधिकारी बास्कोटाका अनुसार अबको एक हप्तासम्म पनि कार्यालय प्रमुखहरू जिल्लामा उपस्थित भएनन् भने कानुनी नियम अनुसार कारबाहीको प्रकृया अघि बढाउने प्रतिबद्धता जनाए ।

अन्य

भिडियो